शान्ति समाजले भन्याे: प्रधानमन्त्रीको अभिव्यक्ति अति विवादास्पद

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामायणकालीन अयोध्या र रामका बारेमा दिएको अभिव्यक्ति अति विवादास्पद एवं आपत्तिजनक रहेको विज्ञप्तिमार्फत जनाएकाे छ।

समाजद्वारा जारी विज्ञप्तिमा नेपालमा सरकार, राजनीतिक समाज, नागरिक समाज कसैले पनि नउठाएको र कतै नसुनिएको विषयलाई प्रधानमन्त्री पदमा आसिन व्यक्तिले लहडका भरमा धारणा राखेको उल्लेख छ।’ शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले संयम गुमाएको प्रतित हुँदा ओलीको प्रधानमन्त्री पदमा निरन्तरता कति उचित ? भनी प्रश्न समेत उठाएको छ ।

प्रधानमन्त्रीको धारणाले भारततर्फका करोडौं मानिसहरुको आस्था र विश्वासमा चोट पुग्न सक्ने र यसैका कारण नेपालीले लज्जित हुनुपर्ने अवस्था पैदा भएको पनि शान्ति समाजको भनाइ छ ।

‘यसबारे सम्बन्धित निकाय विशेषतः सत्तारुढ नेकपा र यसको संसदीय दल/संसदले बेला छँदै लोकतान्त्रिक तवरले छलफल गरी निष्कर्षमा पुग्नु आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ’ सभापति उत्तम पुडासैनीले भनेका छन् ।