अनमोल केसी र प्रदिप खड्कालाइ लिएर सन्तोष सेन चलचित्र बनाउदै,बाहिरियो गोप्य बार्ता

अहिलेका जल्दाबल्दा अभिनेता हुन्, अनमोल केसी र प्रदीप खड्का । दुईलाई एकअर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ । उनीहरुबीच पारिश्रमिकमा समेत अघोषित प्रतिस्पर्धा चल्ने गरेको छ । बजारको चर्चालाई आधार मान्ने हो भने अहिले दुईले एक फिल्मका लागि ४० लाखभन्दा बढी डिमान्ड गर्ने गरेका छन् । यो रकम तिर्न मेकर्सलाई पनि कुनै आपत्ति छैन । किनकि, दुईको चार्म र स्टारडम गजब छ ।

संख्यात्मक हिसाबले लगभग बराबरी फिल्म गरिसकेका अनमोल र प्रदीपलाई एउटै स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छा छ । केही मेकर्सले यो प्रयास नगरेका पनि होइनन् । तर, अहिलेसम्म सम्भव हुन सकेको छैन । गएको दुई वर्षअघि एक अवार्ड समारोहमा उनीहरु पहिलो पटक आमने-सामने भएका थिए । भेटको क्रममा उनीहरु एकअर्कासँग तर्किएनन् । मिठो भलाकुसारी गर्दै मिडियाका लागि तश्विर खिचाए ।

गत वर्षको फागुनमा अभिनेता प्रदीपले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो अधिकारिक फेसबुकमा साझेदार गर्दै गजबको प्रशंसा गरेका थिए । अनमोलले पनि कमेन्टमा प्रदीपलाई धन्यवाद दिँदै ‘लभ स्टेशन’ को सफलताको शुभकामना दिए । फिल्मकर्मीमा भाईचारको सम्बन्ध हराउँँदै गएको अवस्थामा दुईले एकअर्काप्रति गरेको सम्मान र प्रोत्साहनले फिल्म क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको थियो ।

एकअर्कासँग नजिक हुँदै गएका अनमोल र प्रदीपलाई एउटै फिल्ममा टिमअप गराउने प्रयास असफल भइरहेको अवस्थामा ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेन अगाडि सरेका छन् । प्रदीप खड्कालाई लिएर फिल्म ‘प्रेमगीत ३’ निर्माणको तयारीमा रहेका निर्माता सेनले आइतबार राजधानीको एक रेस्टुराँमा अनमोलसँग दोस्रो पटक भेट गरेका छन् । भेट संयोगले भएको थिएन । दुईको भेट प्लानिङ थियो ।

निर्माता सेनले अनमोलसँग भेट गरेको तश्विर सामाजिक सञ्जालमा साझेदार गरेपछि यसले फिल्मवृतमा ठूलै तरंग ल्याएको छ । ‘प्रेमगीत ३’ मा अनमोललाई पनि ज्वाइन गर्न सन्तोषले भेट गरेका हुन् ? वा, नयाँ फिल्ममा अनमोलसँग सहकार्य गर्दैछन् ? अनमोल र प्रदीपलाई टिमअप गराउने प्रयास त होइन ? हरेकको मनमा जिज्ञासा पलाएको छ । निर्माता सेनले अनमोलसँग फिल्मसँगै अभिनय र व्यक्तिगत जीवनबारे कुरा भएको बताए ।

‘हाम्रो यो दोस्रो भेट हो । यसअघि धेरै पटक भेट्ने प्रयास भए पनि विभिन्न कारणले हुन सकेको थिएन । कहिले मेरो समय नमिल्ने कहिले अनमोल व्यस्त । हिजो चाहिँ हामीले औपचारिक रुपमा भेट गर्यौं’, सेनले फिल्मीखबरसँग भने, ‘मलाई अनमोल जेन्टलम्यान लाग्यो । उसको बोली र व्यबहारबाट म प्रभावित भएँ ।’ यसअघि उनले आफू निर्मित सफल फिल्म ‘प्रेमगीत’ प्रदीपभन्दा अगाडि अनमोललाई अफर गरेका थिए ।

निर्माता सेनले आफूलाई अनमोलसँग पहिलादेखि नै फिल्ममा सहकार्य गर्ने इच्छा रहेको बताए । ‘हामीले अनमोललाई ‘प्रेमगीत’ अफर गरेका थियौं । तर, विभिन्न कारणले सहकार्य हुन सकेन । अहिले म ‘प्रेमगीत ३’ बनाउँदैछ । अनमोल पनि चाँडै नयाँ फिल्ममा व्यस्त हुँदैछ । यसपछि हामीबीच टिमअप हुनसक्छ’, उनले भने । नयाँ फिल्ममा अनमोल र प्रदीपलाई लिने आफ्नो सोच रहेको पनि उनले स्पष्ट पारे ।

सेन भन्छन्, ‘अनमोल र प्रदीप दुबैलाई एउटै फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ । त्यो मेरो पनि हो । राम्रो कन्टेन्ट भेटियो र दुबै गर्न राजी भएको खण्डमा नयाँ फिल्ममा सहकार्य हुनसक्ने सम्भावना छ ।’ उनी अनमोलसँगको भेट निकै राम्रो भएको बताउँछन् । निर्माता सेनले अनमोल र प्रदीपबीच टिमअप गराउने पहल आरम्भ गरेसँगै दर्शक र फिल्मकर्मीमा उक्त प्रोजेक्टप्रति चासो सुरु भएको छ । के सम्भव होला त दुईबीच सहकार्य ?