कोरोना प्रतिरोधको सात ‘स’ सूत्र

कोरोनासँग लड्न सात स अर्थात सचेतना, सतर्कता, संवेदनशीलता, संयमता, सद्भाव, सहायोग र सहकार्यको खाँचो छ ।

कोरोना संक्रमणको ग्राफ दिनानुदिन ज्यामितीय हिसाबले उकालो लागेको छ । अहिले कोरोनाको संक्रमण विश्वका धनी र साधनस्रोत सम्पन्न देशहरूमा फैलिएको छ । विपन्न र विकासोन्मुख देशमा अहिले सम्म खासै असर नदेखिनुमा रोगको परीक्षण सुबिधा र प्रक्रियामा प्रभावकारिता नहुनु वा यात्रु प्रवाहमा कमी भएको हुनसक्छ । तर यस्ता देशहरूमा भाईरस प्रवेश गरेमा निश्चयनै महामारीकोरूप नलेना भन्न सकिन्न ।

आर्थिक र प्राविधिकरूपले अत्यन्त सबल राष्ट्र चीनलाई समेत कोरोना भाइरसको सामना गर्न हम्मे हम्मे परेको जगजाहेर नै छ । तर अहिले कोरोना संक्रमणलाई नियन्त्रण गरेर विश्वलाई तत्कालको लागि उपचारको औषधि नभए पनि रोकथाम गर्न सकिन्छ भन्ने पाठ चीनले सिकाएको छ । पछिल्ला समयमा बेलैमा सावधानी अपनाएर दक्षिण कोरिया, जापान, सिंगापुर आदी देशले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सक्षम भएका छन् । तर इटाली, स्पेन, अमेरिका, इरान, ब्रीटेनले हेलचक्र्याइ गर्नाले अहिले दिनप्रति दिन ठूलो मानव मूल्य चुकाउँदै छन् ।

आफूलाई विश्वको शक्तिशाली भन्ने देशका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हेपेर कोरोना भाइरसलाई चाइनिज भाइरसको संज्ञा दिएर ठूलो विवादमा आएका थिए । जसका कारण अमेरिकामा बसोवास गर्ने चीनियमूलका नागरिक माथि कतिपय ठाउँमा दूरव्यवहार समेत भएको थियो । तर, पछी लाचार भएर कोरोना विरुद्धको लडाईमा चीन सँगै सहकार्य गर्न ट्रम्प विवश भएका छन् । यस महामारी फैलाउने भाइरसले धनी, गरीब, ठूलो सानो, जातजाती, लिंग, भौगोलिक विभिन्नता कुनै लाई पनि विभेद नगरी आक्रमण गरिराखेको छ । विश्व महामारीको रूपमा सल्किएको अदृश्य शत्रु कोरोनासँग लड्न सरकार, सरोकार तथा मानव समुदाय वा देशहरूबीच सचेतना, सतर्कता, संवेदनशिलता, संयमता, सद्भाव, सहायोग र सहकार्य (७ स)को खाँचो टड्कारो देखिन्छ ।

बुद्धिमान देखेर र मूर्ख परेर चेत्छ भने झैं हामीले पनि अरुको अवस्थाबाट सिकेर बेलैमा कोरोना विरुद्धको मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न चुक्नु हुंदैन् । विश्वका कतिपय देशहरूले कोरोना संक्रमणलाई गम्भिरतापूर्वक लिएर लकडाउन गर्ने लहर नै चलेको छ । मनिसको जमघटहुने राष्ट्रिय अन्तर्राष्ट्रिय सभा,समारोह, सम्मेलन,पर्व उत्सव स्थगित गरिएका समाचारहरू एकपछी अर्को आइराखेका छन् । कोरोनाको संक्रमणको डरले साउदी अरबले विदेशी मुस्लिमलाई पवित्र तीर्थस्थल मक्का र मदिनाको तीर्थयात्रामा रोक लगाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाका विद्यालयहरू केही समयका लागि बन्द गर्ने संकेत गरेका छन् ।

मौजुुदा परिस्थतीमा सुधार नआएर जोखिम कायमै रहेमा साउदी अरबमा मूसलमानहरूको पवित्र तीर्थाटन हज र जूलाइमा जापानको टोकियोमा हुने ओलम्पिक खेल समेत एक वर्षका लागि स्थगित गरिएको छ । सुरुमा नेपाललाई कोरोनामुक्त देश घोषणा गरेर पर्यटकहरूलाई नेपाल भ्रमणमा आउन पर्यटन मन्त्रालयले आव्हान गरेर अदूरदर्शी र अपरिपक्वता देखाएको थियो । यस उरन्ठेउलो निर्णयको सर्वत्र आलोचना भएपछी सरकारले नेपाल भ्रमण वर्ष २०२०लाई स्थगित गरेको छ । अहिले देशमा लकडाउन चलेको छ । साथै सभा सम्मेलन लगायतका भीडभाडजन्य कार्यक्रम नगर्न नगराउन सरकारले अपील गरेको छ । सरकारी निकाय बाट आदेश, निर्देश र अपीलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्ने छैन् । कोरोना विरुद्धको भाषण र आश्वासन भन्दा एक्सन अहिलेको आवश्यकता हो ।

