मेस्सीले पेलेको कीर्तिमान यसरी तोडे

(जीएनएन) : लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड तीन शून्यले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे ।

मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । ब्राजिली लिजेण्ड पेलेले १९ सिजन स्यान्तोसबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । बार्सिलोनाका लागि थप गोल क्लेमेन्ट लिन्गलेट र मार्टिन ब्रेथवेटले गरे । जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडले भने रियल सोसिडाडलाई दुई–शून्यले हराउँदै तीन अंकको अग्रता बनाएको छ ।

एथ्लेटिकोका लागि हेर्मोसो, लोरेन्टोले एक –एक गोल गरे । शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई एक–शून्यले पराजित गरेको छ ।

हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले एक–एक एवम् इल्चे र ओसासुनाले दुई–दुई गोलको बराबरी खेलेका छन् ।