उपचार गर्न सक्दिन भन्नेलाई सरकारले उपचार गदिर्ने प्रधानमन्त्रीको भनाई, हेर्नुहोस आज कार्तिक ८ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् ।

दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।’

अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको बताए । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उनले बताएका छन् ।

जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै उनले भनेका छन्, ‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।’