गायक नवीन पौडेलले शनिबार भृकुटीमण्डपमा चेतनामूलक सांस्कृतिक महोत्सव गर्दै

​आउँदो शनिवार काठमाडौंको भृकुटीमण्डपमा वृहत् सांस्कृतिक महोत्सव हुने भएको छ । स्वीकृति इभेन्ट प्रा.लीको आयोजनामा हुने जनचेतनामूलक महोत्सव दर्शकले निःशुल्क हेर्न पाउनेछन् । आयोजक संस्थाका अध्यक्ष एवं महोत्सवका संयोजक गायक नवीन पौडेलका अनुसार गीतसंगीतका माध्यमबाट जनतालाई चेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।

‘मेला महोत्सवमा प्रायः माया प्रेमका गीतहरू मात्रै प्रस्तुत हुन्छन् । यो महोत्सवको​ उद्देश्य विशुद्ध जनतालाई चेतना दिने हुनेछ’ पौडेलले भने, ‘न्यूनतम ५ हजारदेखि १० हजार जना दर्शकलाई महोत्सवमा उपस्थित गराउने लक्ष्य छ ।’ उनका अनुसार महोत्सवमा लागूऔषध दुर्व्यसन, सर्ने–नसर्ने रोगहरू, सामाजिक सञ्जालको दुरुपयोग, भ्रष्टाचार, सडक सुरक्षा, सूर्तिजन्य पदार्थले निम्त्याउने असर, लैङ्गिक हिंसा, सुरक्षित वैदेशिक रोजगार लगायतका विषयमा आधारित रहेर विभिन्न चेतनामूलक प्रस्तुति रहनेछ ।

३ सय जना कलाकारहरूलाई उपस्थित गराउने लक्ष्य राखिएको महोत्सवमा सडक नाटक, झाँकी, दोहोरी लगायतका प्रस्तुति हुने पौडेलले बताए ।

बिहान ११ बजेदेखि बेलुकासम्म हुने महोत्सवमा निःशुल्क आँखा र दन्त शिविर हुने साथै ब्लड डोनेसनको कार्यक्रम समेत रहने पौडेलले जानकारी दिए । स्वीकृति इभेन्ट प्रा.लीले यसअघि बैतडी, दार्चुला, पाल्पा, ओखलढुंगा लगायतका जिल्लामा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिसकेको छ । यसपटक केन्द्रबाटै जनचेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।