यो मान्छे घमण्डी हुनु पर्छ!

कुरा २०५० सालतिर को हो। दशैंको फुलपातीको दिन थियो। एक जना बहिनीको पर्बत सालिजा जाने काम परेर सालिजाको खर्सोवास भन्ने ठाँउमा पुग्यौं। त्यहाँ युवाहरुले भरखर पिङ हाल्ने भनेर लिङ्गो उठाउदै थिए। बहिनीको काम सकेर फर्कने क्रममा नाँगी हुँदै फर्कदै थियौं। नाँगीमा मैले केही व्यक्तिहरुलाई भेट्न पर्ने काम थियो। मैले सोचें, आज फुलपाती, गाँउलेहरु दशैंको मार काट्ने ठाँउमा जम्मा भएको हुनु पर्छ। भेट्न पर्नेहरुलाई त्यही भेट्छु भनेर सोही बमोजिम अगाडी बढें। हिमाञ्चल स्कुलको केही माथि सधैं मार काट्ने ठाँउमा पुगें। त्यहाँ सवै गाँउलेहरु जम्मा भएका रहेछन। मार काटेर पनि बिलो (भाग) लगाउने काम पनि सकिन आंटेको रहेछ।

त्यस ठाँउमा मैले भेट्न पर्नेहरुलाई भेटें, कुराकानी गरें। यसै कुरा गर्ने क्रममा एक जनाले, उ त्यो मान्छेलाई चिन्नु हुन्छ भन्नु भयो। मैले अँ ह, चिन्दिन भने। त्यो मान्छे “महाबिर” हो, अमेरिका पढेर आएको। भेटेर कुरा गर्ने हो? भन्दै मलाई भन्नु भयो। यसो हेर्दा कट्टु मात्र लगाऐको र एउटा कालो झोला र क्यामेरा भिरेको निकै मोटो र होचो होचो मान्छे कसै सँग कुरा गर्दै गरेको देखें। मैले भयो पर्दैन भनें। किन कि धेरै पढेकाहरु “घमण्डी हुन्छन्, शहरिया पल्टिन्छन्। हामी गाँउघरको मान्छेलाई “पाखे” को संज्ञा दिन्छन् भन्ने लाग्थ्यो र “यो मान्छे पनि घमण्डी हुनु पर्छ” जस्तो सोंचे। अनि म महाबिर पुन सँग भेटै नगरि कुराकानी नगरि फर्किएं।

त्यसै वर्षको केही महिना पछि, मेरो घरमा उहाँ आउनु भयो र “देवेन्द्र बस्ने यही हो?” भन्दै भित्र पस्नु भयो। मैले हजुर भन्दै बाहिर निस्कदा देख्ने बित्तिकै महाबिर भनेर चिने। तापनि तपाई को पर्नु भयो र? भनेर औपोचारिकता पूरा गरें। उहाँले भन्नु भयो, म महाबिर। ए: अमेरिका पढेर आएको भन्ने महाबिर तपाई पर्नु भयो भनेर प्रश्न गरें। उहाँले हजुर भन्नु भयो। मैले केही काम थियो कि भनेर सोधें, खासै काम छैन भन्नु भयो।

उहाँको नजर कता प-यो कुन्नि? मेरो TV लाई देखाउदै, केबाट हेर्ने हो यो टिभि, भन्नु भयो। मैले ब्याट्रिबाट भनें। चार्ज केबाट गर्ने नि? भनेर सोध्नु भयो। मैले पोखरा लगेर चार्ज गरेर ल्याउने, भनें। यो चार्ज गर्ने त म सँग छ भन्नु भयो। केबाट भनें मैले, सोलारबाट भनेर उत्तर दिनु भयो। अब देखि “पोखरा” नलैजानु मेरोमा लिएर आउनु भनेर जानु भयो। त्यस दिन खासै अरु कुनै कुराकानी भएन।