बर्तमानमा कोरोनाको उपचार असम्भव भएपनि रोकथाम सम्भव छ । अहिले सम्मको अध्ययन र अनुभवबाट कोरोना संक्रमित मध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिएता पनि यसको निश्चित उपचार विधि पत्ता लागिसकेको छैन् । यसको उपचार भन्दा पनि रोकथामका उपायहरू प्रभावकारीरूपमा अबलम्बन गर्नुको विकल्प छैन् । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरू बारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मनिसले आफ्नो बानी व्यहोरा र आहार विहार स्वस्थकर बनाएमा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात गर्ने तर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ ।

कोरोना प्रतिरोधका लागि सरकारले कोरोना संक्रमण पूर्व र संक्रमण पश्चात गरिनुपर्ने कार्ययोजनाको मार्गचित्र नै बनाएर प्रतिरोधमा उत्रिन बिलम्ब गरिनुहुन्न् । नेपालीहरू वैदेशिक रोजगारीमा गएका देशहरूमा कोरोना फैलिएमा त्यसको प्रत्यक्ष असर नेपालले व्यहोर्नु पर्ने हुन्छ । चीनबाट उद्दार गरे जस्तै अन्य देशहरू दक्षिण कोरिया, जापान, खाडीका मुलुकलगायतका देशहरूबाट आफ्ना नागरिक ल्याएर निश्चित अवधीको लागि क्वारेन्टाइनमा राख्ने पर्याप्त संरचना खाँचो छ । नेपाल प्रवेशका नाकाहरूमा उच्च सतर्कताको अभाव, भारतसँगको खुला आवगमनका कारण पनि भाइरसको जोखिम उत्तिकै छ ।

यसर्थ, कोरोना जोखिमको सामना गर्न विमानस्थल र सीमा नाकामा उच्च सतर्कता अपनाउने, कोरोना संक्रमित देशहरूमा गरिने उडान केही समयको लागि स्थगित गर्ने, अस्पतालहरूलाई साधानस्रोत सम्पन्न पारेर तयारी अवस्थामा राख्ने, ठूला सभासम्मेलन भोजभतेर नगर्ने, रोगप्रतिरोध क्षमता कम भएका बालबालिका, बृद्धबृद्धा, उपचाररत बिरामीहरूको रेखदेखमा विशेष चनाखो रहने, सचेतनामूलक कार्यक्रमहरूलाई सहज र व्यापक बनाउने आदी काम राज्य र सबै नागरिकको प्रमुख दायित्व भित्र पर्छ । मानव जमघट धेरै हुने विद्यालय, कलेज, ठूला उद्योगधन्दा,सिनेमाघर,सार्वजनिक यातायात,सपिंग मल, व्यस्त गल्ली आदी परिस्थितिको गाम्भिर्यता सूक्ष्म आँकलन गरेर अहिलेलाई बन्द गर्नु स्वागतयोग्य नै छ । संक्रमणबाट बच्न सर्वसाधारणले अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने मास्कको सहज उपलब्धता, भाइरस परीक्षण कीट तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक पिपिइको पर्याप्त व्यवस्थापनमा पनि सरकार चनाखो हुनुपर्दछ ।

कोरोनाको संक्रमणबाट जोगिन र सामना गर्न प्रत्येक नागरिकले आआफ्नो तर्फ बाट बेलैमा सजगता अपनाउनु पर्दछ । सरकारको मात्र भर र गाली गरेर पूर्वतयारीमा वेवास्ता गरेउँ भने हामी सबैको लागि गम्भिर आत्मघाति भूल नहोला भन्न सकिन्न । प्रत्येक घरघर र व्यक्तिले कोरोना विरुद्धको तयारी आवश्यक हुन्छ । घरको सरसफाईमा प्रयोग हुने डिटोल, साबून, दिनहुँ प्रयोग हुने खाद्यान्न २/३ महनिालाई पुग्ने गरी राख्नु पर्दछ । रुघाखोकीको औषधी ज्वरो नाप्ने थर्मामीटर आदी स्वास्थ्यका सामान्य सामाग्री पनि जोहो बेलैमा गर्नु राम्रो हो ।

बालबच्चा र बृद्धबृद्धाको राम्रो हेरचाह, मासुजन्य बस्तुको सेवन नगर्ने, घरपालुवा जनावर बाट टाढै बस्ने तथा स्वास्थ्यकर्मीको सुझावअनुसार दिनचर्या बिताउनु श्रेयस्कर हुन्छ । कोरोना भाइरसको समस्या विश्वव्यापी भएकोले आत्तिएर मानसिक तनावमा बस्नु भन्दा पनि सतर्कता एवं सयंमतापूर्वक सामना गर्ने उच्च मनोवलका साथ दिनचर्या बिताउनु बुद्धिमानी हुन्छ । – बाबुकाजी कार्की/कारोबार