हजारौै कलाकारहरुको सहभागितामा प्रतिष्ठानको दर खाने कार्यक्रम सम्पन्न, लोक गायिका लक्ष्मी न्यौपाने सम्मानित

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले ‘संस्थागत तीज मिलन तथा दर कार्यक्रम’ सम्पन्न गरेको छ ।

सहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्ययतामा बुधबार प्रतिष्ठानको कार्यालय टोखामा आयोजित कार्यक्रममा लोक तथा दोहोरी गीत संगीत क्षेत्रसँग आबद्ध थुप्रै संगीतकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अग्रज लोक गायिका लक्ष्मी न्यौपाने सम्मानित भएकी छिन् ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सबै नेपाली महिलाहरूलाई हरितालिका तीज २०८० को शुभकामना दिइन् । वर्षका एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै महिलाहरूको सक्रियता र समाजमा लैंगिक समानता कायम हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिएकी छिन् । उनले लोक तथा दोहोरी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुका साथै कलाकार र प्रतिष्ठानको हक हितका लागि हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको बताइन् ।

प्रष्तिष्ठानकी अध्यक्ष रीता थापा मगरले आफ्नो कार्यकालमा अन्य अध्यक्षहरूभन्दा धेरै काम गर्ने दबाब रहेको बताएकी छिन् । आफ्नो जापान जानुपर्ने व्यस्त समय तालिकाका कारण तीज तथा दर खाने कार्यक्रमलाई केहि दिन अघि नै मनाउनु पर्ने बाध्यता आइपरेको बताउँदै उनले संस्थालाई अघि बढाउन आफू क्रियाशील रहेको बताइन् । उनले आफ्नो कार्यकालको महिनामै केहि जिम्मेवार पूर्ण काम सम्पन्न गर्न सफल भएको र त्यसको निरन्तरता कायम रहने दाबी गरिन् ।

प्रतिष्ठानले केहि दिनअघि नारायण रायमाझी सांगीतिक साँझ सम्पन्न गरेको थियो ।