दोहोरी प्रतिष्ठानले दशैंका बेला पहिलोपटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव गर्ने

गोरखा जिल्लामा पहिलो पटक बृहत लोकदोहोरी सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखाको आयोजनामा आगामी असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको महोत्सव मूलआयोजक समितिका संयोजक हरीराम परियारले जानकारी दिनुभयो । सदरमुकाममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

महोत्सवको अवसर पारेर गोरखा तारा प्रतियोगिता, अन्तरपालिका स्तरीय दोहोरी गीत प्रतियोगिता तथा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगिताको आयोजना गरिने महोत्सव व्यवस्थापन समितिका संयोजक शिव के.सीले जानकारी दिनुभयो । ‘प्रतिष्ठानको गोरखा शाखामा रही हाल प्रदेश वा केन्द्रमा रहेका सवै कलाकारहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ, संयोजक के.सीले भन्नुभयो, ‘त्यस वाहेक अन्य बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।’

महोत्सव अन्तर्गत हुने राष्ट्रिय दोहोरी गीत प्रतियोगिताका विजेताले १ लाख ११ हजार १११ रुपैया र उपविजेताले ५५ हजार ५५५ रुपैया नगद पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै गोरखा जिल्ला भित्रका स्थानीय पालिका स्तरीय दोहोरी प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैया नगरपुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २० हजार ५५५ रुपैया प्राप्त गर्ने संयोजक केसीले बताउनुभयो । महोत्सवको अवसरमा हुने गोरखा तारा प्रतियोगिताको विजेतालाई ५० हजार ५५५ रुपैया प्रदान गरिने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

सांस्कृतिक महोत्सव सम्पन्न गर्नका लागि प्रतिष्ठान अन्र्तगत देश तथा विदेशमा रहेका ७७ वटै शाखासंग सहकार्य गर्न लागिएको उहाँले बताउनुभयो । राजधानीमा रहेको गोरखा सांस्कृतिक समाज, र पोखरामा रहेको पोखरा सांस्कृतिक समाजपनि कार्यक्रमको सहयोगी संस्थाको रुपमा रहने संयोजक केसीको भनाई छ । मेला सम्पन्न गर्न बिभिन्न १३ वटा उपसमिति गठन गरिएको उहाँले बताउनुभयो ।

जस अन्र्तगत झाँकी व्यववस्थापन, प्रचारप्रसार व्यवस्थापन, आवास, सम्र्पक समन्वय, प्रतियोगीहरुको संयोजन, स्वयसेवक व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीय व्यवसायीहरुलाई सहज हुनेगरी स्टल व्यवस्थापन गर्ने संयोजक केसीले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय स्तरका संस्कृति झल्कने झाँकीहरुको प्रर्दशनीका साथै बालउद्यान लगायतको व्यवस्था गरिने उहाँको भनाई छ ।

‘करिव १५० वटा स्टल महोत्सवमा राखिनेछ, उहाँले भन्नुभयो, ‘स्थानीय तथा बाह्य गरी १ लाख भन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।’ ५१ लाख रुपैया भन्दाबढी कारोवार अनुमान गरिएको महोत्सवबाट नाफा हुने रकमले प्रतिष्ठान गोरखा शाखाको भवन निर्माणसंगै कलाकार कल्याणकारीकोष बृद्धि गर्ने लक्ष्य रहेको संयोजक केसीले जानकारी दिनुभयो ।