नेपाल पत्रकार महासंघ बेलायतको दोश्रो स्वास्थ्य संवाद कार्यक्रम

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले आइतबार दोश्रो स्वास्थ्य संवाद कार्यक्रम गरेको छ । कोभिड १९ महामारीका बेला समुदायको स्वास्थ्य सरोकारबारे छलफल गरि आममानिसलाई थप सचेत बनाउने उद्देश्य अन्तर्गत एकजना वरिष्ठ मुटु रोग विशेषज्ञसंग अन्तरसंवाद भएको हो ।

शाखाले नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज नर्सिङ एसोसिएसन यूके र एनआरएनए यूकेसंगको सहकार्यमा पाक्षिक रुपमा भिन्न भिन्न स्वास्थ्यविदसंग अन्तरसंवाद थालेको छ ।

आइतबार आइल अफ म्यानस्थित नोवेल अस्पतालमा एक्युट मेडिसिन विभागका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. लक्ष्मण पौड्यालसंग अन्तरसंवाद गरिएको हो । कार्यक्रममा डा. पौड्यालले मुटु रोगको जोखिम, रोग लाग्ने कारण, बच्ने उपाय एवं कोभिड १९ र मुटु रोगबीचको सम्बन्धबारे खुलस्त पारे ।

नेपाल पत्रकार महासंघ बेलायतका सचिव जगन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा डा. पौड्यालले मुटु २४ सै घण्टा चल्ने मानिसको एकदम क्रियाशिल अंग रहेको जनाउंदै उनले शारिरिक परिश्रम गर्दा यो अझ क्रियाशिल हुने बताए । मानिसको मुटुको धड्कन २४ घण्टामा एकलाख चोटी हुने र त्यसले दुई हजार ग्यालेन रगत शरीरमा पम्प गर्ने पनि डा. पौड्यालले जनाए । शरीरका सबै नली जोड्ने हो भने करिब ६० हजार माइल रगतको नली हुने चर्चा गर्दै उनले मुटुले काम 
रोक्यो भने केही मिनेटभित्रै मस्तिष्क, किड्नी, लिभर, फोक्सोले रगत नपाई ति मुख्य अंग निष्क्रिय हुने भएकाले मुटुको स्वास्थ्यमा अझ बढी ख्याल गर्नुपर्ने उनको सुझाव छ ।

मुटु रोग अनुवंशीय पनि हुने जनाउंदै डा. पौड्यालले सन्तुलित आहार, व्यायाम, अनुशासित जीवनशैली र नियमित स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन सुझाए । मुटु रोगमा सबैभन्दा बढी कोरोनरी आर्टरी डिजिज हुने उल्लेख गर्दै उनले बोसो जम्मा भइ रगतको नली सांघुरिएर हार्ट अट्याक हुन सक्ने र यो महिला भन्दा पुरुषमा बढी जोखिम रहेको औंल्याए । ब्लडप्रेसर उच्च हुंदा ह्दय र मस्तिष्क घातको बढी सम्भावना हुने उनको बुझाइ छ ।

मुटु र अन्य धेरै रोगबाट बच्न सन्तुलित खाना र शारिरीक व्यायामको ठूलो महत्व रहेको उनले प्रष्टयाए । एक दिनमा कम्तीमा तीस मिनेट अथवा सातामा एकसय ५० मिनेट हिंड्न उचित हुने विश्व स्वास्थ्य संगठनले पनि सिफारिस गरेको उनको भनाइ थियो ।

स्वास्थकर खाना जस्तै सागपात, फाइबर बढी भएको खाना, गेडागुडी, फलफूल धेरै खाने तर नुन, गुलियो र चिल्लो पदार्थ कम खान उनले सुझाए ।

दक्षिण एसियाली मानिसमा मेटाबोलिक सिन्ड्रोम (मोटोपना, मधुमेह, हाइब्लड प्रेसर, कोरोनरी आर्टरी डिजिज जस्ता रोग) बढी भएको जानकारी दिंदै डा. पौड्यालले शिथिल जीवन भन्दा शारिरीक रुपले सक्रिय जीवन बिताउन सुझाव दिए । चिन्ता (स्ट्रेस) व्यवस्थापन र अनुशासित जीवन जीउन अत्यन्त जरुरी छ, डा. पौड्यालले भने ।

मुटुरोगीलाई कोरोनाको जोखिम बढी पाइएको उनले बताए । हाइ ब्लडप्रेसर, डायबेटिज, मुटु, मृगौला जस्ता क्रोनिक रोग लागेकालाई कोरोनाको जटिलता बढी भेटिएको उनले औंल्याए । कम भन्दा बढी उमेर समूह र महिला भन्दा पुरुषमा बढी जटिलता भएको पाइएको छ, उनले भने । एसियनमा भिटामिन डीको कमी पाइएको र कोभिडसंग भिटामिन डीको पनि सम्बन्ध रहेको डा. पौड्यालले बताए ।

मावनसभ्यताको इतिहासकै स्वास्थ्य संकटमा विश्व गुज्रिरहेको उल्लेख गर्दै अहिले कोभिड १९ को अध्ययन र अनुसन्धान प्रचुरमात्रामा भएका र प्रतिरोध शक्ति बढाउन विकसित खोपको सकारात्मक समाचारले शुभ संकेत मिलेको पनि उनले बताए ।