नेपाली अमेरिकन सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको कथा विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित

विजय थापा । नेपाली अमेरिकन सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको कथा विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित भएको छ। विश्वविद्यालय र माध्यमिक बिद्यालयका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्षको कथा प्रकाशन गरेको छ।

उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।

उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कर्प्सले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।

विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको एक सय भन्दा बढी मुलुकहरूका माध्यमिक बिद्यालय(हाइस्कुल) महा बिद्यालय (कलेज) र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो प्रकाशनको ४३ लाख बढी स-शुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्राध्यापकहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्। यो प्रकाशनको ५ हजार ८ सयभन्दा बढी कर्मचारी छन्।

डा. परियारको कहानी यो पुस्तकमा व्यक्तिगत संवृद्धि अन्तर्गत पृष्ठ ५९१-५९४ मा प्रकाशित छ। यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कथा समावेश छ। यसपी समावेश उनी एक मात्र नेपाली हुन्।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकि पूर्व सल्लाहकार रहीसकेकी सुपरिचित नेपाली अमेरिकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार हाल जर्सी सिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यमा सन् २०२१-२०२४ कार्यकालको निम्ति नियुक्त भएकी छिन् भने जर्सी सिटी सहरको नेपालको लागि भगिनी सम्बन्धको लागि विशेषदूत पनि हून्। डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच भगिनी सम्बन्ध कायम गरिएकोछ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएकोछ। डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन्।

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख भगिनी सम्बन्ध बनाउन दुई नगर पमुखद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध (सिस्टर सिटी)बनाउन जर्सी शहरका परिषदद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल प्रस्ताव पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच भगिनी सम्बन्ध बनाउन सफल भएको थियो। अन्य मुलुकको शहरसंग भगिनी सम्बन्ध बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो को सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (अस्थायी सुरक्षित दर्जा )परिषदले प्रस्ताव पारित गरेको थियो। अस्थायी सुरक्षित दर्जा पारित गर्ने जर्सी सिटी शहर एक मात्र अमेरिकी शहर हो ।

त्यसैगरी, डा. परियारकै पहलमा नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवत: पहिलो घटना हो।

राष्ट्रीय र अन्तर्राष्ट्रीय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई “डा. विष्णुमाया परियार डे” घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशीभूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।

डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सम स्पिकमा घरेलु र यौन हिंशा सम्बन्धी पहुच (आउटरिच)को संयोजककोरूपमा सेवा पुर्याउँदछिन्।

डा. विष्णुमाया परियारको संस्था एड्वान ले स्थापनाकाल सन् १९९८ देखि हालसम्म २३ हजार बढी बालबालिकाहरू र ५० हजार बढी तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दिगो कृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षणलगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ।