नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्ड प्रवेश :

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्ड प्रवेश गरेका छन् ।

‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउण्डको प्रतिस्स्पर्धाबाट अघि बढ्दै उनी शीर्ष ६ को फाइनल राउण्ड पुगेका हुन् ।

प्रतियोगितामा सहभागी कुल ३२ व्यवसायिक सेफहरुमध्ये शीर्ष ६ सम्मको यात्रा गर्न सन्तोष सफल भएका छन् ।

फाइनल राउण्ड पुगेका प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धापछि आउंदो साता विजेता घोषणा हुनेछ ।

यसअघि सेमिफाइनल राउण्ड पुगेका १० प्रतिस्पर्धीबीच पहिलो चरणको प्रतिस्स्पर्धा गराएर मंगलबार ८ प्रतियोगीलाई सेमिफाइनल लगिएको थियो । उनीहरुलाई २ समुहमा राखेर दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो ।

बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रस्तुति दिएका सन्तोष सिधै फाइनल राउण्ड पुग्न सफल भए भने अन्य ३ प्रतियोगीबीच अर्को चरणको प्रतिस्पर्धा गराएर थप २ लाई फाइनल राउण्ड लगिएको छ ।


बिहीबारको एपिसोडमा सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ बनाएर निर्णायकहरुको मन जितेका थिए ।

विश्व प्रतिष्ठित मास्टर सेफ यूकेको फाइनल राउण्डसम्म ठाउँ बनाउने क्रममा बिहीबारको एपिसोडमा सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ बनाएर निर्णायकहरुको मन जितेका थिए । साथै, उनले निर्णायकको आग्रहमा चिकन चिल्ली, हट एण्ड साओर सुप, क्रिस्पी नूडल्स लगायतका इन्डो चाइनिज परिकारहरु पनि बनाएका थिए ।

सेमिफाइनलको पछिल्लो राउण्डमा उनले नेपालको हिमाली कुइजिनबाट प्रेरित रोस्टेड काँक्रोको बिंया,सल्ट रोस्टेड बिंया वन तरुल, प्याजको अचार र स्याउको चट्नी लगायतका परिकार प्रस्तुत गरेका थिए ।

बीबीसी मास्टर सेफमा नेपाली खाना लिएर सहभागी हुने सन्तोष नै पहिलो नेपाली सेफ हुन् । ‘मास्टर सेफ’ लाई आफ्नो जीवनकै अद्भूत र उपलब्धिमुलक यात्रा मान्ने सन्तोषले मौलिक नेपाली खानाको प्रवर्द्धनमा निरन्तर जुटिरहने प्रण गरेका छन् ।

सिरहा कर्जन्हा घर भएका सन्तोष कलिलै उमेरमा भारत पसेर संघर्ष गरेका थिए । गुजरातमा किचन पोर्टरबाट शुरु भएको उनको करियर भारतकै पाँच तारे होटेलहरु हुँदै लण्डनमा मिसेलिन स्टार सेफहरुद्वारा संचालित रेष्टुरेन्टहरुसम्म आइपुगेको छ ।

नेपाली खानालाई विश्वभर चिनाउने अठोटसहित अघि बढेका उनीसँग नेपाली कुइजिनबाट ‘मिसेलिन स्टार’ हासिल गर्ने पहिलो नेपाली सेफ बन्ने लक्ष्य छ ।

मास्टर सेफ प्रोफेसनल्स् यूकेको प्लेटफर्ममा सन्तोषले यसअघि पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खानाका परिकारहरु पनि पस्किसकेका छन् । (नेपालीलिंक बाट साभार)