इङ्ल्याण्डमा लालबहादुर (एलबीजेड) गुरुङले , यूकेमा प्रेम गाहा मगर

लण्डन ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी यूके) को निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु हुन थालेको छ ।
एनसीसी यूके अन्तर्गतको इङ्ल्याण्ड राज्य परिषदको अध्यक्षमा लालबहादुर (एलबीजेड) गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । हाल इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेका गुरुङले आगामी कार्यकाल(२०२१–२०२३) का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

गुरुङले एनसीसी यूकेको आगामी अध्यक्ष पदमा प्रेम गाहा मगरको उम्मेदवारीलाई समर्थन गरेका छन् । गाहा मगरको टिममै रहेर इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने उनले स्पष्ट पारेका छन् ।

उनले एक अपिल जारी गर्दै विगतमा जस्तै साथ, सहयोग र माया पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

गुरुङले यसअघि नै एनआरएनए एनसीसी यूकेमा एक कार्यकाल युवा संयोजक भएर काम गरिसकेका छन् भने हाल इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेका छन् । ‘सबै जनाको साथ, सहयोग र प्रेरणा अनुसार नै इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा यसपाली मैले उम्मेदवारी घोषणा गरेको छु’ उनले भनेका छन् ‘अब इङ्ल्याण्ड राज्य परिषदको अध्यक्ष पदमा रहेर काम गर्ने अवसर दिनु हुने छ भन्ने आशा अनि विश्वास लिएको छु ।’

हालसम्म आफूले प्राप्त गरेको भूमिका अनुसार जिम्मेवारी निर्वाह गरेको बताउँदै, उनले सबैको साथ र सहयोगमा एनआरएनए यूकेको भूमिका अझ फराकिलो बनाउनेतर्फ आफूँ क्रियाशील रहने पनि स्पष्ट पारेका छन्।

युवाहरुका बीचमा लोकप्रिय गुरुङले अपिलमा भनेका छन्, ‘अब मेरो यात्रा इङ्ल्याण्ड राज्य परिषदको गरिमलाई उचाइमा पुर्याउन, साझा समस्याको उठान गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

अहिलेसम्म विभिन्न सामाजिक संघ, संस्थामा रहेर काम गरेको अनुभव एनआरएनको हितमा लगाउने, सत्य र न्यायका पक्षमा सदैव बोल्ने तथा व्यक्तिगत गुट र राजनीतिबाट माथि उठेर सामूहिक भाव र सहकार्यमा संस्थागत हितमा सदैव अगाडि बढ्ने प्रतिवद्धता पनि गुरुङले व्यक्त गरेका छन् ।

एनसीसी यूकेका अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरको टिमबाट नै यसअघि युवा संयोजक(युथ कोअर्डिनेटर) पदमा तीर्थबहादुर मल्ल(अनिल)ले उम्मेदवारी घोषणा गरिसकेका छन् ।