हामी कहिले सभ्य बन्ने ? : संझना पौडेल

संझना पौडेल । उपत्यकामा बस्नेहरुको लागि यो कुनै नौलो कुरा होइन । फेरी यो सुनेर अचम्म मान्नुपर्ने पनि केही छैन । तर, पनि नेपालको संविधानले दिएको स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिक हकको कहिले हुन्छ त कार्यान्वयन यो सबैको चासो र चिन्ताको बिषय हो । हुन त यस्तो बिषयमा सोच्ने आजका व्यस्त मानिसहरुलाई फुर्सद नै कहाँ छ र ? तर पनि सोचौं त धुलोयुक्त दुर्गन्धमय काठमाडौं कहिलेसम्म ? अब पनि हामीले हाम्रो वातावरणको बिषयमा नसोच्ने हो भने अबको केही बर्षमा यहाँ कस्तो होला ? हुनत विदेशका सहरहरुमा सिमित जनसंख्याको हुन्छन ।

काठमाण्डौंको श्रेत्रफल र त्यहाँ बसोबास गर्ने जनसंख्या हेर्ने हो भने तेब्बर नै छ । यति सानो सहरले यति ठुलो जनसंख्या धान्न सक्दैन तसर्थ पनि बढि प्रदुषित भएको हुनसक्छ । तपाई बिहानै पढ्न कलेज वा काम विशेषले कतै जानुहुन्छ होला ? अझबढि जमल, रत्नपार्क या अन्य कुनै बाटो निस्कनु भएको छ भने तपाईलाई पक्कै पनि वान्ता हुन्छ होला, किनकि काठमाडौंको यस्तो र्दुदशा र हालत देखेर । जताततै दिसानै दिसा पिसाव र रक्सि बियरका बोतल बढि भेटिन्छन । स्वस्थ वातावरणको अभावमा मानिसहरुलाई विभिन्न किसिमका नसर्ने रोगहरु लाग्दै गएको छ ।

दोष हाम्रो पनि हैन र ?
हामी बसेको सहर सफा गर्ने र फोहोर गर्ने हामि नै हौ । त्यसैले पनि दोष हाम्रै हैन र ? समयसमयमा काठमाडौँ महानगरपालिकाले तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्नेलाई कारबाही नगरेको पनि होइन । हामि कति अज्ञानि कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी फोहर थुपार्ने । यस्ले हामिलाई नै असर गर्ने हैन र ? पुतलीसडक, बागबजार, न्यूरोड, जमल , रत्नपार्क लगाएत ठाउँमा बिहान हिड्नै सकिन्न । जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएपनि प्रभावकारी हुन सकेको अवस्था छैन । सुन्दरी नगरी काठमाण्डौंलाई लाई कुरुप फोहोरी बनाउनेहरुलाई खोजि खोजि किन कारवार्हि हुन्न ? आफु सुकिला मुकिला ठान्नेहरुले आफुबस्ने सहरलाई सुकिलो बनाउन हुन्न ? यो हेपाहा प्रवृत्ति हो । बाटो फोहोर हुन कहिले छोडेन ।

काठमाण्डौं जस्तो विकसित ठाउँमा बस्नेहरुमा पनि नआएको चेतना बिडम्बनाको कुरा हो । हामि कुन शभ्यताको कुरा गछौं ? जबसम्म हामिमा आफु र आफ्नो घर आगन सफा गरेजस्तै सार्वजनिक स्थानमा फोहोर फाल्नुहुन्न भन्ने कुराको ज्ञान आउन्न तब सम्म के अन्य कुराको भाषण गर्ने ? वातावरण सरसफाइ र ब्यवस्थापनका लागि गरिएका निर्णय र योजना कागजमै सीमित हुने गरेका छन् । सरसफाइ अभियानको लागि भनेर बिनियोजन गरिएको बजेट सदुपयोग नहुदा लाखौं रकम बालुवामा पानी खन्याए सरह भएन र ? प्लास्टिक, काचका सीसा र सिरिन्जका कारण वातावरणीय प्रभाव संगै हामि सबैको जनजीवनमा समेत प्रभाव पर्ने देखिन्छ । यसतर्फ हामि आफै सचेत हुन जरुरी छ ।सडकमार्गमा मरेका पशु चौपाया समेत खुल्ला रूपमा नियमित फाल्दा वातावरण दुर्घन्धित बन्न थालेको छ । हामिले पनि आफु हिड्ने बाटोमा जथाभावि फोहोर नफालेमा पनि धेरै रोगबाट बच्न सकिन्छ । तसर्थ अरुलाई मात्रै दोष थुपार्ने भन्दा पनि आफु बस्ने वातावरणको सरसफायमा हामि सबै एकजुट हुने पो हो कि ?

(लेखक पाैडेल प्रेस काउन्सिल नेपालमा कार्यरत छिन्)