एसईई र १२ कक्षाको परीक्षा जेठमा हुने

काठमाडौं । बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ ।

संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमणका कारण आगामी वैशाखभर मुख्य शहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन शुरू गरिहाल्नुपर्ने बताए । कतिपय विद्यालयले मंगलवारदेखि नै अनलाइन कक्षा आरम्भ गरिसकेका छन् ।

सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ । विद्यालयले आफ्नो विद्यार्थी संख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँच लगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्नेछन् ।

विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने जानकारी प्रवक्ता शर्माले दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।