रौसी..’ बोलको नयां लोकगीतमा म्यूजिक भिडियो सार्वजनिक

लण्डन । बेलायतका प्राय स्टेजमा गाइरहने गायक मनसुधन थापा मगर र गायिका रेनु रिलामी मगरको ’रौसी..’ बोलको नयां लोकगीतमा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक थापाले उनको युट्युव च्यानलमार्फत बिहीबार भिडियो सार्वजनिक गरेका हुन् । गीतमा शब्द/संगीत श्रीकृष्ण बम मल्लको छ ।

लण्डनको भर्जिनिया वाटर वरपर एक दिनमा छायांकन सकेर हप्ता दिनमै भिडियो रिलिज भएको छायांकन, सम्पादन एवं निर्देशनको जिम्मा लिएका कुशल श्रेष्ठले जनाए । ‘मलाई यो चुनौति सामना गर्न धेरै अघिदेखि इच्छा थियो’, श्रेष्ठले भने, ‘किनकि यति छिटो भिडियो बनाउन विदेशी भूमिमा सहज थिएन् ।’

महिला मोडलहरुले मौलिक नेपाली पहिरन र गरगहना लगाएर अभिनय गरिरहंदा छेउमा तस्विर खिच्ने विदेशीहरुको कमी थिएन । निर्देशक श्रेष्ठले
लालीगुरांसले ढकमक्क ढाकिएको छायांकनस्थल देख्दा नेपालमै कतै सुटिङ भएजस्तो भान भएको बताए ।

म्यूजिक भिडियोमा कलाकारहरु प्रभु गुरुङ, सुवास गुरुङ, मनसुधन थापा मगर, पुष्पा गुरुङ, मोलिका गुरुङ र सलिना थापा मगरले अभिनय गरेका छन् भने कोरियोग्राफी बेलायतमा सक्रिय एकजना युवा सर्जक प्रभु गुरुङको छ । सह-छायांकन सुसन नकर्मी र कलर संयोजन नवीन निरौलाले गरेका हुन् । पोष्ट प्रोडक्सन के.के. फिल्म्स् एण्ड मिडिया, लण्डनको छ ।

गायक थापाले हालसम्म करिब तीन दर्जन गीत गाइसकेका छन् भने झण्डै ५० वटा गीतमा मोडलिङ गरेका छन् । फिल्म ‘प्रतिबिम्ब’ मा त उनी मुख्य हिरो थिए । बेलायत आउनु अघि मनसुधनले सगरमाथा टिभीमा समाचार प्रस्तोता तथा रिपोर्टर भएर करिब ६ वर्ष काम गरेका थिए ।