मान्छेको सौख पनि कस्तो कस्तो? २०४५ सालतिर नेपालमा TV प्रसारण हुन लागे देखि दुनियाले B/W TV हेर्थे, केही धनि मानिसहरुको घरमा बाहेक। मलाई पनि TV हेर्ने ठूलो चाहना भएको कारण त्यति बेलाको 14″ B/W Goldstar TV र गाडीको ब्याट्री गाँउमा लगेर हेर्ने गर्थें। ब्याट्री चार्ज गर्न खच्चरमा बोकाएर पोखरा पठाउनु पर्थ्यो। ब्याट्री १ हप्ता पछि आइपुग्थ्यो। हेर्दा भने १०-१२ घण्टा भन्दा हुँदैन थियो।

मलाई के खोज्छस काना?, आँखा भने जस्तै भएको थियो। मैले ब्याट्री खच्चरमा बोकाएर पोखरा पठाउनेमा आफै खच्चर भएर नाँगी सम्म जाने भएं। ब्याट्री पनि चार्ज गर्ने महाबिर सँग पनि कुरा गर्ने सँगै बस्ने गर्न थालियो। हामि धेरै नजिक भयौ। यसै गर्दा गर्दै महाबिर सरले नेपाल मै सोलार पाउने ठाँउ पत्ता लागाउनु भएछ र म सँग कुरा गर्नु भयो। मलाई धेरै खुसी लाग्यो। किन कि त्यही सोलार किन्न काठमाडौंको ठूला ठूला सपिङ सेन्टर र दरबार मार्ग कान्तिपथ जस्ता मानिएका ठाँउहरु चाहार्दा पनि भेटएको थिएन। पछि उहाँले दिएको ठेगानामा खोज्दै गएर एक जना साथि र मैले एक एक वटा सोलार प्यानल किनेर ल्यायौं। त्यस दिन देखि ब्याट्री चार्ज गर्न महाबिर पुनकोमा धाउनु नपर्ने भयो। सायद उहाँ नभएको भए, अझै कति सम्म पोखरा पु-याउनु पर्थ्यो।

यसरी नाँगी जाने आउने क्रम बढ्न थाल्यो र एक दिन उहाँलाई मैले राम्चेतिर घुम्न जाने अनुरोध गरें। उहाँले हुन्छ भन्नु भयो र सँगै राम्चेतिर लाग्दा नाँगीको झिमडाँडाको जँगलतिर आउदा मैले उहाँलाई यतातिर कति बस्नु हुन्छ भनेर प्रश्‌न गरें। उहाँले भन्नु भयो, यति बस्ने भन्ने कुनै ठकान छैन। ३ वर्ष त पक्का बस्छु, मैले भने जस्तो भयो भने सधैं पनि बस्न सक्छु। मैले भने जस्तो भएन भने कहिल्यै नफर्कने गरेर जान पनि सक्छु।

उहाँ सँग कुरा गर्दै जाँदा, अमेरिकाबाट फर्के पछि कयौं सरकारी तथा गैरसरकारी संस्थाहरुमा पुगि सकेको कुरा थाह हुन आयो। उहाँले एकदिन भन्नु भयो, यहाँको आरु, आरुबोख्राको “जाम” बनाउदा हुन्छ कि हुन्न र बनाउने तरिका थाह छ कि छैन भनेर। मैले हुन्छ र बनाउने तरिका मलाई थाह छ भनें। सोही अनुसार त्यति बेलाको King Mahendra Japan Trust (KMJT) भन्ने जापानिज संस्थाबाट आर्थिक सहयोग र “लुम्ले कृषि केन्द्र” (LAC) बाट प्राबिधिक सहयोगमा, हिमाञ्चल स्कुलको नाममा आरुबोख्राको “जाम” बनाएर घोरेपानी, उल्लेरी, हिले आदि ठाँउमा बेचेर थोरै भए पनि स्कुलको नाममा आर्थिक सहयोग जुटाइयो।

