आमा छोरी दिदी बैनी नेटमै भेटौंला | मनको व्यथा पोखौंला न्यास्रो मेटौंला….‘योपालीको तीज जुममा हेरेर’ भिडियो सार्वजनिक

आमा छोरी दिदी बैनी नेटमै भेटौंला | मनको व्यथा पोखौंला न्यास्रो मेटौंला…. चर्चित गायिका सुनिता दुलालको स्वर तथा अमेरिकाको डिसी महानगर बस्दै आएकी साहित्यकार रोजा ओलीको शब्दमा ‘यो पालीको तीज जुममा हेरेर’ को भिडियो गीत आज सार्वजनिक भएको छ। गायिका सुनिता दुलालले आफ्नो युट्युब च्यानलबाट प्रिमियर गरी आज बिहान सार्वजनिक गर्नु भएको हो।

केही दिन अगाडी डिसि मेट्रो परिवारले जुममा बसेर छोटो भिडियो सुट समेत गरेको थियो।

‘योपालीको तीज जुममा हेरेर’ तीजको गीतको गीतकार रोजा ओली हुन् भने गीतलाई सुनिता दुलालले स्वर दिएकी छिन । संगीत सुनिल मास्केको रहेको छ भने नृत्य निर्देशन दिलु थापाले गरेका छन् । सम्पादन तथा निर्देशन कुशल श्रेष्ठको रहेको छ ।

गीतकार ओलीले डिसी जुम परिवार,इन्जाका वरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहाल,अनेसास डिसी शाखाका भूप नारायण घर्तिमगर, मुकुन्द कोइराला,खगेन्द्र थापा तथा गुरु रघु अर्याललाई बिशेष धन्यवाद दिएकी छिन् ।

डिसी मेट्रो परिवारले गत अगष्ट ९ आइतबारका दिन साझ जुम प्रबिधि मार्फत तीजका गीतहरुको बिमोचन तथा सर्जकहरुलाई सम्मान कार्यक्रममा रचनाकार सर्जकहरुका पाचवटा तीजका गीतहरुको बिमोचन गरिएको थियो, जस मध्ये ओलीको ‘’योपालीको तीज जुममा हेरेर’ समेत परेको थियो।

कोरोना महामारीका कारण तनाव ब्यबस्थापनकालागि भर्चुअल प्रबिधि जुम मार्फत जुम चौतारी शुरु गरी परिवार भित्र लुकेर बसेका प्रतिभाहरुलाई बाहिर ल्याउन प्रोत्साहन गरेको र यहि माध्यमले डिसी मेट्रोमा बसोबास गर्नेहरु बीच भाईचारा स्थापना हुन गै एउटा परिवारका रुपमा बिकशित भएको व्यहोरा तीज महोत्सब २०२० का संयोजक सुनिल मणि दाहालले जानकारी गराउनु भयो।

यस परिवारबाट गत हप्ता गीतकार अम्बिका गुरुङ्ग, निलकण्ठ सुबेदी, कमला न्यौपाने, पुष्पा घिमिरे तथा रोजा ओलीका तीजका गीतहरु बिमोचन गरेको थियो। यसरी प्रवासमा बस्ने आफुहरुलाई एउटा परिवार भित्र राखी प्रोत्साहन गर्दै नेपाली मौलिक सस्कार र सस्कृति संरक्षण र प्रबर्द्धनकालागि सहभागी गीतकारहरुले डिसी मेट्रो परिवार प्रति हार्दिक आभार ब्यक्त गरेका थिए।

नेपालमा कोरोनाका कारणले समस्यामा परेका पत्रकारहरुको सहयोगार्थ नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) को बिश्वब्यापी महाअभियानमा सहयोगकालागि डिसी मेट्रो परिवारले ‘हाम्रो संयुक्त प्रयास’ अभियान अन्तर्गत तीजका दिन अगष्ट २१ मा जुम प्रबिधि मार्फत तीज मनाउने घोषणा गरी सकेको छ भने कार्यक्रम लाई भब्य मनाउन तयारी समेत गरेको छ ।