गाउँ/नगरपालिकाहरुले आ-आफ्नो क्षेत्रमा देखाउनै पर्ने भ्रस्टाचार बिरोधी फिल्म ‘सयकडा दश’

पञ्चायत कालमा कुनै म्युजिक भिडियोलाई प्रत्येक गाबिस र नगरपालिकाले किन्नै पर्ने परिपत्र गरिएको थियो स्थानिय बिकास मन्त्रालयद्धारा । भ्रस्टाचारको चपेटामा देश भयाबह किसिमले परेको बेला भ्रस्टाचार बिरुद्ध सामाजिक चेतना जगाउने अभिप्रायले बनाइएको यो फिल्मलाई पनि यस्तै किसिमले परिपत्र गरेर प्रत्येक गाउँ बिकास समिति र नगरपालिकामा देखाउनै पर्ने बातावरण किन नबनाउने जबकि संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित स्वयंले नै भ्रष्टाचारले समाजमा पार्ने प्रभावबारे चित्रण गरिएको चलचित्र ‘सयकडा दश’लाई राष्ट्रिय चलचित्र भन्न पनि सकिने बताएका छन फिल्म हेरिसकेपछि प्रतिकृया दिने क्रममा ।

अरबौंको घोटाला र भ्रस्टाचारको चर्चा माछा माछा भ्यागुता हुने देशमा साना साना भ्रस्टाचार र घोटाला गर्ने भने समातिएको समाचार सून्नमा आउने मात्रै होइन कि लोडशेडिङलाई २-४ घण्टा मात्रै घटाउँदा पनि करोडौं कमाउन सक्ने कुलमान घिसिङ्ले त्यसो नगरी लोडशेडिङ हटाएर लोडशेडिङ हटाउने ब्यबस्थापनकै अंशको रुपमा बल्ब अबधारणालाई अगाडि बढाउँदा आफ्नो स्वार्थ पुरा नहुनेहरुले घिसिङका बिरुद्ध घोटालाको हौवा फैलाउनुसम्म फैल्याएको हेर्न र देख्न पनि बाध्य पनि भएको देश हो नेपाल ।

नेपाल बसाइको क्रममा ‘सयकडा दश’ फिल्मका निर्देशक र निर्माताले अख्तियारको टिमसंग फिल्म हेर्न नभ्याइने मेरो समयाभावलाई ध्यानमा राखेर उहाँहरुले पानीपोखरीस्थित स्काइ भिजन/ रेड स्टुडियोमा बिशेष ब्यबस्था गरी फिल्म देखाएपछि महाराजगन्ज हुँदै ग्राण्डी टावर जाने क्रममा महाराजगन्ज चोकनेर पुगेपछी संगै सिटमा बसेर ड्राइभिङ गरिराख्नु भएको मित्रले चोकबाट बसुन्धारातिर जाने दिशातिरको दायाँपट्टिको अग्लो घर देखाउँदै एकजना पूर्व  प्रधानमन्त्रीले आफ्नो कार्यकालमआफ्नो नातेदारको यो घरलाई जोगाउनका लागि मन्त्रिपरिषदबाट नै सो घर भत्काइनबाट जोगाउनका लागि गराइएको निर्णयका कारण सो ठाउँमा बाटो फराकिलो बनाउने काम अगाडि बढ्न नसकेको कुरा बताउनु हुँदा मनमनै सोंचे यो त सयकडा दश होइन सयकडा हजारौं लाखौं भ्रस्टाचार हो र यस्ता भ्रस्टाचारीहरुलाई नै हाम्रा सुरक्षाकर्मी स्यालुट ठोक्न वाध्य छन र जनता उनीहरुलाई सम्मान गरेको हेर्न बिबस छन ।

