सनातन हिन्दु धर्म र बर्तमान नेपाल : डा. निरन्जन अर्याल

लस एन्जेल्स, अमेरिका
स्थाई ठेगाना: गल्याङ्ग, स्याङ्गजा, नेपाल

सनातन काल देखि चल्दै आएको धर्म संस्कृति हो हिन्दु धर्म | धेरै पुरातन सभ्यताहरु बिश्वका अन्य ठाउ बाट बिलय भैसक्दा पनि जिबन्त रुपमा रहेको एकमात्र सभ्यता हो हिन्दु धर्म सभ्यता | त्यहि सभ्यताको, त्यहि संस्कृतिको केन्द्र भुमि दक्षिण एशिया हो र त्यसमा पनि हिमालय को काखमा अवस्थित र तपश्वीहरुको प्रिय भुमि भएको नाताले नेपाल ज्ञान बिज्ञान को भण्डार को रुपमा रहिआएको छ | हजारौ हजार बर्ष बित्दा पनि ति ज्ञान र बिज्ञान हरुमा कुनै खिया लागेको छैन बरु हरेक कालखण्ड मा जन्मेका महामानव हरु द्वारा थप परिस्कृत पारिदै थप चम्किलो बन्दै गएको छ | हिमालय बाट बग्ने प्रत्यक नदीले आफु संगै शिव लिएर बग्छन | अनबरत बग्दा पनि कहिल्यै रिक्त नहुने हिमालयका शिव को आशिर्बादले हुर्केको संस्कृति हो सनातन संस्कृति | कैलाश देखि श्रीलंका सम्म आइपुग्दा प्रकृतिका हरेक जिब-अजिब रंगहरुमा चमक भर्ने संस्कृति हो सनातन संस्कृति |

बिश्व शान्ति र पृथ्वी देखि लिएर अन्तरिक्ष र ग्रह-उपग्रह सम्मका ज्ञान राख्ने अनमोल रत्नको रुपमा रहेको सनातन/हिन्दु संस्कृति माथि अहिले चौतर्फी आक्रमण भैरहेको देखिन्छ | यसमा आन्तरिक आक्रमण र बाह्य आक्रमण प्रमुख छन | पुर्बिय संस्कृति कम्जोर देखिएको यो कालमा बाह्य आक्रमण नौलो कुरा भएन | सबैभन्दा घातक चाइ आन्तरिक आक्रमण साबित भएको छ |

बाहिरि शक्तिले कस्तो खेल खेल्यो भनेर त्यहि बहसमा रुमल्लिनु अगाडी हामि भित्र भएका कस्ता कमि कमजोरीले हाम्रो सभ्यता र धर्म संस्कृतिलाइ प्रतिरक्षात्मक बनाएको छ भन्ने कुरामा बहस-बिचार गर्नु उत्तम हुन आउछ | कतिपयले मान्दैनन या मान्न खोज्दैनन् या मान्न चाहदैनन् तर कसैले माने पनि नमाने पनि सत्य कहिल्यै असत्य हुदैन | हिन्दु धर्मको साख गिराउन त कसैले सक्दैन तर यसलाई केहि कदम पछाडी पारिनुमा सबैभन्दा बढी दोष यदि कसैको छ भने बिगत ६-८ सय बर्ष देखि हाम्रो समाज र संस्कृतिमा भित्रिएको र हुर्केको जातीयता र सामाजिक विभेद कै छ |

हिन्दु धर्म कुनै एक जातिको धर्म हैन , न त यो धर्म केवल मानब समुदाय को हो | यो त प्रकृतिका प्रत्यक रचनाको साझा धर्म हो | निराकार शिवको जात बर्ण समयले समेत ब्याख्या गर्न सक्दैन, शिव आफै समय हुन | हिमालायमा अनादि कालदेखि ध्यान माग्न भएका शिव को स्वरुप जसले जसरि सोच्यो त्यस्तै छ | शिवको नाक थेप्चो सम्झे थेप्चो छ , चुच्चो सम्झे चुच्चो नै छ | शिव समुन्द्र मन्थन बाट निस्केको बिष निलेर जगत जोगाउने महादेव हुन् | शिवलाइ जात रुप मा कुनै मोह छैन |

