कोरोना जित्ने बेलायतका नेपाली डाक्टर

लण्डन : बेलायतको सन्डरल्याण्ड अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवम् मिर्गौला रोग विशेषज्ञका रुपमा कार्यरत छन् डा. सिर्जु श्रेष्ठ। अस्पतालमा कोरोना भाइरस संक्रमण भएका बिरामी हेर्ने क्रममा आफै संक्रमित बनेका उनी अहिले भने निको भएर काममा फर्किसकेका छन्।

मार्चको मध्यतिर बेलायतमा कोरोनाका केस बढ्दै गए पनि महामारी नै भइसकेको थिएन। डा श्रेष्ठ कार्यरत अस्पतालमा पनि कोरोनाका एक दुई वटा केस मात्रै थिए।

‘हामी त मास्क र पञ्जा मात्र लगाएर बिरामी हेरिरहेका थियौं। अहिले जस्तो धेरै पीपीई अस्पतालसम्म आइपुगेको थिएन’, डा. श्रेष्ठ सम्झिन्छन्, ‘मलाई बिरामीसँगकै सम्पर्कले संक्रमण भयो भन्ने लागेको छ।’

उनलाई सुरुको दुई दिन पखाला लाग्यो। उनले सामान्य रुपमै लिए। तेस्रो दिनदेखि ज्वरो पनि थपियो। ज्वरो निकै चर्को बन्दै गएपछि मनमा विस्तारै चिसो पस्न थाल्यो। पखाला र ज्वरोपछि खोकी पनि सुरु भयो। तर श्वासप्रश्वासमा कुनै समस्या थिएन।

त्यतिबेलासम्म पखालालाई कोरोनाको लक्षणका रुपमा लिइएको थिएन। तर कोरोना संक्रमित केही बिरामी हेरिसकेका डा. केसीलाई आफ्ना लक्षण राम्रो संकेत होइन भनेर बुझ्न कठिनाइ भएन।

‘अहिलेसम्म जिन्दगीमा कहिल्यै बिरामी नपरेको मान्छे म। तेस्रो दिनसम्म आउँदा त यति धेरै कमजोर बनें कि बाथरुम नै जान पनि धौधौ भयोे’, उनले भने।

उमेरले ५ दशक काटेका श्रेष्ठले जीवनमै पहिलोपटक मृत्युको बारेमा सोचेको सुनाए। ‘साँच्चै जीवनमा पहिलो पटक विरामी भएर मरिन्छ कि भन्ने सोचेँ’, उनले भने, ‘मेरो आँखै अगाडि मेरो जस्तै लक्षणहरु बिग्रिएर आइसीयूमा सारिएका कोभिड विरामीको अनुहार झल्झली आइरह्यो।’

श्वासप्रश्वासमा समस्या नआइञ्जेल अस्पतालले भर्ना लिंदैनन् भन्ने डा श्रेष्ठलाई थाहा थियो। सिटामोलको सहारामा घरमै बस्नुको विकल्प थिएन। श्रीमतीले तातो, झोलिलो र पचाउन सजिलो हुने खालका खानेकुरा, फलफूल, जुस खुवाइरहेकी थिइन्। एक छोरा र एक छोरीसहितको श्रेष्ठ परिवारमा सबैजना एक अर्काबाट आइसोलेट हुनुपर्ने भयो, जसकारण अवस्था झन् अफ्ठेरो बन्यो।

लक्षण सुरु भएको तेस्रो र चौंथो दिन डा. श्रेष्ठलाई निकै गाहे भयो। पाँचौं दिनबाट उनलाई ज्वरोले छोड्यो। अनि बिस्तारै सुधार महसुस हुन थाल्यो।

यसबीचमा डा. श्रेष्ठकी श्रीमतीलाई समेत हल्का ज्वरो र खोकीको लक्षण देखिएको थियो। केही दिनभित्रै दुवैले जाँच गराए, डा श्रेष्ठको रिपोर्ट पोजिटिभ आयो तर श्रीमतीको नेगेटिभ।

बेलायतमै २० वर्ष काम गरेका डा श्रेष्ठका लागि फ्लुका केस नौलो होइनन्। यसअघि स्वाइन फ्लु, बर्ड फ्लुसम्मका बिरामी हेरेको अनुभव संगालेका उनलाई कोरोनाको केस भने सबैबाट फरक र अझै धेरै खतरनाक लागेको छ।

अहिलेसम्म कोरोनाको उपचार सम्भव छैन। कुनै औषधि पनि बनेको छैन। सरकारले जारी गरेको सोसल दूरीको नियमपालना गर्नुपर्ने उनले बताए। ‘नियमित हात धुने गरौं। शरीरमा पानीको कम हुन नदिऔं, स्वस्थकर खानेकुराहरु खाने गरौं’, उनले भने, ‘सावधानी नै सबैभन्दा उत्तम उपाय हो। कुनै लापरवाही नगरौं।’

डा. श्रेष्ठलाई स्वास्थ्यलाभ गर्ने क्रममा परिवारबाट निकै ठूलो साथ मिल्यो, विशेष त मनोवैज्ञानिक हिसाबले। ‘यो बेलामा मनोवैज्ञानिक रुपमा पनि मानिसलाई ठूलो सहयोगको खाँचो हुन्छ। जुन कुरा परिवारले बुझिदिनु आवश्यक छ’, उनले भने, ‘मेरो परिवार र श्रीमतीको सहयोगकै कारण पनिआफू छिटै निको भएँजस्तो मलाई लागेको छ।’

गत सातादेखि फेरि आफ्नो नियमति काममा फर्किएका छन् उनी। अहिले त अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ छ। झण्डै ८० प्रतिशत बिरामी कोरोनाकै छन्।

कोरोनाको संक्रमणबाट निको हुन नपाउँदै फेरि तीनै बिरामीकै सम्पर्कमा पुगेका उनलाई कुनै डर भने छैन। ‘मलाई त निको भइसक्यो। मेरो शरीरमाजुन एन्टीबडी पैदा भएर मलाई निको भयो, त्यसले नै अब मलाई फेरि संक्रमितहुने जोखिमकम गरेको छ जस्तो लाग्छ’, उनले भने, ‘पहिलेको तुलनामा पीपीईको प्रयोग पनि बढाइएको छ।’

कोरोनाको संक्रमण हुँदै निको हुने बेलासम्मको अनुभव डा श्रेष्ठलाई जति धेरै कष्टकर भयो, त्यति नै महत्वपूर्ण पाठ सिक्ने अवसर पनि। जीवनको महत्वअझै बढी बुझेंजस्तो लागेको छ। – ध्रुवराज अर्याल/अन्नपूर्ण पोष्ट