कबिता : मैले त कानुन पड्नै पर्छ

कबिता : मैले त कानुन पड्नै पर्छ
—————————–
सोझो र सिधा आँखाले संसार नियाल्ने मेरो बानी
हरेक कुरालाई राम्रै राम्रो देख्ने मेरो सोचाइ
संसारको वास्तविक स्वरूप के रहेछ बुझ्न
मैले त कानुन पढ्नै पर्छ ।

अश्लिल सत्यजस्तो देखिएको भित्री तथ्य बुझ्न
निर्दोष देखिने मुहारको आन्तरिक कूटिलता बुझ्न
कठोर र निर्दयी लाग्ने मानिसको कोमल सच्चाइ बुझ्न
मैले त कानुन पढ्नै पर्छ ।

जे देखिन्छ सायद त्यो साँच्चै हुन्छ भन्ने छैन बुझ्न
हरेक जीवनका दुवै पाटा नियाल्न
दबेर रहेका सत्य-तथ्यलाई उजागर गर्न
मैले त कानुन पढ्नै पर्छ ।

‘परोपकार पुण्याय पापाय पर पीडानम’ बुझ्न र बुझाउन
पुरूष प्रधान समाजलाई नारीको शक्ति चिनाउन
नेपालको कानुन ईश्वरै जानुन भन्ने कथन बदल्न
मैले त कानुन पढ्नै पर्छ ।

‘न्याय नपाए गोरखा जानू’ भन्ने भनाइलाई
‘न्याय नपाए नेपाल जानू’ भन्ने बनाउन
चाडक्यको नीति बुझाउन
मैले त कानुन पढ्नै पर्छ ।

विदुरको जस्तो निति, नियम बनाउन
कानुनको भित्री उद्देश्य, रहस्य र मर्म बुझ्न
अन्यायमा परेकालाई उचित न्याय दिलाउन
मैले त कानुन पढ्नै पर्छ ।

‘सत्यमेव जायते’ बुझ्न र बुझाउन
कानुनमा आमूल परिवर्तन ल्याउन
मैले त कानुन पढ्नै पर्छ ।

—– दिक्षा पोख्रेल
चक्रवर्ती हे.बि. एजुकेसनल एकेडेमी
(कलेज अफ ल)
बिजुली बजार काठमाण्डौ नेपाल