निरन्तर साधनाले सफलता चुमेका सन्तोष : हेर्नुहोस भागम सानु भिडियो

काठमाडौं । सन्तोष दवाडी लोकदोहोरी गायनमा स्थापित नाम हो । सानै उमेरदेखि लोकदोहोरीका पारखी सन्तोषले सांगीतिक यात्राका क्रममा धेरै गीतहरु बजारमा ल्याइसके । धेरै गीतमा स्वर दिए । गायनको यात्रामा जिन्दगीका आरोह अवरोह पनि भोग्दै निरन्तर सांगीतिक दौरानमा हिंडिरहे । गीत चल्नु र नचल्नुमा उनलाई कुनै प्रवाह भएन गीतमा हुनुपर्ने गुणस्तरीयतालाई भने सधैं ख्याल राखे । अडियोलाई राम्रो बनाउन सके स्रोताहरुको माया पाइन्छ भन्नेमा ख्याल राखे । त्यसैले सुरुवाती दिनदेखि अहिलेसम्म एकदशकको सांगीतिक यात्रामा गायनलाई भन्दा अन्य सोच मनमा लिएनन् । एक दशकको यात्रा पार गरिसकेका उनले सफलताको स्वाद पनि चाख्दै अगाडि बढिरहेका छन् ।

पहिलो पटक २०६६ मा राजन मगरको शब्द, जुजु गुरुङको संगीतमा ‘दुख्यो दिलको घाउ’ मा स्वर दिए । त्यसपछि आफ्नै लय शब्दमा ‘मनमा पिरको खानी भैसक्यो’ मा २०६७ मा स्वर दिए । एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा उनले २०६८ सालमा ‘पानी पर्दा हो’ तेस्रो गीतमार्फत लोकदोहोरी दुनियाँको क्षेत्रमा छाईरहे । निरन्तर तीन वर्षसम्म गीत बजारमा आएपछि उनका गीतहरुले स्रोताको मन जित्न थाले । उनका गीतहरुले सफलता दिँदै गयो ।

सुरु सुरुमा दुःख मेहनतका साथ गरेको लगानीले बल्ल उनलाई केही सान्त्वना दिँदै थियो । सफलताको स्वाद चाख्दै गर्दा उनले ‘हातमा म्यारिज भूईमा टनेला’ लिएर आए । २०७० सालमा बजारमा आएको यो गीतमा आफ्नै लय शब्द रहेको थियो । यो गीतबाट उनी धेरै आशावादी पनि थिए । समाजका यथार्थ घटनाक्रम उनको आँखामा झल्किएको थियो ।