बढी भयो कोरोनाको “कहर” भन्दा जातिय बिभेदको “जहर”

यो बेला मलाई पटक्कै कुरा गर्न मन थिएन जातीयता कुरा , सानो र ठुलो जातको कुरा । बिश्व मानव समाज र इतिहासलाई चुनौती दिदै फैलिएको कोरोना भाइरस ( covid -19) ले बिश्वलाई आतंकित , त्रसित मात्र गराएको छैन भयानक मृत्यु बनी आएको छ र कोरोनाले बिश्वभरी छरिएर रहेका नेपालीलाई पनि छोडेको छैन । नेपालमा पनि दुई महिना हुन लाग्यो लकडाउन जारी गर्दै सामाजिक दुरि कायम गरि बसेका नेपालीहरुको पीडा । कोरोनाको कहर एउटा डरलाग्दो मृत्यु मात्र बनेको छैन एउटा मान्छेले अर्को मान्छेलाई छुन डराउनु पर्ने, छुन नहुने , मानिसहरु देख्दा दुई मिटर परबाट बाटो छोडी हिड्नु पर्ने , बाहिर काम , पसल गएर घर एउटा परिवारको सदस्य आउदा पहिला बाथरुम गएर नुहाएर चोखिनु पर्ने, उसले छोएका झ्याल , ढोका सेनिटाइजर पुछ्नु पर्ने । अनि जब कोरोना लाग्छ नि पोजेटिभ रिजल्ट आउँछ नि तब उसलाई छुट्टै क्वारेन्टाइनमा राख्ने अलग्गै खाना दिने, उसंग छोइनेको कुरा त के उसले प्रयोग गरेका कुनै सामान पनि प्रयोग नगर्ने …./

यो बेला कस्तो बित्छ होला उसको मनमा कस्तो भावना र बिचार आउँछ होला आफू यसरी एक्लिदा र परिवार र अरुले आफू माथी यस्तो व्यबहार गर्दा ? यो महसुस अहिले बिश्वले गरेको छ । नेपालमा सारा नेपालीले गरेका छन् सामाजिक दुरि अहिलेको कोरोनाको मुख्य औसधि बनेको छ । आज म कोरोनाको कहरको कुरा गर्दै छु । प्रकृतीले गरेको यो बिभेद कसैलाई पनि तलमाथि गरेको छैन कोरोनाको कहर सारा नेपालीले भोग्नु परेको छ । मलाई त लाग्थ्यो कोरोनाको कहरले उच्चजात भन्नेहरुको दिमागको बिर्को फुक्यो । अब जानेबुझेर कसैमाथि पनि यस्तो सामाजिक दुरी राख्दै सानोजात भनी विभेद गर्न हुदोरहेछ भनी कोरोनाको कहरको पिडाले पछुताएर बुझे होलान् भन्ने थियोे । अहिले कोरोनाले क्वारेन्टाइन र सामाजिक दुरी कायम गरी मान्छे देख्दा २ महिना तर्सिदा कस्तो बितेको छ ?

आज नेपालको एक चौंथाइ जनसंख्या ओगटेको दलित समुदाय जन्मेदेखी ठुलाजातले बनाइदिएको क्वारेन्टाइन र आइसुलेसनमा बस्न र बाँच्न बिबस छ । श्रमजीवी दलित समुदायलाई देख्दा साइत पर्दैन र छुँदा अछुत हुन्छ भनी यसरी नै टाढा भागेका छन् । दलितले छोएका मन्दिर चोख्याउने देखि मन्दिर प्रवेश गर्न नदिने भनी रोक लगाउने चलनको अन्त्य अझैं भएको छैन । विभेद त सधैं थियोे तर जिवित हुँदा त बिभेद गरे तर मरे पछि कृया गर्न सार्बजनिक भवनमा बिभेद मसानघाटमा बिभेद , क्वारेन्टाइनमा जातीय बिभेद , लकडाउनमा छुवाछूतका घटना घट्दा लाग्यो कोरोनाको कहर भन्दा पनि अझै भयङ्कर ठूलो छुवाछूतको जहर नै बनेछ । कहिले पनि नसुधर्ने गरी जहर नै भरिएको रहेछ छुवाछूत र बिभेद गर्नेका मानसिकता ।

जब आफू एउटा अछुत बनि सामाजिक दुरी कायम गरी बस्दाको पीडा सदियौं देखि भोग्दै आएका दलित समुदायको ब्यथालाइ बुझ्न र महसुस गर्न नसक्ने तिमीहरुको मस्तिष्कलाई मान्नै पर्छ। अझै पनि समय छ हिजो एउटा सिमित समुदायलाई अछुत बनाएको थियोे भने आज सारा दुनियाँलाई अछुत बनाएको छ ।

तिम्रो बानी सुधार , तिम्रो सोच बदल । मान्छे – मान्छे एउटै हो प्रकृतीले सबैलाई सामान व्यबहार र एउटै नजरले हेर्छ ।

कोहोराको कहरको भन्दा जातीय बिभेदलाई जहर मान्नेहरु अझै समय छ तिम्रो सोच बदल ।

( सरु सुनार )