२०७२ पुस पहिलो हप्ता एनसेल खरिदबिक्री भएपछि नेपाल सरकारले पाउनुपर्ने पुँजीगत लाभकर नदिई विक्रेता टेलियासोनेरा बाहिरिएपछि उक्त शेयर कारोबारको विषयमा ठूला करदाता कार्यालयले नियुक्त गरेको विज्ञ टोलीले विक्रेता टेलियाले ६० अर्ब ७१ करोडभन्दा धेरै रकम सरकारलाई बुझाउनुपर्ने निर्क्योल गरेको थियो । जसमा कर ३५ अर्ब ९१ करोड, शुल्क १८ अर्ब ६ करोड र ब्याज ६ अर्ब ७३ करोड निर्धारण गरिएको थियो । यो रकम असुल गर्न अर्थ मन्त्रालयबाट विभिन्न प्रयास गरिए । राष्ट्रबैंकले टेलियालाई मुनाफा रकम लैजान पनि रोक लगायो । त्यसविरुद्ध एनसेलले २०७४ पुस २ गते सर्वोच्च अदालतमा निवेदन दियो । त्यसको अर्को दिन सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै रकम लैजान नरोक्न अन्तरिम आदेश जारी गर्यो । – यो कुनै कपोलकल्पित कथा नभएर थुप्रै पत्रिकामा प्रकाशित समाचारसंग मेल खाने समाचार अंश नै हो र अरबौंको घोटाला र भ्रस्टाचारलाई यसरी क्लिन चिट दिइएको न त पहिलो घटना हो न त यस्तो गर्दा पनि ढुक्कैसंग जागिर यथाबत चलिरहेकोले भबिस्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिएर संस्कारको रुपमा बिकास नगर्ला भन्न सकिन्छ । प्रति-व्यक्ति आय करिब १,४०२ डलर भएको नेपालमा सरकारलाई बुझाउनु पर्ने तर नबुझाईएको यो एउटै केसको ६० अर्ब ७१ करोडलाई सरदर प्रतिब्यक्तिको आय अनुरुप नै बाँढ्ने हो भने सो रकम ३,८६,६२८ जनाभन्दा बढीलाई बाँढ्न पुग्ने रहेछ ।

उपर्युक्त तीन फरक फरक यथार्थताले नेपालमा माफियातन्त्र र भ्रस्टाचारको स्वरुपको भयावह अवस्थालाई उजागार गर्छ । अरबौंको घोटाला र भ्रस्टाचारलाई कुर्सीमा बस्ने नै झिना मसिनाको संज्ञा दिन हिचकिचाउँदैन । यी सबैको परिणाम के भैराखेको छ? सन् १९६० मा नेपालकोभन्दा कमजोर र नेपाल बराबरको हैसियतमा रहेका सबै राष्ट्र अहिले नेपालभन्दा धेरै अगाडि छन् । दक्षिण कोरियालाई सन् ६० को दशकमा चामल पठाएर सहयोग गर्ने नेपाल अहिले त्यही दक्षिण कोरियामा कामदार आपूर्ति गर्ने देश भएको छ । नेपालको शाही वायु सेवा निगम र थाइल्यान्डको रोयल थाई एयरवेज एकैदिन आकाशमा उडेका थिए, तर शाही वायु सेवा निगमको लज्जास्पद बिजोग अबस्थाबाट गुज्रिरहंदा थाई एयरवेज अन्तर्राष्ट्रिय उडानको बादशाह भएको छ । सन् ९० को दशकमा पनि नेपाली रुपियाँभन्दा थाई भाट सस्तो थियो भने डेढ दशकमा स्थिति उल्टिएको छ ।

