गैरआवासीय नेपाली संघ – एनआरएनए कोभिड–१९तथ्यांक अपडेट – ४९

लण्डन । कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

डा.सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८ सय ३९ जना भने २ लाख ७१ हजार ८ सय १५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत छ ।
विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले बताउनुभयो ।

चिरन शर्मा

प्रेश संयोजक, गैरआवासीय नेपाली संघ, ‘कोभिड १९’ उच्चस्तरिय समिति

२१ मार्च २०२१