श्रीकृष्ण छायाँ बनेर स्वेतालाई सहयोग र अभिप्रेरणा दिने

श्रीकृष्ण श्रेष्ठको पाँचौं पुन्यतिथि सप्ताह बिशेष

हरेक ठूला र सामाजिक काममा श्रीकृष्ण छायाँ बनेर आफूलाई सहयोग र अभिप्रेरणा दिने बताउने स्वेता “कान्छी” फिल्म श्रीकृष्णकै त्यही किसिमको सहयोग बिना आफू एक्लैले पुरा गर्न र त्यसरी भब्य रुपमा सफल तुल्याउन सम्भव नभएको बताउँछिन ।   

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक पेजबाट   

‘भुमरी’चलचित्रबाट विसं २०४५ सालदेखि अभिनय यात्रा शुरु गरी ‘कसम’मा सहनायक हुँदै ‘नाता’चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाएर अन्तिम चलचित्र “कोहिनुर” लाई बनाउँदासम्म सयभन्दा बढी चलचित्रमा अभिनय गरेका श्रीकृष्ण श्रेष्ठले पहिलो चलचित्र नाताबाटै दर्शकहरुको मन र मुटुसँग नाता गाँस्न सफल मात्रै भएनन, उन्ले आफ्नो जीवनको अन्तिम घडीसम्म पनि त्यो नाता कायमै राखे । त्यही नाताको परिणाम थियो उनको ४७ बर्षकै अल्पायुमा भएको मृत्‍युको अत्येष्टिमा ओर्लिएको विशाल मानव सागर ।

नेपाली चलचित्रका लोकप्रिय अभिनेता तथा चलचित्र निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको यही हप्ता पाँच वर्ष पुरा हुँदैछ । तर अझै पनि नेपाली चलचित्रका दर्शकहरुको मनबाट उनको स्मृति मेटिनुको सट्टा अझ कोहिनूर झैं टल्किदै गएकोछ । सामान्यत: चलचित्रमा सकरात्मक भूमिका निर्वाह गर्ने पात्रलाई नायक भनिन्छ र पनि साँच्चिकै दर्शकको आँखामा नायक मात्र होइन आदर्श पनि बन्ने सौभाग्य थोरैले मात्रै पाउँछन र तिनैमध्येका एक हुन श्रीकृष्ण श्रेष्ठ ।

करिब सयभन्दा बढी सिनेमा खेलेका नेपाली फिल्मी जगतका सदावहार नायक श्रीकृष्णका धेरै चलचित्र बक्स अफिसमा सफल रहेकाले उनलाई हिट चलचित्र दिने नायक मानिन्छ । अत्यन्तै शालिन र भद्र व्यक्तित्वका धनी उनी कहिल्यै कुनै लफडा र विवादमा फसेनन् । काम गर्ने सहकर्मीका नजरमा पनि एक सहृदयी र मिलनसार व्यक्ति थिए उनी ।

 संजोग कस्तो पर्न गएको थियो भने जुन साता उनको होम प्रोडक्सनको चलचित्र कोहिनूर रिलिज हुँदै थियो त्यही समयमा साउन २५ गते उन्को निधन भएको थियो । उन्ले आफू उपचारार्थ रहेको दिल्लीको अस्पतालबाट नै ‘कोहिनूर’प्रदर्शन हुनु केही दिन अघि मात्र दिल्लीबाट नै आफ्ना दर्शकहरू तथा शुभचिन्तकहरूलाई कारूणिक सन्देश पठाउँदै हलसम्म गएर फिल्म हेरिदिनका लागी अनुरोध गरेका थिए । त्यसैले कोहिनूरलाई आफ्ना प्रिय नायकको अन्तिम निशानीका रुपमा लिएका दर्शकहरुको कोहिनूर हेर्न सिनेमा हलहरुमा यत्ति ओइरो लाग्यो कि नेपाली चलचित्रको इतिहासमै करिब १० करोड रुपैयाँ कमाउँने पहिलो र हालसम्मकै एकमात्र चलचित्रको रुपमा रहन सफल भयो ।

नायक श्रेष्ठ फिल्ममा यथार्थ रुपमा अभिनय गर्दथे । खास गरी पारिवारिक फिल्ममा उनको अभिनय अझ उत्कृष्ट मानिन्थ्यो। उनी दर्शकलाई तुरुन्त हसाउन पनि सक्थे भने रुवाउन पनि सक्थे । त्यसैले दर्शकले उनको फिल्म मन पराउँथे । व्यक्तिगत रुपमा पनि उनी मिजासिलो थिए । अभिनयका माध्यमले फिल्म क्षेत्रलाई दर्जनौं हिट फिल्म दिएका श्रीकृष्णले ‘कहाँ भेटिएला’ फिल्म निर्माण गरेका थिए जुन ब्ल्कबस्टर नै भएको थियो ।

