इटालीको जस्तो हालत बन्ला नेपालको पनि !

साउन २९, २०७७ काठमाडौं : सरकारले लकडाउन खुलाएको २० दिनमा १ लाख ४५ हजार ७ सय ४ जनाको पिसिआर परीक्षण गरिसकेकाे छ। हालसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पिसिआर परीक्षण भएकाे सरकाले बताएकाे छ।

लकडाउन खुलाएपछि संक्रमितको संख्या भने बढदै गएको छ। जति धेरै परीक्षण त्यति नै संक्रमित संख्या थपिँदै गएको हो।

२० दिनमै नयाँ संक्रमित ६ हजार ३ सय ३८ भेटिएका हुन्। यो समाचार तयार पार्दासम्म लकडाउन खुलेपछि निको हुने संक्रमित संख्या ४ हजार ४४ पुगेकाे छ। लकडाउन खुलेको २० औं दिन (बुधबार) ८ जना कोरोना संक्रमितकाे मृत्यु भएको सरकारले पुष्टि गरेको छ।

त्यसैगरी सबैभन्दा बढी पिसिआर परीक्षण १६ गते भएको थियो। १० हजार ७ सय ६८ जनाको परीक्षण गरेको हो। २ सय २४ जनामा कोरोना पुष्टि भएको थियो। सरकारले लकडाउन खुलेदेखि तीन दिन मात्र १० हजारभन्दा माथिको परीक्षण गरेको छ। तीन दिनमा ३१ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा १ हजार ३ सय ४६ मा कोरोना पुष्टि भएको थियो। १६ गते १० हजार ७ सय ६८, २७ गते १० हजार ४ सय ६२ र २८ गते १० हजार ४ सय ८१ जनाको परीक्षण गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० गते सबैभन्दा थोरै पिसीआर परीक्षण गरिएको थियो। उक्त दिन ३ हजार ३ सयको पिसिआर परीक्षण गरेको थियो। १ सय ३० जनामा कोरोना पुष्टि भएको थियो। सबैभन्दा बढी परीक्षण गरिएको आठ दिनअघि १ हजार ४ सय ५३ जनामा कोरोना पुष्टि भएको थियो। आठ दिनमा ३६ हजार ७ सय ६७ को परीक्षण गरिएको थियो। सरकारी तथ्यांकअनुसार जति धेरै परीक्षण गर्‍यो, त्यति नै संक्रमित संख्या बढदै जाने देखिएकाे छ।

लकडाउन खुलेपछि सरकारले पिसिआर परीक्षण संख्या पनि बढाएको छ। दैनिक ३ हजारमाथि पिसिआर परीक्षण गर्दै आएको हो। लकडाउन खुलेयता २० दिनमा ६ हजार ३ सय ३८ संक्रमित बढेका छन्। यसको एउटै मात्र कारण पिसिआर परीक्षणको दायर बढाउनु हो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार लकडाउन खुलेयता ४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

‘संक्रमितको सम्पर्कमा आएकाको परीक्षण हुँदैछ’ कोरोना पुष्टि भएका संक्रमितसँगको सम्पर्कमा आएका मानिसको परीक्षण पहिलो प्राथमिकतामा पर्ने सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले बताए।

पिसिआर परीक्षण दर बढाउन थालिएको र अहिले गरिएको परीक्षण सबै संक्रमितको सम्पर्कमा आएका तथा कोरोना आशंका लागेका मानिसको कोरोना परीक्षण गरिएको उनले बताए। प्रवक्ता गुरागाईंले भने, ‘भारत र क्वारेन्टाइनमा बसेका मानिसको परीक्षण गरिएको छ। संक्रमण आशंका भएकालाई विशेष प्राथमिकता दिएर परीक्षण गरिएको हो।’

दैनिकजसो पिसिआर परीक्षण बढाउन थालिएको उनी सुनाउँछन्। परीक्षणको दायरामा रहेका सबै मानिसलाई परीक्षण गरिने उनको भनाइ छ। संक्रमित बढेसँगै परीक्षण दायरा बढाइयो चैत ११ देखि लगाइएकाे लकडाउन १ सय २० दिनपछि साउन ६ गते खुलाइयाे।

तर संक्रमण राेकिने दर घटेन। सँगै सरकारले पिसिआर परीक्षणको दायरा पनि बढाउँदै लगिएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्। डा. पाण्डे भन्छन्, ‘परीक्षण दायरा बढाउँदै लगिन्छ। अहिले गरिएको परीक्षण भनेको संक्रमित बढेर गरिएको हो।’ जहाँ-जहाँ संक्रमितको आशंका गरिएको छ त्यहाँ मात्र परीक्षण गरिएको उनले बताए। – लालिगुराश