व्यङग्य कविता: दोषी तुलो

कुन छ धेरै कुन छ थाेरै कुन छ बराबरी
सबलाइ जाेख्ने तुलो हुन्थ्यो चित्त बुझ्ने गरि

वस्तु सबै जाेख्थे त्यँहा सानो देखि ठूलो
मान्छे समेत जाेख्ने खालको आ’ को रै छ तुलो!

तौल नाप्नलाई जोखे मान्छे त्यही तुलोमा हाली!
एकातिर भएका जति अर्का तिर खाली

त्यही खालीमा राखि जाेखे एउटा ब्यक्ति जब
बराबर रे दुबै तिर जिल्ल परे सब!

कस्तो खालको वीर पो हो त्यो त्यस्तो तौल भा’ को!
क्यारि भयाे त्यती भारी के हो त्यसले खा ‘ को?

मान्छे उस्तै भारी हो कि बिग्रिएको तुलो?
त्यति बिधि मान्छे भन्दा उसको वजन ठूलो!

बिग्रियो कि जाेख्ने तुलो पिँधमा परि दुलो ?
धमिल्लिए कि तिम्रा आँखा पर्याथ्यो कि फुलो ?

अचम्मैको ताैल अरे एउटै ब्यक्ति सङ्ग
ताैलवालाको सम्बाद सुन्दा भा ‘छन् सबै दङ्ग!

शब्द पनि उस्तै अझ महावजनधारी
त्यस्तै शब्द बाेल्ने भा र भा को हो कि भारी?

वजन वढाउने खालकै रै छ अझ आनिबानी
जस्तो पनि बाेल्न सक्ने जत्ति पनि खानि!

गाली उस्तै शब्द उस्तै वजन उस्तै भा ‘ को
मान्छे जाेख्ने अड्डाबाट त्याे पदवी पा’ को

दुइ दिन पनि टिकेन त त्यस्तो शक्ति शाली
सम्बाद सुन्दै थुक्न थाले गर्न थाले गाली

त्यस्ताे खालको पदवी त्याे क्यारी उसले पायो!
भित्रिया पाे थ्यो कि कतै अनि माया लायो!

वजन पक्कै भारि थ्याे कि बिग्रेको हो तुलो?
जाेख्ने मान्छे उस्ताे हो कि बाेल्यो जाेख्नै भुल्यो?

– अर्जुन राज पन्त , बागलुङ मुलपानी( व्यङग्य कवि पहिलो व्यङग्यकाव्य ‘कोइली’ लेखक समेत हुन)