उपर्युक्त प्रतिनिधि उदाहरणहरु जस्ता कहालिलाग्दा उदाहरणहरुको फेहरिस्त तयार गर्दाको ठेली सानो हुनेछैन । यो पटकको नेपाल भ्रमणबाट के थाहा लाग्यो भने चरी र घैंटेपछी नयाँँ नयाँँ चरी र घैंटे जन्माउने र जन्मिने काम भैराखेको छ । जन्माइएका र जन्मिएका चरी र घैंटेहरुलाई पालेर अरुलाई त्रसित बनाउँदै आफ्नो प्रभुत्व कायम गरेर आसेपासेका लोभीपापीको हजुररुपी गजुरमा आफूलाई स्वर्गको राजा ईन्द्र ठान्ने मानसिकताका नाँगा बादशाहहरुको संख्या बढ्दो देखिन्छ । देश यसरी नै भ्रस्टाचारको दलदलमा भाँसिदै गएको पृष्ठभूमिमा चर्चित फिल्म ‘प्रेम गीत २’ लाई निर्देशन गर्नु भएका रामशरण पाठकको निर्देशनमा २ घण्टा १० मिनेट लामो भ्रस्टाचार बिरोधी फिल्म ‘सयकडा दश’ बन्न पुगेको छ जस्मा चर्चित हास्यकलाकार मनोज गजुरेलले डेब्यु गरेका छन् । मनोज र राजारामका अलावा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेललगयतको पनि फिल्ममा अभिनय छ ।

सयकडा दश’संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्ययसहित सरकारका उच्चपदस्थ कर्मचारीले हेरेका छन् र मन्त्री पण्डितले भ्रष्टाचारले समाजमा पार्ने प्रभावबारे चित्रण गरिएको चलचित्र ‘सयकडा दश’लाई राष्ट्रिय चलचित्र भन्न पनि सकिने बताएका छन फिल्म हेरिसकेपछि प्रतिकृया दिने क्रममा । अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताउँदै ‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ भने । ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’- अख्तियार पूर्वप्रमुख उपाध्यायको भनाइ थियो ।

दर्शन नेपाल क्रिएसनले निर्माण गरेको फिल्मलाई थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको र अन्य देशहरुमा पनि यस्को प्रदर्शनको लागि आग्रह आइरहेको जानकारी निर्मात्री रज्जु प्रधानले दिइन् कुराकानीको क्रममा ।

कस्तो फिल्म बनाउँदा बजार लिन सकिन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि देश भ्रस्टाचारको दलदलमा भाँसिएको बेलामा भ्रस्टाचार बिरुद्ध सामाजिक चेतना जगाउने अभिप्रायले यस किसिमको फिल्म बनाउनु प्रसंशनिय काम हो । फिल्म अत्यन्तै मार्मिक छ । यस्ता मार्मिक फिल्म र गीति भिडियोहरु एक्लै हेर्दा थाहै नपाई रोएको हुन्छु, तर अख्तियारको टिमसंग फिल्म हेर्नको लागि मेरो समय नभएकोले म एक्लैको लागि सो फिल्म देखाउने ब्यबस्था गरिए तापनि मैले दुइजना साथीहरुलाई लिएर गएको कारण अनायासै सहज रुपमा रुने बातावरण थिएन ।

पञ्चायत कालमा कुनै म्युजिक भिडियोलाई प्रत्येक गाबिस र नगरपालिकाले किन्नै पर्ने परिपत्र गरिएको थियो स्थानिय बिकास मन्त्रालयद्धारा । भ्रस्टाचारको चपेटामा देश भयाबह किसिमले परेको बेला भ्रस्टाचार बिरुद्ध सामाजिक चेतना जगाउने अभिप्रायले बनाइएको यो फिल्मलाई पनि यस्तै किसिमले परिपत्र गरेर प्रत्येक गाउँ बिकास समिति र नगरपालिकामा देखाउनै पर्ने बातावरण किन नबनाउने जबकि संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित स्वयंले नै भ्रष्टाचारले समाजमा पार्ने प्रभावबारे चित्रण गरिएको चलचित्र ‘सयकडा दश’लाई राष्ट्रिय चलचित्र भन्न पनि सकिने बताएका छन फिल्म हेरिसकेपछि प्रतिकृया दिने क्रममा ।