केही समय पछि, हाम्रो जस्तो लेक ठाँउमा पनि “गोलभेडा” फलाउन सकिन्छ कि भनेर कुरा राख्नु भयो। हुन्छ नि, कस्तो हुँदो रहेछ भनेर “गोलभेडा” लगाउने तिर लागियो। उहाँले एका बिहानै उठेर जुकाले टोकेर रगताम्मे हुँदै घोचाहरु काटेर ल्याउनु हुन्थ्यो। बरु मैले घोचा काट्ने काममा उहाँलाई सघाउन सकिन। उहाँले काटेको घोचाले गाँउले गोठ पाराको “टनेल” बनायौं। प्लाष्टिकको उक्त टनेल भित्र यति गर्मि हुन्थ्यो भनेर साध्य नै थिएन। र त्यस भित्र गोलभेडा अत्यन्तै राम्रो भयो। तर गोठको बनावट अलि कम्जोर भएको कारण माघमा हिउँ पर्दा भत्किन पुग्यो। अहिले हाम्रो लेकाली गाँउघरतिर गोलभेडाको लागि टनेल बनाएर उत्पादन गरेको देखिन्छ। यदि हामीले गरेको कामको सिको उति बेला नै गरेको भए, अहिलेको आम्दामी उति बेलै पनि गर्न सकिन्थ्यो।

त्यसै समयतिर नै हो, नाँगीको पाखाहरुमा “लोक्ता” को बेर्ना रोपेको पनि। अहिले नाँगीको हिमाञ्चल उच्च मा.वि. मा नै नेपाली कागजको उद्योग छ र अहिले जापान अमेरिकामा निकासी गरिन्छ।

उहाँको पहिलो लक्ष स्कुलको स्तर उन्नति गर्नु रहेकोले, स्कुल पढ्ने बिद्यार्थीहरुलाई होस्टेल बनाएर राख्ने बिचार गर्नु भयो। भकारीको होस्टेल बनाएर त राख्नु भयो, तर बत्तिको निकै समस्या भयो। उहाँले दिउसो स्कुलमा र राति होस्टेलमा नि:शुल्क पढाउनु हुन्थ्यो। राति अध्यारोमा पढाउन समस्या भए पछि बत्तिको लागि उहाँकै एक जना बिदेशी मित्र सँग भनेर सानो टर्वाइन (बिजुली निकाल्ने मेशिन) दिने भएछ। नाँगीको तल “दोभान खोला” मा १ किलोवाटको टर्वाइन राखेर, त्यसैबाट बिजुली निकालेर स्कुलमा पहिलो पटक बत्ति बाल्न सफल हुनु भयो। जसले गर्दा राति ट्युसन पढ्न र पढाउन सजिलो भयो।

उहाँले भन्नु भयो, उक्त दाताले कतिमा बिजुली बालि सक्छस भन्यो र मैले १ महिना लाग्छ भन्दा उसले पत्याएको थिएन। मैले झन १० दिनमा बत्ति बालें। १ महिना पछि भन्दा त पत्याएको थिएन, झन १० दिन भनेको भए त झन ……..

उक्त बत्ति बले पछि, मैले जीवनमा पहिलो पटक कम्प्युटर भनेको उहाँकै Laptop छोएको हुँ र केही कुरा लेख्न चलाउन पनि उहाँबाट नै सिकेको हुँ।

हामी नजिक भैसके पछि, कहिले काँही गाँउघरमा लाग्ने मेलाहरुमा पनि सँगै जान्थ्यौं। उहाँको साथमा सधैं क्यामेरा हुन्थ्यो। मेरो साथमा पनि क्यामेरा हुन्थ्यो। तर क्यामेरा भेराईमा फरक थियो। उहाँको क्यामेरा झोलामा हुन्थ्यो भने म र म जस्तै अरुको क्यामेरा “घाँटी” मा हुन्थ्यो। यसको मतलव जति बेला चाहिन्छ, त्यति बेला झोलाबाट निकाल्ने र फोटो खिचे पछि फेरी झोलामा नै राख्ने। उहाँको तरिका सिके पछि, पछि मलाई “घाँटी” मा भिर्न घमण्ड देखाउनु जस्तो लाग्यो र पहिलाको कुरा सम्झदा लाज पनि लाग्यो। कपडा भने पछि उहाँको भन्दा मेरो अलि झिल्के हुन्थ्यो। उहाँको शिक्षा, ज्ञान सँग तुलना गर्दा धर्ति आकाशको फरक तर राम्रो कपडाको के मुल्य भनेर, त्यस पछिबाट मैले पनि खासै मुल्यवान र झिल्के कपडा लगाउन छोडें।

