मेलबर्न सप्ताह  – नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञका कारण यस वर्षको दसैँ विशेष हुने भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल रहनेछन् । उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन र नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा मार्फत महायज्ञको शुभारम्भ गरिनेछ ।

हरेक दिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तशती चण्डी पाठ र शुभ कार्यका कामहरू बिहानैबाट हुनेछ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि साँझ ८ः३० बजेसम्म, शनिबार र आइतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञको ९ दिन नै मन्दिरमा बस्न चाहने भक्तजनहरूका लागि आवासको व्यवस्था छ ।

‘गाउँ गाउँबाट उठौँ, बस्ती बस्तीबाट उठौँ, मेलबर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भई जुटौँ’ मूल नाराका साथ हुन लागेको कार्यक्रममा कलाकारहरूबाट भजन कीर्तन, झाँकी समावेश हुनेछ ।

वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमका कारण मेलबर्नमा बनाउने उद्धेस्य राखिएको नेपाली मन्दिरका लागि करीब १२० रोपनीको आबस्यक जग्गा किन्न संस्था समर्थ भएको थियो भने अब संकलित रकम गुरु योजना मुताबिकको मिनि नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माणकार्यमा सहायकसिद्ध हुने कुरामा आयोजक बिस्वस्त छ । यस अघि सामुदायिक केन्द्रको जमिन किन्न लिएको चार लाख ५० हजार ऋण चुक्ता गर्ने लक्ष छ ।

सप्ताह ज्ञान महायज्ञमा नेपाली सामुदायिक केन्द्रको आजीवन सदस्यता लिनेको संख्या १३ सयबाट कम्तीमा दुई हजार पुर्‍याउने लक्ष्य छ । यो महायज्ञ नेपाली परंपरा, संस्कृतिलाई मेलबर्नमा संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने कुरामा आशाबादी छौं ।

महायज्ञमा सदस्य बनेर मात्रै नभएर त्यस्मा उपस्थित हुने हजारौं भक्तजनको लागि खानपान, सरसफाइ लगायत सबै कुरा ब्यबस्थित गर्न स्वयंसेवक भएर वा महायज्ञमा सहभागी भएरै मात्रै पनि सहयोग गर्न सकिनेछ ।

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व आभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पोस्ट ।