‘कहाँ भेटिएला’बाट डेब्यू गरेकी अभिनेत्री स्वेता खड्कासँग ‘कोहिनुर’ फिल्ममा सँगै खेलेका थिए । उनै स्वेतासंग असार २३ गते बिहे गरेका श्रीकृष्णले त्यस्को १ महिना १ दिन अर्थात साउन २५ मा नै यो धर्ति छाडे नेपाली चलचित्र क्षेत्रलाई अपुरणीय क्षति बेहोर्नुपर्ने बनाएर ।

श्रीकृष्णको समाजसेवा चाहना स्वेता मार्फत  

श्रीकृष्णको मृत्‍युका कारण आफ्नै जीवनमा आएको प्रलयकारी भूकम्प येनकेन संभाल्दै गर्दा देशमा आएको महाप्रलयकारी भूकम्पले चिसो हावाको स्पर्शको काम गर्‍यो स्वेतालाई । आफूलाई जस्तो बज्रपात कसैलाई परेको छैन भन्ने आभासको चपेटाले थिलोथिलो भएकी स्वेता आफूभन्दा पनि ठुलो बज्रपातमा पर्ने त हजारौं आफ्नै देशमा भएको महसूस गर्दै उनीहरुको उद्धार गरिनुपर्ने भावना अंकुरित हुन थाल्यो उनीभित्र । यो भावनाले उन्लाई तङ्रिन र उर्जाशिल बन्न उत्प्रेरकको काम गर्‍यो ।

श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदाय भूकम्प गएको झन्डै दुई बर्षसम्म पनि बासबिहिन अवस्थामा रहन वाध्य हुन परेको देखेर सो समुदायमा ५२ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५३ घरको सुबिधायुक्त एकीकृत बस्ती “स्वेता-श्री फाउण्डेशन” मार्फत बनाउने चुनौतिपूर्ण निर्णय लिन पुगिन स्वेता ।

सरकारी झन्झटिलो प्रकृया, निर्माणाधिन बस्तीका केही भाग बाढीका कारण भत्किनु, सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाइ र कानुनी जटिलताले बैंकबाट भूकम्पपीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम नरोक्न नायिका स्वेता खड्काले आफ्नै घर सहकारीमा धितो राखेर २० लाख रुपैयाँ बस्ती विकासमा लगाउन समेत पछि परिनन स्वेता ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष छ परियोजनाको ।

स्व. श्रीकृष्णको जन्मदिनको दिन नायिका स्वेता कहिले अनाथ बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गर्दै उनीहरुका साथमा दिन बिताउँछिन त कहिले पीडामा परेकाहरुको दु:खेसो पोखाइमा संगसंगै आँशु झार्दै सक्दो सहयोग गर्छिन । भूकम्पमा आमाबाबु गुमाएका बालबालिकालाई सहयोग गर्ने उद्धेस्यका साथ उनले ‘कोहिनूर’को च्यारिटी शो पनि गरिन ।

हरेक ठूला र सामाजिक काममा श्रीकृष्ण छायाँ बनेर आफूलाई सहयोग र अभिप्रेरणा दिने बताउने स्वेता “कान्छी” फिल्म श्रीकृष्णकै त्यही किसिमको सहयोग बिना आफू एक्लैले पुरा गर्न र त्यसरी भब्य रुपमा सफल तुल्याउन सम्भव नभएको बताउँछिन ।

यसरी नायिका स्वेता खड्का चलचित्र र आफ्ना बिभिन्न ब्यबसायका कारण व्यस्त जीवनलाई “स्वेता-श्री फाउण्डेशन”मार्फत बिभिन्न सामाजिक कार्यमा लगाएर अरु ब्यस्त बनाउँदैछिन जुन उन्को बर्तमान जीवनको उद्धेस्य हो र यस्मा उनी खुशी छिन् । उनी सुखी रहुन – हार्दिक शुभेच्छा!!! र स्वेताको पल प्रतिपल यस्तो सुखका साथ बितोस कि उनी अरुको खुशीको श्रोत र सुखमय जीवन यापनको प्रेरणादायी ब्यक्ति बन्न सकून – श्रीकृष्णको पाँचौं पुन्यतिथिमा बिशेष शुभेच्छा!!!