यस्तो चरम मानवीय संकटको घडीमा राजनीतिलाई ‘ पज ‘ गरेर राहत, खोप, अक्सिजन, औषधि उपचार आदिमा हामी सबै समर्पित हुन एक निमेष ढिलो गर्नु हुँदैन |

डाक्टर रबिन्द्र समिर जन स्वास्थ्य विज्ञ

देशमा अक्सिजनको उत्पादन वृद्धि, चुहावट नियन्त्रण तथा विदेशबाट अक्सिजनको सहयोग बढेसंगै अहिले सास फेर्ने आशा जागृत भएको छ | अस्पतालमा देखिएको संक्रमितको चाँप केहि घटेर अहिले बेड पाउने अवस्थामा पुगेको छ | आइसीयु र भेन्टिलेटरमा एउटै बिरामी लामो समय बस्नुपर्दा र थप गम्भीर बिरामीको लागि आइसीयु / भेन्टिलेटरको आवश्यकता पर्ने भएकोले अझै पनि आइसीयु र भेन्टिलेटरको अपर्याप्तता छ | यो बीचमा केहि सहयोगी देश र संस्थाबाट भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको सहयोग आएको छ |

महामारी नियन्त्रण गर्ने प्रमुख उपाय खोप नै हो | खोपको २ मात्रा पुरा गरेका व्यक्तिहरुमा संक्रमण हुने अवस्था कम छ भने संक्रमण भएपनि गम्भीर हुने र मृत्यु हुने नगण्य छ | एक मात्रा खोप लगाएका व्यक्तिहरुको पनि गम्भीर हुने तथा मृत्यु हुने संख्या एकदम कम छ |
पहिलो लहरमा जेष्ठ नागरिक तथा दीर्घबिरामीको मृत्यु धेरै थियो भने यसपटक सक्रिय उमेरका व्यक्तिमा मृत्युदर अनपेक्षित रुपमा धेरै देखिएको छ | यसमा प्रमुख भूमिका खोपको छ भने द्वितीय भूमिका घरबाहिर ननिस्किने बर्गको सुरक्षा देखिएको छ |

यो लहर र सम्भावित तेस्रो लहरलाई निस्तेज गर्ने प्रमुख अस्त्र भनेको खोप नै हो | बाटाघाटा तथा भवन अर्को साल बनाएपनि हुन्छ | यो पटकको सम्पूर्ण शक्ति खोपमा लाग्नुपर्ने अवस्था छ | लकडाउन महामारी नियन्त्रणलाई ‘ पज ‘ गर्नको लागि प्रयोग भएपनि यो समाधान पक्कै हैन | पहिलो समाधान खोप नै हो | दोस्रो समाधान जनस्वास्थ्यका मापदण्ड पालना हो भने तेस्रो समाधान स्वस्थ जीवनशैली नै हो |

खोप उत्पादक देश थोरै भएको, ती देशले खोप आफ्नो देश बाहिर लैजाने अनुमति नदिएको, खोपको माग संसारभर भएको तथा धनी देशहरुले आबश्यकताभन्दा धेरै खोप ‘ होल्ड ‘ गरेको कारण खोप पाउन कठिन भएको छ | सरकारले आफ्ना सम्पूर्ण कुटनैतिक तथा ब्यबसायिक संयन्त्र प्रयोग गरेर खोप ल्याउनु जति महत्वपूर्ण छ, प्राप्त भएको खोपको न्यायोचित वितरण त्यतिकै महत्वपूर्ण छ | खोपको उद्देश्य मृत्युदर घटाउने भएको हुँदा एक / एक खोप जोखिम बर्ग तथा जनसम्पर्कका बर्गलाई दिने हो भने मृत्युदर घटाउन सकिन्छ |
सबैभन्दा चिन्ता पहिलोपटक कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकको छ | कोभिशिल्ड खोपको दोस्रो मात्रा ८ देखि १२ हप्तामा लगाउनुपर्नेमा हाल १२ देखि १६ हप्तामा लगाउन मिल्ने भारतले जनाएको छ | बैज्ञानिक पुष्टि भएको अबधिभित्र कोभिशिल्ड खोप ल्याउन भारतबाट अप्ठ्यारो भएपनि बेलायत तथा कोरियाबाट ल्याउने प्रयास अथक रुपमा गर्नु जरुरी छ | सरकारले रुस तथा अमेरिकाको जोन्सन एन जोन्सनको खोप ल्याउनको लागि थालेको कुटनैतिक पहल निष्कर्षमा पुर्याउनु जरुरी छ | जोन्सनको सिंगल डोज भ्याक्सिन ल्याउन सकेमा त्यो सजिलो र प्रभावकारी हुनेछ |

निजि क्षेत्रले चीनको भेरोसेल तथा रुसको सपुत्निक भी खोप ल्याउन सफल भएमा किन्न सक्नेले निजिले ल्याएको खोप तथा आम जनसमुदायले सरकारले ल्याएको खोप ( निशुल्क ) लगाउने बहु उपाय अबलम्बन गरेमा छिटो महामारी नियन्त्रण हुन्छ | बिदेशमा रहेका नेपाली, जसको राजनैतिक तथा ब्यबसायिक पहुँच छ ; उहाँहरुले मातृभूमिको लागि खोप दिलाउन अथक प्रयास गर्नु अर्को बिकल्प हो | अमेरिका लगायत देशमा त्यहाँको सिनेटमा वा सत्तारुढ पार्टीको उच्च स्थानमा भएका नेपालीहरुले पक्कै पनि यो पहल गरिरहनु भएको छ | हाम्रा बिदेशमा भएका राजदुत र यहाँ भएका बिदेशी राजदुत दुबैलाई क्रियाशील बनाएर परिणाम ल्याउन सकिन्छ |

हिंजो मात्र चिनिया राष्ट्रपतिसंग उच्च स्तरबाट पहल हुँदा १० लाख मात्रा भेरोसिल खोप सहयोगको घोषणा हुनुले यो प्रकारको पहल हरेक खोप निर्माता देशसंग गर्नु लाभदायक हुनेछ |

निषेधाज्ञामा दैनिक काम गरेर खाने बर्गलाई ठोस राहत दिन स्थानीय निकाय क्रियाशील हुनु जरुरी छ | हामीले रोग र भोकको दुवै युद्धलाई संगसंगै लैजानु आबश्यक छ | यस्तो चरम मानवीय संकटको घडीमा राजनीतिलाई ‘ पज ‘ गरेर राहत, खोप, अक्सिजन, औषधि उपचार आदिमा हामी सबै समर्पित हुन एक निमेष ढिलो गर्नु हुँदैन |