मैले उहाँ सँग, सँगै हिड्दा सिकेको कुरा नै यहि हो। साधा जीवन, उच्च बिचार। म पनि गाँउले पारामा बोल्न मन पराउने मान्छे, पछि उहाँ सँग भेट भए पछि त झन अमेरिकामा त्यत्रो पढेर आएको मान्छे पनि गाँउले पारामा बोल्ने, मलाई झन सजिलो जस्तो लाग्यो। हामी सँगै घुम्दा हाम्रो गाँउले बोली सुनेर कतिपयले त जिस्क्याउथे पनि।

गाँउमा सँगै घुम्दा डुल्दा, कहिले काँही १-२ ट्वाक पनि लगाइन्थ्यो र त्यसैको साथमा उहाँले केही कुराहरु ओकल्नु हुन्थ्यो। अरु धेरै कुराहरु बिर्सि सके हुँला, तर उहाँले भनेको एउटा कुरा कहिले पनि बिर्सन सकेको छैन। जुन :
***धेरै पढ्ने, धरै पढेर राम्रो जागिर गर्ने, जागिर गरेर टन्न पैसा कमाउने, त्यो पैसाले चिटिक्क परेको सुन्दर घर बनाउने, त्यसै घरको अगाडी चिल्लो कार राख्ने, त्यसै सुन्दर घर भित्र एउटा सुन्दरी केटी बिबाह गरेर राखेर सँगै बस्ने। यो रहर कस्को हुँदैन होला? मलाई पनि त्यस्तो गर्ने रहर छ र चाँहे भने त्यो गर्न पनि सक्छ। तर मैले त्यसो कहिले पनि गर्ने छैन **। उहाँले भनेको यो कुरा विसौ वर्ष भैसक्दा पनि मेरो कानमा यो शव्दहरु अझै ताजै छन।

सुरुको समयतिर उहाँको साथि भनेको सायद म नै थिएं होला। कहिले काही मान्छेको जमघटतिर गइन्थ्यो। उहाँले अरु सँग कुरा गर्नु हुन्थ्यो, तर अरुले उहाँको कुरा हावामा उडाइदिन्थे। उल्टो उहाँको कुरालाई ठट्टा गरेर गल्ल …ल…ल… गरेर हाँसेर मजाक लिन्थे। मलाई भने साह्रै नरमाईलो लाग्थ्यो, उहाँको कुरा कहिले कस्ले बुझ्ने भनेर।

एक पटक काठमाडौं, बागबजार स्थित गोमा शाहीको माछापुछ्रे गेष्ट हाउसमा धेरै जनाले साँझको खाना खाँदै थियौं। सवैले चम्चाले भात खाँदै थियौं तर महाबिर सरले हातले भात खाँदै गरेको देखेर एकजना (मित्र जो गैर पुन मगर जस्तो देखिन्थ्यो र भरखर अरबबाट आएको, सामानहरु पनि सँगै थियो) ले महाबिरलाई देखाउदै : ए, केटा भात त चम्चाले खा न, किन हातले खान्छस्? भन्दा महाबिर सर नबोलि चुपचाप खाना खाँदै गर्नु भएको थियो।

मैले झ्याप्प उहाँ महाबिर पुन भनेर उहाँको परिचय बेलिविस्तार लगाइ दिउँ कि जस्तो लागेथ्यो। भैगयो छोड्दे, कुनै दिन त यसले पनि पक्का चिन्ला नि भनेर कुरा अर्कै तरिकाले यसरी भने मैले : “उहाँ भरखर गाँउबाट झरेको मान्छे, चम्चाले कहिल्यै खाएको भए पो चम्चाले खानु हुन्छ। चम्चाले खान जान्न हुन्न त्यसैले हातले खाएको।” सायद यति बेला उक्त व्यक्तिले महाबिर पुनलाई चिनि सकेको हुनु पर्छ र सम्झना पनि हुनु पर्छ, “ए, केटा भात त चम्चाले खा न” भनेको।

अमेरिकाबाट फर्कदा आफ्नो भाईलाई भेट्ने भनेर जापान ओर्लनु भएछ र पछि आफन्त सँग जापानमा भाईलाई भेटेको कुरा गर्नु भएछ। आफन्तले गालि गरेछन्, थुक्क कुकुर, तँ त मान्छे होइन रहेछस्। जापान छिरे पछि लुकेर काम गर्ला भन्दा त, त्यसै आउने? अरु १५-२० लाख खर्च गर्छु भन्दा पनि जान सकेको छैनन्, भन्दै।

हाम्रो लागि पो जापान छिर्ने भनेको कति ठूलो कुरा? तर महाबिर कुन हैसियतले जापान छि-यो भनेर कहिले बुझ्ने? महाबिरको लागि जापान छिर्नु, “बेल पाकेर कागलाई हर्ष न विस्माद” भने जस्तै हो। बरु हामी सवै महाबिरको जस्तै जापान सजिलै छिर्ने हैसियत भए पो ठूलो कुरा भनेर बुझ्ने कहिले?

