‘मास्टर्नी’को नयाँ टेलिश्रृङ्खला ‘मितिनी’ सार्वजनिक (भिडियो)

काठमाडौं । समाजमा प्रायः रक्त–सम्बन्ध र वैवाहिक सम्बन्धको आधारमा नातागोताको निर्माण हुने गर्छ । यी दुईबाहेक अन्य तरिकाले पनि नातागोता र साइनाहरू स्थापित गर्ने प्रचलन छ  । मित/मितिनी यस्तै प्रकारको साइनो गाँस्ने प्रचलन हो ।

आफ्नो वंश र गोत्रभन्दा बाहिर, एउटै उमेर समूहमा, महिला–महिलाबीच, पुरुष–पुरुषबीच दुई व्यक्ति औपचारिक विधि अनुष्ठान गरेर मित–मितिनी लगाउने गरिन्छ  । दुईजना मित–मितिनी भएपछि एक–अर्काको परिवारको सदस्य पनि स्वतः नातामा गाँसिन्छन्  । आफ्नो मित–मितिनीको परिवारका सदस्यलाई पनि आफ्नै आमा, बुबा, दिदीबहिनी, दाजुभाइ मानेर व्यवहार गर्नुपर्ने हुन्छ  ।

यसरी पहिले नाता नभएको परिवारसँग मितेरी परम्परामार्फत एउटै पारिवारको नाता साइनो स्थापित हुन्छ । मित/मितिनी साइनोलाई जीवन्त र अर्थपूर्ण राख्न एकअर्काको दुःखसुखमा सहभागी हुने, नाम काडेर नबोलाउने इत्यादि दुवै पक्षबाट पालना गरिनुपर्ने हुन्छ  । त्यसैले मितेरी साइनो दुई व्यक्तिले मित्रता गाँस्नेसँग मात्रै सीमित छैन । यो विशेष प्रकारको सम्बन्ध हो ।

जातीय र सांस्कृतिक बहुलता भएको नेपाली समाज र विभिन्न समुदायबीच सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक आवश्यकताका कारण मितेरी प्रथाले व्यापकता पाएको छ ।  फरक ठाउँमा फरक जाति र समुदायसँग घुलमिल हुन मितेरी साइनो उपयोगी बनेको छ ।

मितेरी साइनोले केही हदसम्म जातीय र वर्गीय तहगत संरचनाभित्र पनि हार्दिकता, पारस्परिकता र सम्मानका साथ बाँच्न सिकाएको छ  । अन्तरजातीय सामाजिक सम्बन्धलाई प्रर्वद्धन गरेको छ । तर, पछिल्लो समय मितेरी साइनो हराउँदै गएको छ ।

यसै मितेरी साइनोलाई जीवन्त बनाइ राख्न मौलिक फिल्मस् प्रा.लिले धारावाहिक टेलिश्रृङ्खला ‘मितिनी’ ल्याएको छ । आज (सोमबार) खीर खाने दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘मितिनी’को उद्घाटन गरिएको हो ।
कलाकार अनिता बस्नेतको निर्देशन र लेखन रहेको यस टेलिश्रृङ्खलामा गाउँघरकै परिवेश  समेटिएको छ । यसमा गाउँघरमा देखिएको सामाजिक विषय वस्तुलाई उठान गरिएको छ । आफू जन्मिएको ओखलढुङ्गामा पनि बहुजातीय रहेकाले त्यहाँका विविधता मितिनीमा देखाउने प्रयास गरेको निर्माता तथा निर्देशन बस्नेत बताउँछिन् ।

‘हल्का रमाइलो’ टेलिश्रृङ्खलामा राजु मास्टरकी श्रीमतीको भूमिकामा रुचाइएकी बस्नेतकाे ‘मिनिती’मा आफ्नै मुख्य अभिनय रहेको छ । उनको मितिनीको भूमीकामा सविना आचार्य रहेकी छन् ।

अनिता र सविनासँगै यस टेलिश्रृङ्खलामा सविन बास्तोला, रोशनी सापकोटा, इन्द्रजित चौलागाईँ, गीता थापा, एकिन्द्र सरशंकर, लेखान्त भुसाल, रमेश बुढा मगर, उषा सुवेदी, राजु सिङ्ग, प्रताप बस्नेत, सम्झना बस्नेत, इन्द्रबहादुर थापालगायतका अभिनय रहेको छ ।

टेलिश्रृङ्खलाको गीत डीपी खनालले लेखेका हुन् भने शंकर थापाको म्युजिक रहेको छ । ऊषा गजुरेल र मुना थापाले गाएको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् ।

टेलिश्रृङ्खला हरेक सोमबार बेलुका ७ः३० बजे अनिता बस्नेत नामक युट्युब च्यानलबाट प्रसारण हुनेछ ।

भिडियोः