ठगीको आरोपमा दुई नेपाली सिड्नीमा पक्राउ, भारतीय अपराधीको चंगुलमा परेको आशंका

एक ८५ वर्षीय महिलालाई ठगी गरेको आरोपमा सिड्नीमा दुई नेपाली पक्राउ परेका छन् । निजहरुलाई ईन्टरनेट र फोन मार्फत ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहलाई सघाएको सहित ८ अभियोग लगाइएको छ । पक्राउ परका दुबैजनालाई ग्रानभीलस्थित स्टेशनमा राखी अनुसन्धान अगाडि बढाइएको छ । उनीहरुलाई आज स्थानीय पारामाट्टा अदालतमा पेश गरिएकोमा उनीहरुको जमानत अस्वीकार गरिएको छ । प्रहरीले अनुसन्धान जारी भएका कारण पक्राउ परेका व्यक्तिहरुको विवरण नदिएपनि उनीहरु २२ वर्षीय नेपालीमूलकी युवती र १९ वर्षीय नेपालीमूलको युवा भएको जनाएको छ ।

यस्तो छ घटनाक्रम
न्यूसाउथवेल्स प्रहरीका अनुसार गएको १९ जुनमा ८५ वर्षीय एक महिलाले आफुलाई शंकास्पद फोन कल आएको बताएकी थिइन् । उनलाई बैंकको खाता बन्द भएको कारण नयाँ खाता खोल्नुपर्ने र त्यसमा जम्मा गर्नका लागि ३ हजार डलर तयारी अवस्थामा राख्न भनिएको थियो । यस्तो रकम कुरियरमा काम गर्नेमार्फत आफुहरुले उनको नयाँ खातामा जम्मा गरिदिने पनि फोनकर्ताले बताएको थियो । यसपछि फेरि निजहरुले नै बैंकबाट फोन गरेको भन्दै नयाँ खाताका लागि थप ५ हजार डलर दिन भनिएको थियो । यो रकम लिनका लागि २२ जुनमा कुरियरका व्यक्तिहरु उनको घरमा आउने बताएका ठगहरुको पैसा संकलन गर्नका लागि यी नेपाली युवा पुगेका थिए ।

रकम लिनका लागि २२ जुनमा कुरियरका व्यक्तिहरु उनको घरमा आउने बताएका ठगहरुको पैसा संकलन गर्नका लागि यी नेपाली युवा पुगेका थिए ।

सोमबार २२ जुन अपरान्ह ४ः३० बजे निज महिलाको टेलोपीस्थित घरमा पुग्दा उनीहरु पक्राउ परेका हुन् ।
अनुसन्धानका क्रममा भारतमा रही ईन्टरनेट र फोन मार्फत ठगी गर्ने र यस्तो रकम विभिन्न व्यक्तिहरुलाई काममा लगाई मनी ट्रान्सफर या हुन्डी मार्फत भारतमा लैजाने गिरोह खुलेको छ । पक्राउ परेका नेपाली युवाहरु कुरियर काम मात्रै गर्नेहरु हुन् अथवा यो सम्पूर्ण ठगीमै जानीजानी संलग्न व्यक्तिहरु हुन् भन्ने विषय अनुसन्धानमा छ । पक्राउ परेका दुबै नेपालीहरुलाई छलकपट गरी सम्पत्ति आर्जन गर्न खोजेको तीन अभियोग र जानीजानी अपराधीहरुसँग कारोबार गरेको ३ गरी ८ अभियोग लगाइएको छ ।
न्यूसाउथवेल्स प्रहरीले यो वा यस्तै घटनाका विषयमा कुनै जानकारी भए क्राईम स्टपर्सको नम्बर १८००३३३००० मा सम्पर्क गर्न आग्रह गरेको छ । -My Nepal TV Australia