जात्रै जात्राको ५१ दिनमा माझी बस्तीलाई सहयोग

चलचित्र जात्रै जात्राले शनिबार काठमाडौं उपत्यकाका ७ ओटा सिनेमा हलमा आफ्नो प्रदर्शनीको ५१ दिन मनाउने क्रममा निर्माण टिमले काठमाडौंको सोल्टी होलटस्थित प्रिभ नेपाल डिस्को थिएटरमा पार्टी आयोजना गर्दै सोही कार्यक्रममा अभिनेत्री स्वेता खड्कालाई सिन्धुपालचोकस्थित माझी नमूना बस्ती निर्माणका लागि जात्रै जात्रा टिमका तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा यो फिल्मका सहयोगीहरुलाई प्रमाणपत्र पनि प्रदान गरियो ।

गत बैशाखको अन्तिम साता “को बन्छ करोडपति” खेल्ने क्रममा जात्रै जात्राका तर्फबाट अभिनेता दयाहाङ राई र बिपिन कार्कीले त्यहाँ जितेको पैसा स्वेता खड्काको स्वेताश्री फाउन्डेसनलाई प्रदान गर्ने भएका थिए । तर त्यस्मा यी दुई अभिनेताले जम्मा १० हजार रुपैयाँ मात्र जोगाउन सफल भएकाले त्यसमा १ लाख १ हजार १११ रुपैयाँ थपेर स्वेताश्री फाउन्डेसनलाई १ लाख २१ हजार १११ रुपैयाँ प्रदान गरिएको निर्देशक प्रदीप भट्टराईले कार्यक्रममा बताए ।

सो खुसीमा खान पिनसँग, नाचगान त छँदै थियो । पार्टीमा सिनेकर्मीदेखि सञ्चारकर्मीसम्मले मदिरामा रमे । ५१ दिनमा ९ करोड ६० लाखको व्यापार नेपालबाट गरेको भनिएको यो फिल्मको निर्माण पक्षले सिन्धुपालचोकको नमूना बस्ती निर्माणका लागि यो सानो सहयोग गरेको हो । पार्टीमा मदिरा हटाएर मदिरामा खर्च हुने केही लाख रुपैयाँ माझी बस्ती निर्माणका लागि प्रदान गरिएको भए ५१ दिनको सफलता अझ सार्थक हुने र दर्शकको अझै प्रसंशा प्राप्त गर्न सक्थ्यो भन्ने प्रतिकृया आउनु स्वाभाबिकै थियो र त्यस्तै भएको पाइएकोछ पनि ।