वेस्ट इन्डिजका कप्तानले ५ वर्षका बालकलाई बचाउन आफ्नै ज्यानको बाजी लगाए (भिडियो)

काठमाडौं । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध जारी तीन खेलको टी-२० सिरिजमा आइतबार पुनरागमन गर्दै दोस्रो खेलमा ६ विकेटले जित हात पारेको छ। तर, दोस्रो टी-२० खेलमा वेस्ट इण्डिजको जितभन्दा पनि यसका कप्तान रोभमन पावेलले एक बालकलाई बचाउन आफ्नै ज्यानको बाजि लगाएको घटनाको धेरै चर्चा भइरहेको छ ।

दोस्रो टि-२० खेलमा ब्याटरले हानेको बल चौका जानबाट रोक्न खोज्दा फिल्डर पावेल बाउन्ड्रीबाहिर रहेका ५ वर्षका बालकसँग जोडले ठोक्किने खतरा थियो । यो ठक्करले साना बालकको ज्यान नै जान सक्ने खतरा थियो तर पावेलले आफ्नै ज्यान दाउमा लगाएर बालकलाई बचाए ।

घटना दक्षिण अफ्रिकाको इनिङको तेस्रो ओभरमा भएको थियो । स्विन्टन डी ककले बललाई लङ-अफ बाउन्ड्रीतिर हाने र पावेलले बल रोक्न बललाई पच्छ्याए । उनले बललाई फिल्डमा फर्काउन डाइभ गरे तर अचानक एउटा बच्चाले डोरीको छेउमा बल समात्न खोजेको देखे।

उनले तत्काल बल रोक्न छोडेर आफ्नो हुत्तिरहेको शरिरलाई स्पाइडरम्यानजस्तै हावामा माथि धकेले । उनी हुत्तिएर बाउन्ड्रीबाहिरको बारमा ठोक्किँदै बाहिर रहेको एलइडी बोर्डमा ठोक्किन पुगे । यो प्रक्रियामा पावेललाई चोट लाग्यो र मैदानमा फर्कनुअघि साइडलाइनमा उपचार गर्नुपरेको थियो।

हेर्नुहोस् भिडियो