नेपाल बाट मधेश टुक्राउन खोज्ने डा. सिके राउतलाइ एक युवा कडा आवाजमा कविता बाटै यसरी उत्रे ? (भिडियो सहित)

डा. सिके राउत
बुझेनौं भने अरुलाई सोध
देखेनौं र भेटेनौं भने पटक–पटक हेर
नेपालको मानचित्रलाई
जुन धरातल, जुन मानचित्र
हिमाल, पहाड र तराइ मिलेर बनेको छ
जुन बनावटलाई

न हिमालले चाहेर टुक्र्याउन सक्छ
न पहाडले चाहेर टुक्र्याउन सक्छ
न कि तराइले चाहेर टुक्र्याउन सक्छ
त्यो धरातल माटो–ढुङ्गाले मात्र हैन
मजबुत र निश्चल राष्ट्रप्रेमले बनेको छ
तिमीमा त्यही निश्चल राष्ट्र प्रेम छैन
र त आज तिमी
तीन करोड नेपालीको छातीमा
स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै
आफ्नै झोपडीको मझेरी खनेर
पराइको आँगन पुर्ने कुरो गरिरहेछौ।
डा। राउत
यो राज्यको विभेद
मधेस र मधेसी माथी मात्र छैन
हिमाल, पहाड, अन्य जाती र अस्तित्वमा पनि छ
यसको बिकल्प
देशलाई टुक्र्याउनु कदापी हुन सक्दैन
किनकी देश हाम्रो हो
माटो हाम्रो हो अनि समस्या पनि हाम्रै हो
हामीले चाहेको त
अनेकता भित्रको एकता हो
विविधता बोकेको राष्ट्रियता हो
पहिचान र सम्मानीत अस्तित्व हो
विकास, समानता र सुशासन हो
म त भन्छु
म मात्र हैन सारा नेपालीले भन्नेछन्
नेपाल भित्र प्यारो मधेस छ
अनि मधेस भित्र प्यारो नेपाल छ
तर तिमी यो माटोमा कँही कतै छैनौं
वास्तवमा तिमी यो माटोको हुँदै हैनौं
र त आज तिमी
तीन करोड नेपालीको छातीमा
स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै
आफ्नै झोपडीको मझेरी खनेर
पराइको आँगन पुर्ने कुरो गरिरहेछौ ।
डा.राउत
हिमाल र पहाड मेरो मात्र हैन
त्यो तिम्रो पनि हो
मधेस मेरो मात्र भनेर घमण्ड नगर
त्यो मधेस मेरो पनि हो
जसरी बिखण्डनलाई अधिकार भन्दैछौ
त्यो बिखण्डन रोक्ने अधिकार मेरो पनि छ
जनमत संग्रहको के रवाफ दिन्छौ
सारा नेपालीजनमा जनमत गरौं
परिणामलाई अहिले पनि अनुमान लगाउन सक्छौ
सार्वभौमिकता र स्वतन्त्रताको के कुरा गर्छौ
मधेसको सिमानामा बैरी कदम पर्दै गर्दा
एक चस्का तिम्रो छाती दुखेको छ रु
छैन्, तर त्यहाँ पहाडे छातीले गोली थापेको छ
यो गहिरो राष्ट्रप्रेमलाई बुझ्दैनौं तिमी
किनकी डा। राउत
तिमी नेपालको पनि हैनौं
तिमी मधेसको पनि हैनौं
र त आज तिमी
तीन करोड नेपालीको छातीमा
स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै
आफ्नै झोपडीको मझेरी खनेर
पराइको आँगन पुर्ने कुरो गरिरहेछौ।
मधेस भित्रको नेपालमा
नेपाल भित्रको मधेसमा जन्मिएर
त्यहाँको अन्न पानी खाएर
त्यहाँको नागरिकता र राहदानी बोकेर
आज तिमी म नेपाली हैन भन्दैछौ
मेरो माटो नेपाल हैन भन्दैछौ
वास्तवमा तिमी मधेसको माटोले बनेकै छैनौं
मधेसको माटोमा त नेपाली सुवास छ
मधेसको माटोमा तिम्रो प्रेम छैन
तिम्रो प्राणमा मधेसको माटो छैन
र त आज तिमी
तीन करोड नेपालीको छातीमा
स्वतन्त्र मधेसको गैंती प्रहार गर्दै
आफ्नै झोपडीको मझेरी खनेर
पराइको आँगन पुर्ने कुरो गरिरहेछौ।
डा। राउत
एउटा कुरो याद राख
मधेसलाई यदि स्वतन्त्र बनाउने नै भए
मधेसवासीलाई मात्र हैन
सारा नेपालीको मनलाई राजी बनाएर देखाउ
अनि लैजाउ मधेस स्वतन्त्र बनाएर
नत्र तिम्रो कदमको बिरुद्धमा
मेरो छाती गोली थाप्न तयार छ
तिम्रो हर्कतको प्रतिकारमा
मेरो गर्धन तरवार झेल्न तयार छ
म त नेपालको माया गर्ने मान्छे
म त मधेसको माया गर्ने मान्छे
मधेस भित्र नेपाल अनि
नेपाल भित्र मधेस बचाइरहने मान्छे ।