चितुवा , बांदर र गर्जन :

अनुराधा पौडेल

झप्को लगाउनासाथ दिमागले एक त्रासदिमय क्षणको संझना गराईदियो र म तर्सेर उठेँ । पानी पिएर शान्त नहुन्जेल निदाउन सकिन । कुरो ठीक ३७/३८ बर्ष पहिलेको । म १० बर्षकी थिँए । (नलेखिएका यस्ता कथा धेरै छन् ।) म र आमा गाउँ (खर्क भन्छौँ) गएका थियौँ । मंसिरको बिहान थियो पानी परेपछि शान्त भएको र कलकलाउदो घाम लागेको ।तर पनि खर्क जाने उकालोका सिढींका छपनीहरु लेउले ढाकिएका थिए । खर्कमा युगौँ देखिका छिमेकी बुबा आमाहरुले हाम्रो जग्गामा खेती गर्नुहुन्थ्यो र त्यो बापत हाम्रो भागमा दुई चार डोको मकै पर्थ्यो । आमा गर्भवती भएकोले त्यो बर्ष बेलैमा मकै घर भित्र्याईएको थिएन । सुत्केरी उम्किवरी मकै लिन जानु पर्ने थियो ।

आमाले बडेमानको खाँग्रे डोको बोक्नुभयो मलाई सानो डोकोमा भाई बोकाईदिनुभयो । कलिलो भाईले आमाको दुध तान्थ्यो । खर्क पुगिवरी हामीहरु कतै तर्पे परेको चिप्लो गोरेटो र कतै लेउ लागेका ढुंगालाई छेउ कुना चेपेर बिस्तारै झर्न थाल्यौँ । आमाको खाँग्रे डोकोमा मकैको घोकाको चुली थियो । दायाँ बायाँ खाँग्रे माथि घोचा थपेर बनाईएको सानो हिम चुली । आमा बहुतै गह्रुगा भारी बोक्नुहुन्थ्यो ताकी दुई खेप गर्न नपरोस् ।हाम्रो गाउं जाने बाटोमा घना जंगल छ (उ बेला अझ थियो) साल र चिलौने मिसिएको । यो बाटोमा दुई ठाम छ बहुतै डरलाग्दो । एउटा माझ चौतारो पुग्ने घुम्ति जहाँबाट खस्यो भने मर्यो भन्ने जाने हुन्छ । अर्को छ त्यहि मुनिको ठाडो गौँडो जहाँ सिढी पनि छैन ।

गौँडो मुनि अर्को गोरेटो जोडिन्छ पल्लो गाउँ जाने (झ्यामिरे )। एकापट्टी पर्छ अँधेरी खोल्सो, अनकन्टार घाम देखिन मुस्किल, हाम्रो गाउंको वर्तमानको खाने पानीको मुहान । अर्को तिर पर्छ लोहसे पाखो र खोल्सो, उ बेलाको खाने पानी मुहान ! हामीहरु बिस्तारै झर्यौँ । भाई बोक्ने म अगाडी । भारी बोक्ने आमा पछाडि । हामीले बांदर र लगुरे देख्नु कुनै नया थिएन । जंगलका छेउको बस्ती भएकोले । हामीले चितुवा देख्नु पनि कुनै नया थिएन । त्यो दिन भने लगुर र बांदर सालका रुखहरुमा बसेर चिच्याईरहेका थिए । केहि नया हलचलको आभास भयो हामीलाई ।आमाले भाई उठ्छ कि भनेर भाईलाई सल उघारेर हेर्नुभयो । उ डोको माथिको टाँडमा मस्त निदाईरहेको थियो । त्यसपछि भने आमा अगाडी झर्न थाल्नुभयो ।म पछि पछि । अँधेरी खोलो जानो गोरेटो माथिको गौँडो उन्यू, अरेली र बुट्यानले छेल पारेको थियो । माथिबाट अगाडीको दृष्य देखिदैनथ्यो ।

