स्कुल गएर बालबालिका दायाँबायाँ त गर्दैनन् ? मोबाइलबाट छोराछोरीको स्कुले गतिविधि हेर्न सकिने भएपछि अभिभावक ढुक्क !

झापाको हल्दीबारी गाउँपालिकाका सागरमणि नेपाल र सृजना तामाङ् मोबाइल हेर्दै छन् । उनीहरूले सामाजिक सञ्जाल हेरेका होइनन् बरु विद्यालय गएका आफ्ना छोराछोरीले कसरी पढ्दैछन् भनेर उनीहरू मोबाइलमा हेरिरहेका हुन् । घरमै बसेर मोबाइलबाट छोराछोरीको स्कुले गतिविधि हेर्न सकिने प्रविधिको विकास गाउँपालिकाले गरेपछि अविभावकहरू दङ्ग छन् ।

गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । शैक्षिकस्तर वृद्धिमा उपयोगी हुने देखेर पालिकाभित्रका १७ वटै सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाको लगानीमा जडित प्रविधिको माध्यमबाट अभिभावकले विद्यालयको गतिविधि र कक्षा कोठाभित्रको अध्ययन-अध्यापनको अवस्थाबारे घरमै बसेर मोबाइलमा हेर्न सक्छन् ।

विद्यालयमा विद्यार्थी पुगे-पुगेनन्, शिक्षकले कसरी पढाउँदैछन् । घरमै बसेर एप्लिकेसनमार्फत अविभावक तथा विदेशमा रहेका अविभावकलेसमेत प्रत्यक्ष रूपमा निगरानी गर्न सक्ने छन् ।

पहिलो चरणमा विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरी प्राचार्यको कोठाबाट त्यसको निगरानी राख्दा शिक्षक र विद्यार्थी दुवै अनुशासित भएको पाइयो । प्रविधिले विद्यालयको शैक्षिक वातावरण सुधारमा प्रभावकारिता बढाएपछि पालिकाभरका १७ वटै सामुदायिक विद्यालयका कक्षा कोठामा पनि सीसी क्यामेरा जडान गरिएको हो । विद्यार्थीको नियमित उपस्थिति, अनुशासान र समयको सदुपयोगजस्ता पक्षमा सीसी टिभी उपयोगी बनेको अनुभव हल्दीबारी माविका प्राचार्य टंकबहादुर पाख्रिनसँग छ ।

विद्यालय गएका आफ्ना केटाकेटी के गरिरहेका छन् भनी थाहा पाउन अविभावकले आफूले चलाउने मोबाइल र फोन नम्बर उल्लेख गरी फारम भर्नु पर्दछ । एप्लिकेसनमार्फत प्राप्त हुने भिडियो दुरुपयोग हुनसक्ने कुरालाई मध्यनजर गर्दै यसरी रेकर्ड राख्ने गरिएको हो । यसले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने आशा गाउँपालिकाले गरेको छ ।

हल्दीबारी गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालयमा ५ हजार ५ सय ८१ विद्यार्थी छन् । सबै विद्यायलमा सीसी क्यामेरा जोड्न २४ लाख ८८ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।