अमेरिकन आइडल जिताउन भोट गर्न दिवेश पोखरेलको आग्रह, यसरी गर्नुहोस् भोट

काठमाडौं। विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय गर्नेछ ।

दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

दिवेशका लागि भोटिङ आजदेखि खुल्ला भएको छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ । दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन् । एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएाएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइनेछ । भोटिङ गर्ने विस्तृत तरिका दिवेशले फेसबुक पोस्ट र भिडियो सन्देशमा बनाएका छन् ।