पोखरामा बिमानस्थलको काम लकडाउनमा पनि यसरी भईरहेको छ, कति काम सकियो ? विमानस्थल कस्तो बन्यो हेर्नुहोस

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भने यो विषम परिस्थितिमा पनि जारी नै छ ।
पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलमा अहिले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानदिँदै आवश्यक सम्पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी जोखिम रोकथामसहित काम अघि बढाइएको हो ।

नेपाल सरकारले देशव्यापी आह्वान गरेको हालको बन्दाबन्दीका अवस्थामा समेत विमानस्थलको निर्माणमा १०० नेपाली र २५० चिनियाँ गरी ३५० जना कामदार दैनिक काममा खटिएका छन् । अहिलेसम्म विमानस्थलको ६० प्रतिशत निर्माण कार्य सकिएको जनाइएको छ ।