आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ सम्मानित

काठमाडौं । आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ “बिशेश सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् ।

शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘ बिषयक बिचार गोष्टीमा प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले तामाङलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित बुचुङ तामाङको संक्षिप्त परिचय

बुचुङ तामाङ् पेशाले राजनीतिकर्मी हुनहुन्छ । जो हाल बागमती प्रदेश, रसुवा जिल्ला स्थित आमा छोदोङ्मो गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । गाउँपालिका अध्यक्षका रुपमा यो उहाँको दोस्रो कार्यकाल हो । त्यसो त हाल उहाँ नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत हुनुहुन्छ ।

बुचुङ तामाङको जन्म रसुवा जिल्लाको साबिक हाकु गाविसमा २०४४ साल- पुस ५ गतेको दिन भएको हो । रसुवा मा.वि धुन्चेबाट प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएका उहाँले रसुवा स्थित कालिका हिमालय क्याम्पसबाट शिक्षा संकाय अन्तर्गत स्नातकसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

साठीको दशकको शुरुवाती कालमा माओवादीको लडाकु कमाण्डर बन्नुभएका बुचुङ २०६२/ २०६३ को जनआन्दोलन पस्चात भने पूर्णतया सकृय राजनीतिमा आउनुभएको हो ।

पहिलो कार्यकालमा नयाँ शक्ति पार्टिबाट एक मात्र निर्वाचित पालिका प्रमुख बन्नु भएका उहाँ पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको हो । ३० बर्ष पुग्दा नपुग्दै युवावय कालमै स्थानीय तह प्रमुखमा निर्वाचित हुनुभई सरकार प्रमुख जस्तो गहन जिम्मेवारी प्राप्त गर्नुभएका बुचुङको छवि एक भिजनरी नेताको रहेको छ । ग्रामीण अर्थतन्त्रलाई नउकास्दासम्म देशले कायापलट गर्न नसक्ने बताउनुहुने उहाँ अपार जल सम्पदा एवम् प्राकृतिक एवम् साँस्कृतिक रुपले वैभवशाली आफनो स्थानीय तहको विकासका निम्ती आफुले ठोस योजना लिएर अघि बढेको बताउनु हुन्छ । गाउँपालिकालाई अर्गानिक पालिका बनाउने लक्ष्यसहित अघि बढनु भएका बुचुङले हिमाली क्षेत्रका दुई सय गोठालालाई सोलार वितरण, शैक्षिक सुधारका लागि कार्यक्रम संचालन तथा स्वास्थ्य र पर्यटन विकाससम्बद्ध विविध कार्यक्रमहरु पस्कनुभएको छ । ग्रामीण अर्थतन्त्र उकास्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यसहित गाउँघरमै रोजगारीको अवसर सिर्जना र राष्ट्रिय उत्पादकत्व ब्रिद्धीमा आफनो ध्यान केन्द्रित राखेर काम गरिरहनु भएको छ