सन्दीप लामिछानेलाई मौका नै मौका, के यो मौकाको फाइदा उठाउन सक्छन् त सन्दीपले?

काठमाडौँ- नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ ।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन् ।

यदि बिहीबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन् ।

अफगानिस्तानका रासिद खानले सन् २०१५ अक्टुबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए ।

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिइका छन् ।

२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन् । यदि युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।