गौँडो झर्नासाथ हामीले बाँदरहरु र चितुवाको युद्द देख्यौँ । रिसले राँकिएको एउटा चितुवा गर्जेर सालको लुरे रुख चढ्दै झर्दै गर्थ्यो । बाँदरहरु पनि सालका पथारा तथा रुख झर्न खोज्दै उक्लदै गर्थे । लगुर पनि हाउ हाउ गरिरहेका थिए। त्यहाँ उग्र चिच्याहट थियो । चितुवाले न बाँदरको बच्चा समातेको थियो कि त्यो चाहि मैले देखिन । न त्यहा पोथी चितुवाका अरु डमरु थिएकी त्यो पनि थाह छैन । चितुवा देखेर बाँदर डराएको या बांदर देखेर चितुवा डराईरहेका थिए कि त्यो पनि थाह भएन । चितुवा हामीतिर पनि फर्केर गर्ज्यो ।

झाडीले छोपेको यो दृश्य एकाएक सामुन्ने आईपुग्दा आमा लल्ल्याक लुलुक्कै डोकै सहित थचक्कै पर्नुभयो । दिमागले डोकोमा भाई छ है डोको नफाल भनेकोले म लगलग काँपें र आवाजविहीन भएर उभिराखेँ । स्वास फेर्न गाह्रो भयो । निकै गाह्रो । आमा एकछिनमा जाग्नुभयो । चितुवा र बाँदरतिर फर्केर लहै लहै गर्दै ढुगा हान्न थाल्नुभयो । चितुवा भागेको हामीले देख्यौ र बाँदर तल तिर झरेको पनि । अनि आमाले म तिर हेर्नुभयो र डोकोको भाई पनि हेर्नुभयो । भाई यो बेला भने रोईरहेको थियो । आमाले आँसु भरिएका आँखा र लगलग काँपेको स्वरले ’ल ल डोको बोकिरा रैछेस् ठीक गरिस् ‘ भन्नुभयो ।

भाई रोएपनि आमाले बेसी छिटो झर्ने निर्णय लिनुभयो र हामीहरु पुन झर्यौँ तर उहि लखेटेको चितुवाले हामीलाई बाटो छेक्छ कि भन्ने त्रास लिएर । बाटोमा कयौँ पटक आमालाई मैले आमा अब बाघले ( चितुवालाई बाघ भनिन्थ्यो गाउंमा उ बेला) हामीलाई छेक्कारे हान्छ कि हान्दैन भनेर सोधिराखेँ । आमाले मलाई हैन अब पनि कति सोध्छेस् भनेर हप्काउनु भयो । घर आएपछि मलाई लागेको थियो आमाले यो कुरा हजुरबुबा र बुबालाई भन्नुहुनेछ तर किन हो भन्नुभएन । यत्रो घटना आमाले किन पचाउनुभयो ? के आमाहरुको दुखको कुनै मूल्य थिएन ? उत्तर नपाएको यो प्रश्नले आज पनि चिमोट्छ । त्यहि मनमा थन्केको त्यो उकुस मुकुस आज पनि छाँया छवी बनेर बेला बेलामा आंखामा ठेक्किन आईपुग्छ ।

आमा मरेर बांचेका हामीहरु ! मरेर बाँचेकी तिमी ! जोगिएको प्यारो भाई हेर त कहिले रुखबाट खगारियौ कहिले औलाहरु काट्यौ कहिले तिमी भन्दा गरुगा भारीहरुले थिचियौ कहिले हामीलाई बढाउने पढाउने अभिलाषाले आँखाका आंशु पुछेर हिम्मत दियौ कयौँ भन्न नमिल्ने त्रासदीहरु झेल्यौ शब्द बिनाका कथाहरु लेख्यौ तिम्रो जीवन कथाले भरिएको छ तिम्रो जीवन कविताले सृगारिएको छ तिम्रो जीवन उपन्यासका पानाहरु हुन् । तिमी सबै भूमिकामा थियौ मैले त तिम्रो दुखको एक छेउ मात्र महसुस गर्छु मेरी आमा तिमी सबै कुराकी बिम्ब हौ !
(लेखक अनुराधा पौडेल हुनुहुन्छ उहाको फेसबुक बाट साभार गरिएको सामाग्री)