प्रकाशको जन्म दिनमा श्रीमती बिना मगर रुदै भन्छिन’मेरो श्रीमान साहसी थिए’

काठमाडौँ– विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए । प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्धारा मङ्गलबार आयोजित सगरमाथा आरोही सम्मान कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको चर्चा गरेका हुन् ।

कार्यक्रममा प्रकाशका पिता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ३६ बर्षकै उमेरमा सवै अनुभव संगालेको बताए । ‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफु प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए । प्रकाशको बाल्यकाल प्रतिकुल वातावरणमा वितेपनि उनी पछिल्लो परिपक्क भैसकेको प्रचण्डले बताए ।