यसरी नियन्त्रण गरौँ कोरोना संक्रमण : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे,

आज ५७ + २६ = २१७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएसंगै नेपालमा २१७ जनामा संक्रमण देखिएको छ | ३३ जना निको भएर घर फर्किएका छन् | हालसम्म नेपालमा १८४ जना संक्रमित रहेका छन् | झट्ट हेर्दा एक दिनमा८३ जना थपिए पनि चिन्तित हुनुपर्ने अवस्था छैन |

– बिगत ६ दिन यता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति हुन् | उनीहरु नेपाल आएपछि क्वारेन्टाइनमार्फत परिक्षणमा गएका हुन् | यदि उनीहरु नेपालमै बसेका संक्रमित भएको भए समुदायमा फैलिएको डर हुन्थ्यो | उतै संक्रमित भएर आएको हुनाले यता धेरै जनालाई सार्न पाएका छैनन् | यद्यपी यो संख्या अझ बढ्नेछ |

– नेपाल र भारतबीच प्रधानमन्त्री स्तरमा उताका नेपालीलाई भारतले क्वारेन्टाइन / परिक्षण / उपचार गर्ने अनि यताका इन्डियनलाई नेपालले क्वारेन्टाइन / परिक्षण / उपचार गर्ने सहमति भएको कुरा मेडियामा आएको थियो | नेपालले भारतीयलाई यहीं परिक्षण तथा उपचार गरेको छ, उता जान दिएको छैन | तर भारतबाट संक्रमित नेपालीलाई नेपाल आउन दिएकोप्रति यथेष्ट ध्यानाकर्षण हुनु जरुरी छ |

– नेपालले आफ्ना सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मीसंग संयुक्त गस्ती गर्ने / ठाउँ ठाउँमा CCTV राख्ने तथा सुरक्षाको अर्को तह थप्नु जरुरी देखियो |

– अझै पनि नेपाल आन्तरिक रुपमा सुदृढ छ | लकडाउनको ब्यबस्थापन गर्ने हो भने अझै पनि डर मान्नुपर्ने अवस्था छैन | तर बिगत १० दिन यता जसरी संक्रमित क्षेत्रबाट मान्छेको आवात भएको छ, यसलाई उतैबाट नरोक्ने हो भने सहरी क्षेत्रमा संक्रमण फैलिने खतरा हुन्छ | सहरी क्षेत्रमा संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुन्छ | तसर्थ सरकारले संक्रमित क्षेत्रबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्नुपर्दछ |

– लकडाउनलाई परिणाममुखी बनाउन बिभिन्न चरण अपनाउनु पर्ने हुन्छ | मान्छेको भीडभाड कम गर्ने उपायहरु अपनाउनु पर्दछ | मजदुरलाई आबासीय रुपमा काममा लगाउनुपर्छ | परिक्षणको दायरा ब्यापक रुपमा बढाउनु पर्छ | बिज्ञहरुको टास्क फोर्स बनाउनु पर्छ |

– कोरोना संक्रमण नियन्त्रणको माइको म्यानेजमेन्ट हुन सकेको छैन | विपदको बेलामा सम्पूर्ण जनता, सरकार, पार्टी तथा मेडिया एकजुट भएर काम गर्नुको बिकल्प छैन | सबैका दृष्टिकोणलाई मानव जीवनको रक्षार्थ सदुपयोग गर्नु पर्दछ |

– हामी नागरिक बिना काम घर बाहिर निस्कने नगरौं | घरबाहिर जाँदा अनिबार्य रुपमा मास्क, चस्मा, पंजा तथा आउटर लगाउने गरौँ | साबुनपानीले पटकपटक हात धुने गरौँ | न्युनतम २ मिटरको व्यक्तिगत दुरी कायम गरौँ |

– नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन | एक जनालाई पनि आइसीयुमा राख्नुपरेको छैन | एक जनालाई पनि भेन्टिलेटरमा राख्नु परेको छैन | कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन | तसर्थ डर नमानौं, सतर्क बनौं | बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)