किन टिक्दैन सेलिब्रेटी वैवाहिक सम्बन्ध ? एकपछी अर्को किन यति छिटो हुँदै छ सेलिब्रेटीको डिभोर्स ?

१० महिना अघि अमेरिका वस्ने आशिष गेलालसँग विवाह गरेकी अभिनेत्री वर्षा शिवाकोटीको वैवाहिक सम्वन्धमा पूर्णविराम लागेको छ। गेलालले दोस्रो विवाह गरिसकेका छन्।

त्यसअघि नायिका निशा अधिकारीले श्रीमान् शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको समाचार सार्वजनिक भयो। निशाले त्यसलाई लुकाउने भरमग्दुर प्रयास गरेपनि उनीहरूको सम्बन्धमा तिक्तता आएको लुक्न सकेन। यद्यपी उनले फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै ‘म न लुकाउने छु, न त धेरै व्याख्या गर्न जाँदैछु । यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र मायाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौं’ भनेर लेखिन्।

Laxmi Tyres
NIC Asia
लोक गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले पनि सम्बन्ध विच्छेद गरे। एक छोरी भएपछि विवाहको दुई वर्ष नपुग्दै उनीहरु छुट्टिएका हुन। शंकरले दोस्रो विवाह गरिसकेका छन् ।

वर्षा, निशा र वविता मात्र होईन, धेरै कलाकारको सम्बन्ध टिकाउ हुन नसकेका प्रसस्त उदाहरण छन। नेपाली सेलिब्रेटीहरुको वैवाहिक सम्वन्ध खासै स्थिर देखिदैन। नेपाली चलचित्रका चर्चित ब्यक्तित्व छवि ओझाको चौथो वैवाहिक जीवन पनि सफल भएन। श्रीमती शिल्पा पोखरेलले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले सम्बन्ध विच्छेद र आधा ऋण व्यहोर्नेगरी सम्पत्ति पाउने ठहर ग–यो।

यसैगरी, नायक निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीलाई भक्तपुरको सिङ्गो घर दिएर सम्बन्ध विच्छेद गरे। घरसँगै नगद ५० लाख र छोराको लालन पालनको लागि मासिक ५० हजार दिने सहमति भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाकै रोहवरमा गरियो।

हाँस्यकलाकार मनोज गजुरेलले पनि श्रीमती मिना ढकालसँगको २२ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गरे। उनले दोस्रो विवाह गरिसको छन् ।

नेपाली सेलिब्रेटीमध्ये चर्चित जोडी थियो नायक भुवन केसी र नायीका सुस्मिता केसीको । तीनपाते चियाको विज्ञापनदेखि झाँगिएको प्रेमलाई विवाहमा बदलेका उनीहरूको छोरा अनमोल केसी अहिले चल्तीका नायक हुन्। यो जोडीको सम्बन्ध विच्छेदपछि भुवन पुनः विवाह गर्ने तयारीमा छन् भने सुस्मिता देशबाहिर छिन् ।

नायिका पूजा चन्द र एन्जल्स ब्यान्डका गायक राजु लामाको सम्बन्ध पनि लामो समय टिकेन। दुवै अमेरिका बसेको समयमा प्रेममा परेर बच्चासमेत जन्माए पनि अहिले पूजाले दोस्रो बिहे गरिसकेकी छिन्।

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गी र सञ्चारकर्मी जी.पी तिमिल्सिनाको सम्वन्ध विच्छेदले पनि निकै चर्चा पाएको छ। मिस नेपाल भइसकेकी खड्गी र सञ्चारकर्मी तिमिल्सिनाले २ वर्ष प्रेम र १७ वर्ष लामो वैवाहिक सम्बन्ध क्षणभरमै टुङ्गयाए ।

सम्बन्ध विच्छेद गरेर पनि एउटै घरमा बस्दै आएका तिमिल्सिनाले दोस्रो बिहे गरेर घरमै दोस्री श्रीमती भित्र्याएपछि खड्गीले चित्त दुखाइन् । अहिले जीपी दोस्री पत्नीसँग छन्।

अभिनेत्री सौजन्य सुब्बाले पनि पहिलो बिहे तोडेर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरिसकेका थिए ।

नायिका एवं कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा पनि डिभोर्सपछि अहिले एक्लै रमाउँदैछिन्। युरोप बस्ने रबर्ट विश्वकर्मासँगको सम्बन्ध १ वर्षमै टुङ्गिएपछि उनी अहिले कार्यक्रहरूमा व्यस्त छिन्।

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच पनि डिभोर्स भएको छ। डेढ दशक लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै उनीहरूले अलग हुने निर्णय गरेका हुन्। नायिका सञ्चिता लुइँटेलको पनि आकाश शाहसँगको सम्बन्ध विच्छेदपछि नायक निखिल उप्रेतीसँग दोस्रो बिहे भएको हो। हाल निखिल र सञ्चितासँगै छन्।

गायिका अञ्जु पन्तले पनि पहिलो श्रीमानसँगको डिभोर्स गरेर दोस्रो बिवाह गरिन। नायिका मनीषा कोइराला र व्यवसायी सम्राट दाहालको सम्बन्ध पनि मुस्किलले एक वर्ष मात्रै टिक्यो । बीपी कोइरालाकी नातिनी तथा भारतीय चलचित्रकी चर्चित नायिका मनीषा र विराटनगरका व्यवसायीका छोरा सम्राटको काठमाडौंको गोकर्ण रिसोर्टमा २०७१ मा विवाह भएको थियो।

विवाहको केही समयपछि नै उनीहरू छुट्टाछुट्टै फ्ल्यटमा बस्न थाले र त्यसको ३ महिनापछि डिभोर्स भयो। हाल मनीषा राजतन्त्र फर्काउने अभियानमा छिन्।

यी सवै घट्नाक्रम हेर्दा नेपाली कलाकारहरुमा प्रेम, विवाह र विछोडका घटनाहरू सामान्य झै देखिन्छन्। तर, कालाकारहरु समाजको ऐना हुने भएकाले उनीहरुका सानातिना घट्ना पनि ठूलै सामाजिक मुद्दा बन्ने गरेका छन्। कतिपय ‘सेलिब्रेटी’ले आफ्ना निजी सम्बन्धहरू बाहिर नजाओस् भन्ने पनि चाहन्छन्। तर, समाजले उनीहरूलाई नजिकबाट नियालिरहेका कारण यी कुरा गुपचुप रहन सक्दैनन्।

यी घट्नाले नेपाली समाजलाई सहि दिशानिर्देश भने नगरेको जानकारहर वताउँछन् ।