ज्ञानेन्द्र शाहीको अस्ट्रेलियाको सांसदसंगको भेटघाट

२४ जुन, जिलोङ, अस्ट्रेलिया: अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र अस्ट्रेलियाको भिक्टोरिया राज्यकी सांसद क्रिस्टिन कौजिन्सका बीच सांसद कैजिन्सकै कार्यालयमा भेटघाट भएको छ ।

भेटघाटका क्रममा सांसद शाहीले अस्ट्रेलियाको प्राकृतिक सुन्दरता र यस्ले बहुपक्षिय क्षेत्रमा गरेको प्रगतिबाट आफू अत्यन्तै प्रभावित भएको बताए ।

शाहीले वुद्धिज्म धर्मको रुपमा मात्रै नभएर बिज्ञानको रुपमा पनि मानिने बताउँदै राष्ट्र संघिय निकायहरु अन्तरराष्ट्रिय न्यायालय पिस प्यालेस हेग र युनेस्को मुख्यालय पेरिसमा वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित वुद्धको मूर्ति स्थापना गरिसकेको र राष्ट्र संघिय मुख्यालयमा वुद्ध जयन्ती हरेक बर्ष मनाइने जानकारी दिए । शाहीले विस्व शान्ति अभियानमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने बुद्धिज्मका लागि सांसद कौजिन्सको पार्टी र सरकारले पनि योगदान गर्ने कुरामा आशाबादी भएको बताउँदै कौजिन्सलाई उन्को उपयुक्त समयमा नेपाल भ्रमणका लागि अनुरोध गरे ।

सांसद कौजिन्सले ब्यस्त समयका बाबजुद यस किसिमको भेटका लागि समय मिलाएकोमा शाहीलाई धन्यवाद दिंदै आफू नेपाली समुदायसंग अत्यन्तै नजिक रहेर काम गरिराखेको जानकारी पनि दिइन । उपयुक्त समयमा आफू अत्यन्तै सुन्दर देश नेपाल भ्रमण गर्न इच्छुक पनि रहेको बताइन ।

ओभरसिज नेपलिज युनिफाइड सोसाइटी अस्ट्रेलियाका अध्यक्ष अजय राजाबंशीले आफू न्यू साउथ वेल्स सरकारसंग मिलेर काम गरिराखेको र धेरै नेपालीको मृत्‍यु पानीमा भएको घटना संझाउँदै पानीमा सुरक्षा संयन्त्रको लागि सरकार गंभिर हुनुपर्ने सुझाब दिए ।

भेटघाटका लागि संयोजनकारी भूमिका निर्बाह गरेका लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले ब्यस्त समयका बाबजुद अत्यन्तै छोटो समयमा गरिएको अनुरोधलाई पनि स्वीकारेर समय दिएकोमा नेपालीका तर्फबाट सांसद कौजिन्सप्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

कार्यक्रममा राप्रपा केन्द्रिय समिति सदस्य बिनोद खड्का, ओभरसिज नेपलिज युनिफाइड सोसाइटी अस्ट्रेलियाका उपाध्यक्ष ॠषिकेश न्यौपाने, अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेती, गायक सिद्धार्थ राई, ओभरसिज नेपलिज युनिफाइड सोसाइटी अस्ट्रेलियाका सदस्य सुन्दर कार्कीको पनि उपस्थिति थियो ।