म ‘एक्सन ओरियन्टेड’ मान्छे हुँ, भनेको काम गर्छु : प्रेम गाहा मगर (भिडियो सहित)

लण्डन । गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरले आफु स्पष्ट अजेण्डा र कार्ययोजनासहित चुनावी अभियानमा होमिएको बताएका छन् ।

लण्डन नेपाल न्यूजसँगको लाइभ अन्तर्वार्तामा २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका गाहा मगरले आफूले भनेको काम गर्ने भएकाले दुई वर्षमा आफूले गर्न सक्ने काम मात्रै समेटेर एजेन्डा सार्वजनिक गरेको बताए ।

संस्थाको शुद्धीकरण, सुदृढीकरण र पारदर्शितासहितका विभिन्न ६ वटा मुख्य अजेण्डा सार्वजनिक गरेका गाहा मगरले दुई वर्षमा गर्न सकिने काम मात्र आफूले अगाडि सारेको बताए । ‘म एक्सन ओरियन्टेड मान्छे हुँ, भनेको काम गर्छु’ उनले भने ।

सस्तो लोकप्रियताका लागि दुई वर्षमा गर्नै नसकिने काम आफूँले अगाडि नसारेको स्पष्ट पारे । ‘जे जे गर्न सकिन्छ, त्यो मात्रै भनेको हुँ’ उनले थपे ।

पछिल्लो समय एनआरएनएप्रति आकर्षण घट्दै गएको बारे आफु जानकार रहेको बताउँदै उनले संस्थाप्रतिको आकर्षण बढाउनु र बढी भन्दा बढी प्रवासी नेपालीहरुलाई यो संस्थामा सहभागी गराउनु नैै आफ्नो मुख्य उद्देश्य रहको स्पष्ट पारे ।

एनआरएनए यूकेमा देखिएको अनियमितताका कारण संस्थाको सम्मानमा नै आँच पुगेको बताउँदै अनियमितता गर्नेलाई कानुनी दायरामा ल्याई घोटाला भएको रकम फिर्ता गराउने आफ्नो अभियान रहेको उनले बताए । ‘सामाजिक संस्था पारदर्शी हुनुपर्छ र त्यसका बारेमा सबैले जानकारी पाउनुपर्छ,’ उनले भने ।

दुई कार्यकाल निर्वाचित भएर उपाध्यक्षका रुपमा कार्यकाल पूरा गरेको बताउँदै यसबीचमा आफूले गरेका कामका आधारमा नै अब अध्यक्ष पदमा निर्वाचित हुने उनले विश्वास व्यक्त गरे । ‘पहिलो कार्यकालमा च्यारिटी डिपार्टमेन्ट र दोश्रो कार्यकालमा गोर्खा डिपार्टमेन्ट प्रमुख भएर काम गरेँ, त्यसका परिणाम के के आए सबै छर्लङ्ग छ,’ उनले भने ।

कार्य समितिका पाँच उपाध्यक्षहरु आफ्नो समर्थनमा रहेको पनि उनले जानकारी दिए । त्यस्तै, राज्य समितिहरुबाट पनि आफूलाई समर्थन रहेको उनले दाबी गरे । राज्य परिषद स्थापना गर्न आफूले निर्वाह गरेको भूमिकालाई स्मरण गरिदिन पनि उनले राज्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरे ।

केही अग्रज तथा वरिष्ठ एनआरएनए अभियन्ताहरुले पनि आफूलाई समर्थन गरेको बताउँदै उनले अग्रजहरुको आशिर्वाद तथा साथीहरुको साथ पाएकाले आगामी निर्वाचनमा आफू अध्यक्ष निर्वाचित हुनेमा विश्वस्त रहेको उनले सुनाए ।

संस्थाको पारदर्शिता र सुदृढीकरण

‘संस्थाको पारदर्शिता र सुदृढीकरणका लागि केही चुनौतिहरु छन्,’ उनले भने, ‘चुनौतिसँग लडेर काम गर्दा मजा आउँछ, सबै चुनौति सामना गर्ने छु ।’

महिला र नयाँ पुस्ताहरुको सहभागिताका बारेमा आफू गम्भीर रहेको उनले बताए । युवा पुस्तालाई सहभागी गराउने मात्रै होइन, नेतृत्वमा नै ल्याउनुपर्छ । महिलाहरुलाई कोटा र आरक्षणका रुपमा मात्रै नभई समाजको अग्रणी नेतृत्वकर्ताका रुपमा विकसित गर्नुपर्ने उनको भनाइ छ ।

युवाहरुलाई नेपाली कला, संस्कृति र भाषाको संरक्षणमा सहभागी गराउनुपर्ने उनको सूत्र छ । ‘म सँग केही योजनाहरु छन्। ती योजना अनुसार अगाडि बढ्दा युवाहरुको सहभागिता अवश्य बढ्ने छ,’ उनले भने।

झण्डै डेढ महिना सन्चालन गरिएको सदस्यता अभियानका क्रममा करिव ११ हजार ६ सय जना बेलायत निवासी नेपालीहरुले एनआरएनए युकेको पन्जीकृत सदस्यता लिएका छन् । आफु निर्वाचित भएमा सदस्यता प्रणालीलाई पनि थप सहज र सजिलो बनाउने उनले बताए ।

मगरले आफ्नो नेतृत्वमा सबल, सक्षम र समावेशी टिम बन्ने बताए । ‘एनआरएनको विधान अनुसार प्यानल नै त बनाउन पाइँदैन। , तर, योजना र कार्यशैली मिल्ने साथीहरुको टिम त बनाउनुपर्छ।’ गाहा मगरले भने।

उनले आफूलाई अध्यक्ष पदमा विजयी गराउन बेलायतवासी नेपाली समुदायलाई आग्रह पनि गरे। ‘मलाई अध्यक्ष बनाउनु भयो भने तपाइँहरुको शिर निहुराउनपर्ने काम कहिल्यै गर्ने छैन, शिर ठाडो बनाउने र संस्थाको मर्यादा कायम गर्ने गरी काम गर्ने छु,’ उनले भने ।

बेलायतमा पूर्व गोर्खाहरुको बाहुल्यता रहेको छ । गोर्खाहरु आन्दोलित पनि छन् । आफू पनि पूर्व गोर्खा नै भएकाले समस्या र त्यसको समाधानबारे आफूलाई राम्ररी थाहा भएको उनले बताए । पूर्व गोरखाहरुको समस्या समाधानका लागि बेलायत सरकार र नेपाल सरकारसँग पनि निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।

समाजसेवा गर्ने उद्देश्यले नै आफू चुनावी अभियानमा होमिएको गाहा मगरले बताए । ‘मैले सातै दिन चौबिसै घण्टा एनआरएनलाई दिने छु, नेपाली समाजको सेवामा खटिने छु,’ उनले स्पष्ट पारे ।

एनआरएन यूकेको आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न जुलाई ३१ मा निर्वाचन हुँदै छ । अध्यक्ष पदमा गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् । औपचारिक घोषणा भने जुलाई ११ मा एक समारोहको आयोजना गरी गरिने उनले जानकारी दिएका छन् ।

हेर्नुहोस् अन्तर्वार्ताको भिडियो: