सिँहदरबारका पाटेबाघ घोर्ले स्याल र केहिथान लोभी फ्याउराहरु

– ज्वाला संग्रौला

सिँहदरबारका पाटेबाघ घोर्ले स्याल
र केहिथान लोभी फ्याउराहरुले
आकाशतिर ठाडो घाँटी लाएर
गरिसके भबिस्यबाणी-
“अब नयाँ युगको सुरुवात भैसक्यो !

यहाँ,
केवल एउटै हुनेछ समृदिको मौसम
बदलिने छैन पारिलो ऋतुको घाम कहिल्यै
चाईनाको ग्रेटवाल छिचोलेर
प्रगतिको नरसिंह बजाउँदै
हुईंकिने छ लुम्बिनी मुन्तिर तीनचुचे रेल,
छाल हुत्याउँदै सगरमाथाको फेद फेदसम्म
ओर्लिने छ बडेमानको पानीजहाज
हल्लीखल्ली गर्दै,
मयुरको कल्की लगाएर
आँखै नहेरी तेज़ गतिमा
उड़ान भर्ने छ तीखो रेल मंगलतिर !

देश अब साँच्चै
सिंगापुर बन्नेछ
स्वीजरल्याण्ड बन्नेछ
स्वर्गको टुक्रै बन्नेछ
बन्नेछ बिश्वमै नम्बर वान
तसर्थ आओ रैतिहरु थपडी बजाओ
मादल ठोक, मुरली फुक
र, घाँटी फुट्ने गरी
गाओ गीत
बिकाश र समृद्दिको
उन्नति र प्रगतिको
स्वाधीनता र सार्वभौमिकताको
संसारै थर्किने गरि गाओ
यो भन्दा अर्को गीत गाउँदै नगाओ!”


जंगी आदेश मानेर
पाटेबाघ, टुक्के स्याल र हुक्के फ्याउराका छाउराहरु
भुँई नै भत्किने गरि
तिघ्रा ठटाएर नाच्न र
कानका जाली नै फुट्ने गरी
गाउँन थाल्छन् भजन आफ्ना ख्वामितहरुको
त्यति नै बेला
बाटाको छेवैको सानो झुप्रोबाट
निस्कन्छिन् एउटी बुढी आमा र भन्छिन्-
“बाबु हो , कति हल्ला गरेको
सुत्न देओ न आधारात भैसक्यो! “

एउटा उरन्ठेउलो डमरु
फुत्त ति आमातिर उफ्रन्छ र भन्छ-
“ए बुढिया, यो नयाँ युगमा
मेरा ईश्वरको आदेश पालना गरेको बेला
मेरो भोक र अभावको मालिकको भजन गाएको बेला
तँलाई कस्ले बिचमा बोल्ने अधिकार दियो?
अब फेरि बोलिस् भने
गणतन्त्र ल्याउँदै गर्दा
मेरो मालिकले सालिक बनाएर
सडककको बीचमा ठड्याइदेको
तेरो छोराको हालत पनि ऊ त्यस्तै बनाईदिन्छौं!
चुप लाग सुड्डी, देश सिंगापुर बन्दै छ! “”