धादिङ स्थित चेपाङ बालबालिकाहरूलाई स्कुल ड्रेस स्कुल ब्याग तथा स्टेशनरी सामान वितरण कार्यक्रम सम्पन्न

जेष्ठ ८ गते, बुधवार, २०७६, धादिङ यही जेष्ठ ८ गते बेनिघाट— ३,रोराङ स्थित ओर्वाङ आधारभूत विध्यालय तल्लो ओर्वाङ धादिङमा अध्ययन गरिरहेका आर्थिक अवस्था अत्यन्त कमजोर एवं लोपोन्मुख समुदायका १२३ जना चेपाङ बालबालिकाहरूलाई
महिला बालबालिका तथा युवा सचेतना समाज नेपाल नामक संस्थाले उनीहरूको बाह्य स्वास्थ्यमा टेवापुर्याउने हेतुले तत्काल राहत स्वरूप स्कुल ड्रेस ,स्कुल ब्याग तथा स्टेशनरी सामान उपलब्ध गराएको छ ।
लोपोन्मुख समुदायहरूको अध्ययन/अनुसन्धान गर्ने क्रममा धादिङ जिल्लामा जाँदा उक्त विध्यालयमा अध्ययन गर्ने विध्यार्थीहरु गरिबिको कारण नाजुक एवं कष्टकर जीवन बिताइरहेका भेटिएपछि स्थानीय व्यक्तिहरू,समाजसेवी बुद्धिजीवी वर्ग, र विध्यालयका प्रधानाध्यापक श्री नवराज पाण्डेको सिफारिसमा उक्त कार्यक्रम अगाडि बढाएको संस्थाका कार्यक्रम संयोजक श्री सुनिल कुमार नेपालले बताउनुभयो ।

आजका बालबालिका भोलिका कर्णधार हुन् । चेपाङ समुदायमा चेतनाको अभाव एवं गाँस बास कपासको अभावले अधिराज्यभरका अधिकांश बालबालिकाहरूले अकालमा ज्यान गमाउनु परेको तितो यथार्थलाई नकार्न सकिँदैन । तसर्थ उनीहरूको आन्तरिक तथा बाह्य स्वास्थ्यको लागि सरकारबाट आवश्यक पहल गर्नुपर्ने संस्थाका अध्यक्ष श्री दीपशिखा शर्माले बताउनुभयो । बालबालिकाहरूको संरक्षणको लागि सरोकार निकायहरू सरकारको मात्र मुख ताकेर नबसी उनीहरूको रक्षार्थ आ—आफ्नो क्षेत्रबाट कटिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष श्री शर्माले बताउनुभयो । यसका साथै विभिन्न जिल्लामा रहेका लोपोन्मुख समुदायका बालबालिकाको अवस्था निकै जर्जर रहेको र उनीहरूको उचित संरक्षण एवं संवर्द्धनका लागि स्थानीय निकायबाट पनि यथासक्य पहल गर्नुपर्ने संस्थाका सम्पर्क व्यक्ति श्री दीपक सिलवालले बताउनुभयो ।

काठमाडौँ जिल्ला घर भई हाल अमेरिकाको एटलान्टा जोर्जिया निवासी महामहिम पर्यटन दूत श्री राजा घलेको विशेष पहलमा तथा हिमालयन बैङ्कको आर्थिक तथा प्राविधिक सहयोग एवं महिला बालबालिका तथा युवा सचेतना समाज नेपालको सक्रियतामा “ चेपाङ बालबालिकाको लागि स्कुल ड्रेस,स्कुल ब्याग तथा स्टेशनरी वितरण अभियान— २०७६ गर्न महिला बालबालिका तथा युवा सचेतना समाज नेपाल सफल भएको छ ।

अमेरिकामा रहेर पनि नेपालको संवेदनशील विषयमा चिन्तन मनन गर्नुकासाथै गरिब तथा लोपोन्मुख समुदायका विध्यार्थीहरुलाई सहयोग गर्ने सहयोगी मनहरूमा राजा घले,बास फुलारा,डा. रामचन्द्र बराल,डा. प्रल्हाद पन्त,दिलीप बानिया,सूर्य लम्साल,राम पराजुली,मोहन तिमिल्सिना,सिके पराजुली,राजु थापा,रहनुभएको छ । स्कुल ब्याग तथा स्कुल ड्रेस तथा स्टेशनरी वितरण कार्यक्रममा हिमालयन बैङ्क लिमिटेडका प्रतिनिधि चिफ मेनेजर श्री सुनिल प्रसाद गोर्खाली ,श्री गौतम भण्डारी ,संस्थाका कोषाध्यक्ष श्रीमती बिमला भण्डारी नेपाल,सदस्य माया घिमिरे,कल्पना खापुङ , विध्यालयका प्रधानाध्यापक श्री नवराज पाण्डे,सम्पर्क व्यक्ति श्री दीपक सिलवाल,सामाजिक अभियन्ता श्री राजेश्वरी श्रेष्ठ,पत्रकार,बुद्धिजीवी वर्गहरू,स्थानीय व्यक्तिहरू,अभिभावक,भद्रभलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्मरण रहोस् महिला बालबालिका तथा युवा सचेतना समाज नेपालले संस्था ऐन २०३४ को अधिनमा रही संस्थाको मुख्य उद्देश्य अनुरूप विगत २०६६ सालदेखि निरन्तर आर्थिक सामाजिक एवं भौतिक रूपले पिछडिएका एवं विपन्न वर्गका महिला बालबालिका तथा युवाहरूको हक हितको लागि काम गर्नुकासाथै उनीहरूलाई स्वास्थ्य, सबल, समृद्ध एवं आत्मनिर्भर बनाई विकास निर्माणको बाटोमा अग्रसर गराइरहेको छ ।