संसारकै ठूलो गोर्खाली महिलाले शुरु गरिन् ‘कोरोना-राहत अभियान’

नेपालको गोर्खा जिल्लामा एक महिलाले आफ्नो घर भाडामा लिई ब्यबसाय गर्दै आएका एक स्थानीय केक उद्योगलाई दुई महिनाको घरभाडा मिनाहा गर्ने सार्बजनिक घोषणा गरेकी छिन्। ग्रामिण उद्योगलाई प्रत्यक्ष राहत गर्ने यस किसिमको उदाहरणीय कार्यको मोडेललाई सबै घरधनीहरुले अनुकरण गरे, विश्वका मान्छेहरुले नै अहिलेको संकटकालीन अबस्थामा प्रत्यक्ष राहत महसूस गर्न सक्ने चर्चा सर्बत्र चल्न थालेको समाचार छ।

बारपाक-सुलिकोट गाउँपालिका वडा नं. ४ की पार्बती ढकालले सौरपानी बजार स्थित आफ्नो घरमा केक उद्योग राख्ने स्थानीय ग्रामीण ब्यबसायीलाई पूरै दुई महिनाको घरभाडा मिनाहा गरेको घोषणा गरेकी छिन्। उनले भनिन् – “आफ्नै आँखा अगाडी उनीहरुको ब्यबसाय ठप्प बन्द भएको देखेकी छु, उनीहरु आफैं बेरोजगार भएर संकटमा बाँचिरहेका छन्, अनि कुन मुखले पैसा माग्नु?”

उनले थपिन् – “यही मौकामा सबै मान्छेहरुको आ-आफ्नो मन भित्रको बास्तबिक दया र धर्म भन्ने चीज बास्तबिक रुपले नै ब्यबहारमा देखाउने बेला आएको छ। मानबता भन्ने कुरा मन भित्रैदेखि जाग्नु पर्छ, अन्यथा मान्छे भएर जन्मनुको कुनै औचित्य नै छैन। आ, पछि जे भएनि होस्, म त यो बेलामा कसैसंग पनि घरभाडा लिन्न।”

सौरपानी एम्बुलेन्स संचालक समितिकी अध्यक्ष समेत रहेकी, दयालु मनकी धनी स्थानीय समाजसेवी घरधनी पार्वतीको यो भनाई र ब्यबहारिक रुपकै गराईले यतिबेला बेरोजगारीको चपेटामा परेका सबै भाडामा बस्ने मानिसहरुको मनमा एक किसिमको आशाको किरण छरिदिएको छ। विश्वका सबै घरधनीहरुले आफ्नो घरको भाडामा बस्ने मान्छेहरुलाई यस्तै राहतको घोषणा गरिदिए संसारमै एक किसिमको खुशियाली छाउने थियो।

एकैक्षण गम्भीर भएर सोचौं त, संसारभरका सबै घरधनीहरुको पनि गोर्खाली चेली पार्वतीकै जस्तो मन भैदिए एकै दिनमा यो संसार कस्तो सुन्दर हुन्थ्यो होला? अनि संसारका बेरोजगारहरुलाई कति राहत मिल्थ्यो होला, बयान गरेर साध्यै छैन।

कोरोनाको मारले विश्वभरमा नै आर्थिक मन्दी आईरहेको यो बेला, पार्वतीको यो साहसी कदमले नेपाल तथा विश्वका सबै घरधनीहरुलाई नै एक किसिमको सकारात्मक संदेश दिएको छ। साना उद्योग ब्यबसायीहरु तथा बेरोजगारहरुको मर्मलाई बुझ्दै सबैले यो बेला यस्तै खालको ब्यबहार गरे, सबैमा विश्व बन्धुत्व अनि भाईचारा सम्बन्धको बिकास मात्रै नभई धनी-गरीब बिचको निकटता र एकता पनि सजिलै हुने थियो। तर के विश्वभरका सबै लोभी मान्छेहरुको दिमागले यस्तो कुरो सिधै पचाउन सक्ला त?