तर बर्तमान समयका मानाब जातिले एउटा रुप दिएर आफ्नो बनाउन सकिन्छ भन्ने भ्रम पालेका छन | एउटा जातिले आफ्नो मात्रै हो भन्ने अहमले अर्को जातिलाई त्यसो भए मेरो हैन भन्न उक्साएको त छैन ? अलि प्रस्ट भन्नुपर्दा भारत बर्षमा पछिलो १ हजार बर्षमा हुर्किएको सामाजिक छुवाछूत समाज बिकाशको लागि मात्रै घातक भएन आन्तरिक बिबाद र विभेदको चुरो बन्न गयो | त्यसैको परिणाम स्वरुप बिराट हिन्दु राज्य हरु ढल्न पुगे | सामन्तबाद थप मौलाउदै गयो र समाज छुद्र हरु को कब्जा मा पर्न गयो | समाज कब्जा गरिसकेपछि धर्म संस्कृतिलाइ बाँकी राखेनन् अधर्मी हरुले |

आफुलाई पायक पर्ने नियमहरु बनाइए , ज्ञान र बिज्ञानका न्युनतम नियमहरु समेत पालना गरिएन | एउटा उदाहरणको लागि सुर्य र चन्द्र ग्रहण लाग्दा दलित जातिले घाम-जुन छेकेका हुन् त्यसैले तिनीहरुलाई त्यो दिन गालि गर्न पाउनुपर्छ भन्ने जस्ता उरनठ्यौला नियम समाजमा लादियो | साशन गर्ने यस्ता अनगिन्ती चोर बाटा हरु अपनाइए | सिंगो रास्ट्र हुदै सिंगो धर्म संस्कृतिलाइ यसले केवल नोक्सान मात्रै पुर्याउदै लग्यो | बर्तमान समय सम्म आइपुग्दा यस्ता बिकृति थप बलियो हुदै गए र ब्राम्हणबाद को रुप धारण गर्न पुग्यो , यद्यपि हाम्रा कुनै बेद हरुमा ब्राह्मण कसैले जन्मिदै पाउने पुरस्कार हैन भन्ने प्रस्ट भनिएको छ |

पछाडी फर्केर हेर्दा प्रत्यक कुरा नराम्रा भए भन्ने होइन, हाम्रै सभ्यताले बिश्वमा शान्तिको ज्योति छर्ने गौतम बुद्ध जन्माएको थियो , स्वामी बिबेकानंद जस्ता ज्ञानी सनातन संस्कृति कै रत्न हुन् तर धेरै राम्रा कामहरुलाई साशन सत्ता चलाउने केहि भ्रस्टहरुको शक्तिको दुरुपयोगले सनातनीहरुको आगन सम्म पुग्न दिएन |

प्रकृतिले रुप फेर्ला, ग्रह उपग्रहले आफ्नो स्थान परिबर्तन गर्लान तर सनातन धर्म ब्रह्माण्डमा अटल रहन्छ | यो समय जस्तै आफैमा पूर्ण छ | सानातिना कुरामा नअल्झी अन्तिम मुक्ति तर्फ ध्यान दिने हो भने धेरै समस्याको हल त्यहि निस्कन्छ | सनातन धर्म सबैको हो | नेपालिहरुले के बुझ्नु पर्छ भने सनातन हिन्दु धर्म सन्यासी को पनि हो , बैशालु युबा को पनि हो , मतवालीको पनि हो, हिमालको हो , पहाडको हो , तराइको हो , सबैको हो |

इतिहास पल्टाएर हेर्दा जति जति बेला साशक हरु भ्रस्ट , सत्तालुप्त र डरपोक भएका थिए, ठिक त्यहि बेला हिन्दु धर्म प्रतिरक्षात्मक बन्न पुगेको थियो | अहिले नेपालमा देखिएको परिस्थिति ठिक त्यस्तै छ | मै खाउ मै लाउ भन्ने प्रवृति मात्रै त्याग्ने हो भने र रास्ट्र चलाउने नेताहरुले सनातन धर्मको बास्तबिक चरित्र बुझे मात्रै भने पनि नेपाली समाज सनातन संस्कृतिको उन्नत उचाइमा पुग्न धेरै समय लाग्ने छैन | सबैले मनन गरे सम्पूर्णको भलो हुनेछ |
इमेल सम्पर्क : Email : naryal101@gmail.com