लौ हेर्नुहोस तुरतरे ताल यसरी फुटेयो, (लाईभ भिडियो) Live Video

गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । सो तालमा पर्यटन व्यवसायीहरुले डुंगा समेत सञ्चालन गर्दै आएका थिए । तालमा पानीको चाप बढेपछि सोमबार बिहान करिब दुई बजेतिर ताल फुटेको स्थानीयले बताएका छन् । तालको पानी घट्न थालेपछि त्यस स्थानमा डुबानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको स्थानीय सञ्चारकर्मी कमल पौडेलले बताए । ताल फुटेसँगै बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत अवरुद्ध भएको छ । पैदल हिँड्ने बाटोसमेत बाँकी नराखेको स्थानीयको भनाइ छ ।

ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । गुल्मीतर्फ नदी किनारमा पानीको बहाव बढ्नासाथ साथ सोमबार बिहान ३ बजेबाट पूर्व सूचना यन्त्रमार्फत् सूचना प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘वर्षा पनि भइरहेकाले नदी किनारमा रहेका सबै मानिसहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको छ,’ प्रजिअ पौडेलले भने । तालको पानी बग्न थाले पनि कुनै मानवीय क्षती भने भएको छैन । तर पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलको भनाइ छ । गत वर्ष पहिरोले खोला थुनिएर ताल बन्दा बाग्लुङको सिमलचौरका चार घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो । यसैबीच, बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । २ जना हराइरहेका छन् ।

भिडियो हेर्नुहोस ।