उहाँ नाँगीमा आफ्नो आफन्तकोमा बस्नु हुन्थ्यो। कौसीको सानो कोठामा सानो खाट थियो उहाँ सुत्ने। ओढ्ने भनेको हिउँद बर्खा एउटै हुन्थ्यो। गर्मी समयमा त ठिकै हो तर जाडोमा भने निकै जाडो हुन्थ्यो, उक्त ओढ्ने ओढ्दा। तर दुबै जना पुन्टे पुन्टे त्यसै ओढ्नेलाई तानातान गर्दै सँगै सुत्थ्यौं।

यसरी सँगै सुत्दा मैले सोच्थें, यस्तो मान्छेलाई यो राष्ट्रले कुनै बेला चिन्ला कि नचिन्ला? आदि कवि “भानु भक्त” लाई चिनाउन तन्नेरी कवि “मोतिराम भट्ट” जन्मिनु परेको थियो। कसै मोतिराम भट्ट जन्मेलान कि उहाँको यो खुवी, क्षमता त्यसै माटोमा बिलाएर जाला भनेर। तर भानु भक्तलाई चिनाउने मोतिराम भट्ट जन्मिन परेन।

मेरो समय र परिस्थिति गर्दा बिदेशिन वाध्य भएं। तैपनि बेला बेलामा सोच्थें, कुनै विधामा विद्यावारिधि गरे त हुन्थ्यो भनेर। साह्रै भन्न मन लागेर एक पटक फोन गरेर, सरको नाम अगाडी “डा. (Dr.) थप्न पाए हुन्थ्यो भनें। यसमा खासै प्रतिकृया दिनु भएन। पछि एउटा पत्रिकामा “डा. महाबिर पुन” लेखेको भेटाएं। अनि मलाई खुल्दुली लागेर फोन गरेर सोधें, सर तपाईको नामको अगाडी “डा. (Dr.) थपिएको हो र? उहाँले “हजुर” भन्नु भयो। यो शव्द सुनेर मेरो छाति गर्वले फुलिएर हिमाल जत्रो भएको थियो।

उहाँले “रामोन मेगासेसे” पुरस्कार पाउदा हर्षले झण्डै आँसु झारेको थिएं मैले। फेरी उहाँले अध्ययन गर्नु भएको विश्वविद्यालय University of Nebraska Kearney (UNK) बाट Honorary Doctorate of Humane Letter बाट सम्मानित हुँदाको भिडियो ल्किप हेर्दा त्यतिकै खुसी लागेको थियो। सवै भन्दा पनि अहिले उहाँ राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनिनु भयो। यो नै सवै भन्दा ठुलो कुरा हो र मेरो लागि सवै भन्दा खुसीको कुरा पनि यही हो।

उहाँ जस्तो व्यक्तित्व सँग नेपालको गाँउघरमा मात्र नभएर हङकङको डाँडाकाँडा ,गल्लि र ठुला ठुला हलहरुमा सँगै घुम्ने मौका पाएं। यो मेरो लागि एउटा गर्वको कुरा पनि हो।

उहाँ जस्तो सयौं, हजारौ महाबिरहरु जन्मेर यो देश विश्वको सम्वृद्ध देशमा चिनियोस, यो हाम्रो कामना।

कुनै दिन मैले “यो मान्छे घमण्डी हुनु पर्छ” भनेर सोंचेको व्यक्ति एक दिन विश्वको सर्वोच्च पुरस्कार “नोवेल पुरस्कार” बाट सम्मानित हुन सफल हुन्। यही मेरो ***शुभकामना*** !!!

देवेन्द्र पुन
काफलडाँडा, म्याग्दी