कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

काठमाडौँ १९ कार्तिक
देवकी न्यौपाने
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना महामारीका बेला सञ्चारमाध्यमले कस्ता सन्देश प्रवाह गरे भन्नेबारे चासो राख्नुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालको संस्थागत ब्रिफिङ लिँदै मन्त्री गुरुङले कोभिड–१९को सङ्क्रमणमा मिडियाले के÷कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गर्नुभयो । मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मिडियाको दायित्व भएको उल्लेख गर्दै उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

काउन्सिलको काम–कारकाही एवम् सञ्चारमाध्यमको अनुगमन तथा नियमनबारे जानकारी लिँदै मन्त्री गुरुङले मिडियाक्षेत्रलाई विश्वसनीय बनाउन सके प्रेस काउन्सिलको समेत विश्वसनियता बढ्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मिडियाबाट आएका सामग्रीहरू हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए÷गरिएका काम–कारबाहीको विषयमा जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को महामारीमा जोखिम मोलेरै भएपनि काउन्सिलले दिने सेवाबाट आफूहरू पछि नहटेको बताउनुभयो । उहाँले प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले आफू काउन्सिलमा आएदेखि आजको काम आजै सम्पादन गर्ने, उपत्यकाबाहिरबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएअनुरुप नै काम भैरहेको बताउनुभयो । मन्त्री गुरुङबाट आवश्यक सहयोगको अपेक्षा रहेको बताउँदै उहाँको जोश र जाँगरलाई जीवन्त राख्न आफूहरू तल्लीन रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले पत्रपत्रिका वर्गीकरणको सन्दर्भमा धेरै प्रश्नचिन्ह उठ्ने गरेकाले वर्गीकरणको मापदण्डलाई ध्यानमा राखि निष्पक्ष मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । ७ वटै प्रदेशमा मिडिया अनुगमन गर्नुपर्ने बताउँदै उहाँले अन्य पेसामा जस्तै पत्रकार बन्नको लागि पनि परीक्षा लिनुपर्ने र पास गरेपछि मात्रै पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । प्रेस काउन्सिलले पत्रकारको लाइसेन्स परीक्षा लिने कानुनी व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले २०४८ सालको ऐन छापामुखी भएकाले परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका प्रमुख–प्रशासकीय अधिकृत झबिन्द्र भुसालले यही असोज महिनासम्म काउन्सिलमा २२७५ अनलाइन सूचीकरण भएको जानकारी दिनुभयो । उहाँले छापाअन्तर्गत ३९ उजुरी, ३४ फछ्यौट र ५ वटा प्रक्रियामा रहेको तथा विद्युतीयअन्तर्गत १२७ उजुरी, ८६ फछ्यौट र ४१ वटा प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले मिडिया अनुगमन प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के÷कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । मन्त्रीको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो ।

कर्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डे, सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव किरणराज शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव डिल्लीराम शर्मालगायतको उपस्थिति रहेको थियो ।