कोरोना भाईरसको संक्रमण जोखिमले गर्दा यतिबेला देश नै ठप्प छ। संक्रमण रोकथामकालागि लकडाउन गरिएको छ। कोठामा बस्न वा ब्यबसाय गर्न घर भाडामा बसेका सबै नागरिकहरु यतिबेला कोरोनाको प्रत्यक्ष मारमा परेका छन्। देश विदेश सबै ठप्प हुँदा सबैतिर रोजगार पनि खोसिएको छ। यस्तो बेला कोठा भाडामा लिएर बस्नेहरुलाई भाडा कसरी तिर्ने भन्ने ठूलो चिन्ता छ। यो चिन्ताका बीच धेरैको पारिबारिक सम्बन्ध र घरबार पनि बिग्रिएको छ। कतिले आत्म हत्या समेत गरिसकेका छन्। यस्तो अबस्थामा पार्वती जस्ती नारीको दयालु कदमले समाजका मान्छेहरुमा एक किसिमको बाच्ने र बचाउने आशा जगाएको छ।

“आफू एकदमै हुनेखाने धनी भएको कारणले यस्तो घोषणा गरेकी होइन। म आफैं पनि निकै दु:ख पाउँदै, ग्रामीण बस्तीमा संघर्षशील जीबन बिताउँदै जिईरहेकी शोषित-पीडित महिला हुँ।” त्यसैले आफू जस्तै अरुको पीरमर्का सजिलै बुज्छु।” – दुई छोरीहरुकी आमा समेत रहेकी पार्वतीले थपिन्। गोरखाको बारपाक सुलिकोट ४ सौरपानीकी स्थानीय पार्वती ढकालले २ महिनाको घरभाडा मिनाहा गरिदिएको खबरले अहिले देश-विदेश सर्बत्र चर्चा पाएको छ।

सौरपानी एम्बुलेन्सकी सकृय अभियन्ता समेत रहेकी पार्वती ढकालले सौरपानी बजार स्थित आफ्नो घर भाडामा लिएर सञ्चालन भएको स्थानीय बेकरी उद्योगलाई २० हजार हिसाबको २ महिनाको घरभाडा, ब्यबसायीले अनुरोध नै नगरिकन आफ्नै तर्फबाट, छुट गरिदिएकी हुन्। लकडाउनका कारण जम्मै व्यापार व्यवसायहरु ठप्प रहेकाले आफूले भाडा नलिने निधो गरेको उनको भनाई छ।

“मेरो घरको ४ वटा कोठा भाडामा लिएर उहाँहरुले बेकरी पसल गर्दै आउनु भएको थियो। कोरोना भाइरसका कारण उहाँहरुको पसल बन्द भईरहेको देखीरहेकी छु।” ढकालले भनिन्: “व्यापार नभएर भाडा तिर्न गार्हो भएको मैले थाहा पाएँ, अनि आफैंले भनेर भाडा मिनाहा गरिदिएँको हुँ।” सोच्दै नसोचेको कुरा घरबेटीले नै यसरी भाडा तिनु नपर्ने घोषणा गरेपछि ती ब्यबसायीहरुमा एक्कासी खुशीको सीमा छैन। पार्वतीको घरभाडा मिनाहाको स्वघोषणाले स्थानीय बजारको व्यापार ब्यबसायमा मात्रै नभई सर्बत्र देशभरका साना उद्योगहरुलाई नै क्रमश: आशाको तरङ्ग पैदा भईरहेको खबर छ।

पार्वती ढकालको यस अनुकरणीय मोडेलबाट अरु घरबेटीहरु पनि प्रेरित हुने हो र सबैले त्यसै गर्ने हो भने, बन्दाबन्दी (लकडाउन)को प्रत्यक्ष मारमा परेका सबै व्यक्तिहरु, उद्योगीहरु, व्यवासायीहरु सबैलाई धेरै नै राहत हुने देखिन्छ।

मनकी धनी पार्वती ढकाल अरु सामाजिक कामहरुमा पनि अग्रसर छिन्। उनी बारपाक सुलिकोट-४, सौरपानीकी नेकपा वडा कमिटीकी सचेतक सदस्य समेत हुन्। सबै घरधनीहरुको मन पार्वतीकै जस्तो भैदिए यो संसारमा आनन्दमय खुशीयाली छाउने निश्चित छ।

श्रोत: स्थानीय कृषी पत्रकार मिलन ढकाल/ गोरखा।